|

पर्सा : वीरगन्ज महानगरपालिकास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै आफन्त र स्थानीयले अस्पतालमा आक्रमण गरेका हुन्। 

आइतबार दिउसो गाउँतिरबाट आएको भीडले हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएकाे छ। मुटुको समस्या भएकी वीरगन्ज उपमहानगरपालिका– २० की रमितादेवीलाई बिहान सवा ९ बजेतिर उपचार गर्न भनी अस्पतालमा ल्याइएको थियो।

चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो। सवा १० बजेतिर उनका आफन्तले शव लगे। पछि घाट लानु पूर्व शवलाई नुहाई दिने क्रममा मुख चल्यो भनी फेरि १ बजेतिर रमिताको शव अस्पताल ल्याएका थिए। पुनः चिकित्सकले हेर्दा उनी मृत नै थिइन्।

नुहाउने क्रममा पेट थिचिंदा मुख चलेको हुन सक्ने चिकित्सकले मृतकका आफन्तसँग भने पछि शव लिएर जान लागेकै समयमा एक्कासी चिकित्सकमाथि हातपात गरेको अस्पतालका निर्देशक राम श्रेष्ठले बताए।

प्रहरीले अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गर्ने समूहलाई नियन्त्रणमा लिएको छ। भीडको आक्रमणबाट अस्पतालका डा.विजय महतो र एक जना नर्स घाइते भएका छन्। डा.महतोको घाँटीमा चोट लागेको छ भने नर्सको हात काटेको निर्देशक श्रेष्ठले बताए।

अस्पतालमा तोडफोड हुँदै गरेको सूचना सुनेपछि पुगेको प्रहरीले सामान्य बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए।

अक्षय राम, भीम राम, सुरेश राम र राकेश रामलाई अस्पतालमा पुगेको टोलीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.