|

हेटौंडा : मकवानपुरमा निषेधाज्ञा जारी रहे पनि पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। गत बैशाख १९ देखि जारी निषेधाज्ञाको मिति पटक–पटक थप गरिएको छ। तर‚ निषेधाज्ञाको पालना भने भएको छैन।

न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना नहुँदा हेटौंडा बजारमा हुने दैनिक भीडभाडले कोरोनाको संक्रमणलाई बढाइरहेको सरोकारवालाहरु बताउँछन् छ। सर्वसाधरणहरु मास्कसमेत हिँड्डुल गर्दासमेत प्रहरी र प्रशासन मुकदर्शक बन्ने गरेको छ।

स्थानीय प्रशासनले सबै व्यवसाय सञ्चालनका लागि समय तोकेको छ। बेलुका ६ बजेपछि प्रहरीले सटर बन्द गराउन सिट्टी फुक्ने गर्दछ। यसबाहेक निषेधाज्ञाको नियम पालना गराउन प्रशासनको कुनै सक्रियता छैन।

११ दिनमै थपिए ११ सय ९ संक्रमित

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितहरुको संख्यामा पनि वृद्धि भएको छ। मकवानपुरमा आइतबार मात्रै परीक्षण गरिएकोमध्ये ६० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। आइतबार १४५ जनाको कोरोना परिक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो।

११ दिनमा गरिएको परीक्षणमा १ हजार १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा ३ हजार ४७० जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिए। ११ दिनमा कुल परीक्षणमध्ये ३१.८ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

साउन ७ गते ५२ जनामा कोरोना पुष्टि भएकोमा साउन १५ गते शुक्रबार एकै दिन ४३२ जनामा कोरोना पुष्टि भएको थियो। शुक्रबार भीमफेदी कारागारका कैदीमा परीक्षण गरिएको थियो। १ हजार १५ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६६ जनामा कोरोना पुष्टि भयो। मकवानपुरको भीमफेदी कारागारमा रहेका ९६९ जना कैदीबन्दीमध्ये ३५५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै‚ भीमफेदी गाउँपालिकामै रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

साउन ८ मा ५० जना, साउन ९ गते ७० जना, साउन १० गते ५७ जना, ११ गते ७५ जना, १२ गते ८२ जना, १३ गते ६७ जना र १४ गते ९९ जनामा कोरोना पुष्टि भएको थियो। शनिबार मात्रै २८ जनामा कोरोना पुष्टि भएको थियो। एक साता यता संक्रमितको संख्यामा वृद्धि भइरहेको छ।

११ दिनमा ६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मकवानपुरमा १४३ जना संक्रमितको मृत्यु भइसकेको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आइतबारसम्म एक हजार १७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ९५९ जना होम आइसोलेसनमा छन् भने ५८ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म कोरोनाको पहिलो डोज खोप लगाएकाहरुको संख्या ८० हजार २३० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। दुबै डोज खोप लगाउनेको संख्या ३७ हजार १५ जना छन्।

अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ्यो

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय अस्पतालमा भर्ना हुने बिरामी पनि बढेका छन्। १८ दिनअघिसम्म शून्यजस्तै रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा हाल २७ जना कोरोना संक्रमित उपचाररत छन्। अस्पतालमा अहिले ११ जना एचडियुमा, १० जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए।

काफ्लेको अनुसार अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या अप्रत्यासित रुपमा बढेको छ। उनले अस्पतालको ईमर्जेन्सी वार्ड दैनिक कोरोनाबाट संक्रमित बनेका बिरामीले भरिने गरेको बताए। निषेधाज्ञामा कडाई नगर्दा र सर्वसाधारण सचेत नहुँदा यस्तो अवस्था आएको काफ्लेको बुझाइ छ।

‘निषेधाज्ञा भनिएको छ तर कहीँ कतै कडाइ छैन। सर्वसाधारण मास्क नै नलगाई भिडभाड गर्दै हिँडेका छन्‚‘ डा. काफ्लेले भने‚ ‘यस्तै हुने हो भने सोचेको भन्दा धेरै डरलाग्दो अवस्था हुन्छ मकवानपुरमा।’

संक्रमित थपिदै गए फेरि कडा गर्छौ : प्रजिअ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गए फेरि निषेधाज्ञामा कडाइ गरिने बताए। उनले हाल देशैभरको जनजीवन सामान्य अवस्थामा नै चलिरहेकोले मकवानपुरमा पनि कडाइ नगरिएको बताए।

सर्वसाधारण सचेत नहुँदा कोरोना नियन्त्रण गर्न प्रहरी, प्रशासन र स्थानीय तहलाई गाह्रो परेको बताए पाण्डेले बताए। ‘सबै बन्द गरौं भने पनि बन्द भयो थुनेर राख्यो भन्नुहुन्छ। अलि खुकुलो पार्दा पनि सर्वसाधारण सचेत भएर हिँड्नु हुँदैन‚’ उनले भने‚ ‘अब यस्तै लापरवाही भइरहने र संक्रमित बढ्दै जाने अवस्था भयो भने डिसिसिएमसीको बैठकको निर्णयअनुसार हामी फेरि थप कडाइ गर्नेछौं।’

पाण्डेले जिल्लामा खोप र मास्क अभियान सञ्चालन गरेर कोरोना नियन्त्रणको लागि पहल भइरहेको बताए। उनले कोरोना नियन्त्रणको लागि बन्द गरेर मात्रै नहुने भन्दै विभिन्न अभियान नै चलाएर यसको रोकथाम र नियन्त्रणमा पहल भइरहेको दाबी गरे।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.