|

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।

स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।

‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापार छैन‚’  महमदले भने‚ ‘फोहर, बिजुली, पानीको हामीले छुट्टाछुट्टै शुल्क तिरिरहेका छौं, तर सुविधा केहीको छैन।’

नगरपालिकाले फोहोर व्यवस्थापनका दुई वर्षदेखि ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग  ठेक्का सम्झौता गरेको छ। नगरपालिकाले ग्रामीण भेगमा उत्पादन भएका फोहोर गाँउघरमै व्यवस्थापन गरे पनि पथलैया–बिरगञ्ज औद्योगिक करिडोरको बजार क्षेत्रका फोहोर दुधौरा खोला छेउमा व्यवस्थापन गर्दै आएको छ। तर, दुधौरा खोला छेउका स्थानीयहरुले अवरोध गरेपछि पसल, होटल व्यवसायका फोहोरहरु सडक चोकचोकमा थुपारिएको छ।

स्थानीयहरुले अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ग्रिन एण्ड क्लिन सिटी प्रालि मकवानपुरका प्रमुख नवराज खतिवडाले बताए। खतिवडाले भने‚ ‘नगरपालिकाले जग्गाको टुंगो लगाउन नसक्दा तीन महिनादेखि फोहोर व्यवस्थापनमा समस्या भएको छ।’

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्सेनि करोडौ रुपयाँ खर्च गरे पनि दीर्घकालिन समाधान हुन सकेको छैन। होटल सिमरा ईनका प्रमुख गोविन्द गहतराजले कोभिड महामारीको बेला नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदिँदा रोग फैलन डर भएको गुनासो गरे। ‘महिनौंसम्म फोहोर उठेको छैन,’ उनले भने‚ ‘कर्मचारीलाई भन्दा सुन्दैनन्, साँघुरो बजार क्षेत्रमा फोहोर थुप्रदा होटलमा आउने ग्राहकहरु मुख थुनेर हिँड्न बाध्य छन्।’ फोहर व्यवस्थापनका लागि नगरपालिकाले होटल व्यवसायीहरुसँग प्रतिमहिना २०० रुपैयाँ उठाउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.