|

म्याग्दी : म्याग्दीका स्थानीय तहमा ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सुरु भएको छ। धार्मिक मान्यतासँग गाँसिएका बर–पिपल र चौतारी‚ पोखरीको संरक्षण र मर्मत सम्भारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ।

६ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी पाँच स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी‚ पोखरी निर्माण गर्न थालिएको छ।

केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएका छन्। कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रुपमा समेत बर–पिपल लगाउने र चौतारी तथा पोखरी निर्माण गर्ने काम भैरहेको छ।

बेनी नगरपालिका–६ ले गत वर्षदेखि पुराना वर–पिपल, चौतारी‚ पोखरी र पधेंरा–कुवाको संरक्षणका लागि करिब पाँच लाख रुपैयाँ बजेट छुट्याएको वडाअध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए।

गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त बर–पिपल संरक्षण तथा रोपणका लागि  ३ लाख र  चौतारी तथा कुवाका मर्मत सम्हारका लागि २ लाख बजेट खर्च गरिएको उनले बताए। उक्त बजेटबाट थानकपोखरी, जरबुटामा बर–पिपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो।

वरपिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने काम समेत वडाले गरेको छ। वडामा अहिलेसम्म ५० भन्दा बढी वरपिपल र चौतारी छन्। त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ।

बेनी नगरपालिका ५ पुलाचौरको देउपुर्ने, आँटी पानीपधेरा सामुदायिक वनमा १०८ वरपिपलका विरुवा रोपिएको छ। यस्तै‚ स्वामी र बेलका १३७ वटा विरुवा रोपिएको हो।

देउपुर्ने र आँटी पानीपधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासंघ वेनी नगरपालिका ५ को सहकार्यमा विरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जिवी सुवेदीले जानकारी दिए।

बेनी–२ ज्यामरुककोटमा स्थानीय चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा बर पिपल रोपण र ८ वटा पोखरी निर्माण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.