|

काठमाडौं : नेपालगन्ज–पोखरा हवाइ उडान सुरु भएको छ। पर्यटन प्रवर्धन विकासका लागि बुद्ध एयरले साताको तीन दिन नेपालगन्ज–पोखरा उडान सुरु गरेको हो।

पश्चिम क्षेत्रको बाँके र बर्दिया र पोखरालाई लक्षित गरि उडान सुरु गरिएको हो। बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट–पोखरा जाने यात्रुसहित उडान भरेको छ।

नेपालगन्जबासीको वर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान सुरु भएको हो। पर्यटन प्रवर्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई स्वागत गरिएको छ।

यात्रुको स्वागतका लागि पर्यटन प्रवर्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए। पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको बुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए। नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाडा, न्यूनतम चार हजार ९ सय ३५, मध्यम पाँच हजार पाँच सय ३५ र अधिकतम् पाँच हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ।

यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने बुद्ध एयरले बताएको छ। भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ।

यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो।

पोखरा देखि नेपालगन्ज सजिलै र यो उडान अति नै आवश्यक रहेको यात्री गोविन्द झाले बताए। नेपालगञ्ज नजिक भारतको ठूलो शहर लखनउ पर्दछ। भारतीय राजधानी नयाँदिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ।

नेपालगन्ज–पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताए। नेपालगन्ज देखि पोखराको उडान समय पनि ३५ देखि ४० मिनेटको हुन सक्ने क्याप्टेन पुनले बताए।

उडानको सुरूवातसँगै बुद्ध एयरले उडानसँगै टुर प्याकेजसमेत सार्वजनिक गरेको छ। बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ। योजना १० हजार ९ सय ९९ बाट सुरु हुन्छ। त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना १३ हजार ४ सय ९९ बाट सुरु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.