'प्रशिक्षकको स्टन्ट अनावश्यक विवादबाहेक केही हैन'

|

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवाद निर्वाचित कार्य समितिको बैठकले समाधान गर्न सकेन। र द्वन्द्व समाधानको जिम्मा खेलकुद मन्त्रालयलाई सुम्पियो।

कार्यसमितिभित्र द्वन्द्व चर्किरहेको अवस्थामा नयाँ पात्रको रूमा प्रशिक्षक अलमुताइरी देखिए। कर्माछिरिङ शेर्पाबाहेक अरू अध्यक्ष स्वीकार्य नहुने प्रशिक्षकको अभिव्यक्तिपछि ‘कर्मा–अलमुताइरी कनेक्सन’ झन शंकास्पद बनेको छ।

जसले नेपाली फुटबल अस्थिरताको घटनालाई थप उजागर गर्‍यो। नेपाली फुटबललाई स्थिर गर्ने कर्माछिरिङ नेतृत्वको एन्फासँग कुनै योजना छैन। न त यसअघिका नेतृत्वसँग नै थियो। अहिले आएर एन्फा कार्यसमिति नै अलमुताइरीको पक्ष र विपक्षमा देखिएको छ।

अलमुताइरी स्टन्टले खस्किएको नेम्बाङको चार्म

​प्रशिक्षक नियुक्त भएको ५ महिना नबित्दै सामाजिक सञ्जालमा अलमुताइरीले देखाएको राजीनामाको स्टन्टले नेपाली फुटबल अस्थिरतातर्फ धकेलिँदै गएको प्रतिविम्बित गर्छ।

कतार फुटबल संघको तलब खाएर मुख्य प्रशिक्षक बन्न आएका 'प्रो लाइसेन्स होल्डर' अलमुताइरीले छोटो समयमै नेपाली फुटबलमा प्रभाव पार्न सफल रहे। साइकोलोजी अध्ययन गरेका अलमुताइरीले नेपाली फुटबल समर्थकबीच आफूलाई अभ्यस्त साबित गराए।

दबाब दिएर छोरालाई नेपालको यु–१६ टिममा खेलाएको आरोप खेप्दै आएका वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई 'मेन्सन' गरेर अलमुताइरीले गरेको पोष्टले सामाजिक सञ्जालमा नेम्बाङ गालीको पात्र मात्र बनिरहेका छन्।

एन्फाका एक जना पदाधिकारीको भनाइलाई आधिकारिक मान्ने हो भने अलमुताइरी नेपाली फुटबलमा अब रहन चाहँदैनन्। नेपालको फुटबलमा नयाँ प्रयोग गर्दै भविष्यका लागि बलियो टिमको आधार तयार गर्ने लक्ष्य बोकेर आएका उनले स्वदेश फर्कन टिकट प्रक्रियासमेत बढाइसकेका छन्।

एन्फामा दिएको उजुरीको आगामी अगष्ट १० तारिख ( साउन २७ गते) सम्म निर्णय नआए नेपाली फुटबल छाडेर जाने अलमुताइरीले बताइसकेका छन्। 

उनी प्रशिक्षणमा नफर्किए पनि शनिबार भएको आन्तरिक मैत्रीपूर्ण खेलमा भने सहभागी भए। नेपाली फुटबलको डिफेन्सिभ रणनीतिलाई परिर्वतन गर्दै अघि बढेर ३–४–३ फर्मेसनमा ब्युटिफुल–अट्याकिङ फुटबल नेपाली टिममा 'स्थापित' गरेका अलमुताइरी समर्थकको नजरमा ‘गड’ हुन्।

उनको स्टन्टका कारण करिब ३ दशक नेपाली फुटबलमा समर्पण गरेका वरिष्ठ उपाध्यक्ष नेम्बाङ नेपाली फुटबलका ‘डेभिल’। प्रशिक्षकको आरोपपछि नेम्बाङले आफू दोषी ठहरिए पदबाट राजीनामा दिने बताइसकेका छन्। तर प्रशिक्षकले ठोस कदम केही चाल्न सकेका छैन। यसले समेत घटनालाई थप शंकास्पद बनाएको छ।  

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङसहित एउटा खेलकुद अनलाइनका दुई सञ्चारकर्मीका विषयमा छानबिन गर्न बिहीबार (साउन १४ गते) एन्फामा पत्र दर्ता गराएका थिए।

अनलाइनका एक सञ्चारकर्मीले गत आइतबार (साउन १० गते) नै अलमुताइरीले दुर्व्यवहार गरेको भन्दै छानबिन गर्न माग गरेकी थिइन्। गत साउन ७ गते आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा नेम्बाङ र उपाध्यक्ष कृष्ण थापाको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएका देखिन्छ।

विवाद समाधानका लागि एन्फाले आपतकालीन बैठक बोलाएका थियो। जहाँ एन्फाको तर्फबाट निर्वाचित कार्य समितिका पदाधिकारी, महासचिव र कोषाध्यक्षलाई मात्र सहभागी गराइएको थियो।

नेम्बाङको निवेदन पढ्दा एन्फाले आफ्नो बचाउ नगरेको भन्दै प्रशिक्षक रिसाएका थिए। उनी बैठकको बीचबाट निस्केका थिए। त्यसपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दाबा लामा बैठक नसकिँदै बाहरिएका थिए। विवाद समाधान नभएपछि छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको थियो।

एन्फाको कार्यसमिति बैठकमा प्रशिक्षकको निवेदनको खास ठूलो प्रमाण नै नरहेको देखिन्छ। एन्फाका प्रवक्ता एवम केन्द्रीय सदस्य किरण राईका अनुसार प्रशिक्षकको गुनासो उपाध्यक्षद्वयले फेसबुक पोष्टमा गरेको लाइक र कमेन्ट तथा २ जना सञ्चारकर्मीबारे मात्र थियो।

‘बैठकमा प्रशिक्षक पनि आउनुभएको थियो उहाँलाई वरिष्ठ उपाध्यक्षबारे किन लेख्नुभयो भनेर सोध्दा दुई उपाध्यक्षले पोष्टमा गरेको लाइक र कमेन्टले मलाई ह्यारेसमेन्ट गरेको फिल भयो भन्ने थियो। त्यसबाहेक अरू ठोस प्रमाण केही थिएन,’ राईले भने, ‘एन्फामा भएको छलफलमा समाधान ननिस्किएपछि खेलकुद मन्त्रालय पठाइदिएका हौं।’

'प्रशिक्षकको स्टन्ट अनावश्यक विवादबाहेक केही हैन'

प्रशिक्षकले अनावश्यक विवाद निकालेर नेपाली फुटबललाई नै विवादमा ल्याउन खोजिएको राष्ट्रिय टोलीका पूर्वगोलरक्षक विष्णु बराल बताउँछन्। नेपालको राष्ट्रिय टोलीबाट औपचारिक रूपमा खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा–खा गोल्डकपमा गोलपोस्ट सम्हालेका बराल प्रशिक्षकको राजीनामाको नाटकबाहेक केही नभएको बताउँछन्।

‘ज्यादा प्रचारबाजी गरेको देखियो, जसको मातहत काम गर्न आएको उसको बदनाम गर्ने यो मलाई ठिक लागेन। राजीनामा घोषणा गर्ने विवाद समाधानको एउटा प्रक्रिया हुन्छ, कम्तीमा त्यसको त पालना गर्नुपर्‍यो नि?’ बरालले प्रश्न गरे, ‘असन्तुष्टि नै थियो भने एन्फाको कार्य समिति थियो, त्यहाँ छलफल गरेर कदम चाल्नुपर्‍यो। प्रशिक्षकले ज्यादा राजनीति गर्न खोजेजस्तो देखियो। अनि अर्को कुरा उसको कदमलाई मकवानपुरबाहेक सामाजिक सञ्जालमा केही युवाले समर्थन गरेको देखियो अन्त कहीँ देखिएन।’

प्रशिक्षकको कदमा नेपाली फुटबल विकासका लागि घातक रहेको राष्ट्रिय खेलकुद परिषद सदस्यसमेत रहेका पूर्वराष्ट्रिय खेलाडी एवं प्रशिक्षक हरि खड्का पनि बताउँछन्। ‘प्रशिक्षकले राजीनामा दिने एउटा ठाउँ हुन्छ, सम्बन्धित निकाय एन्फा छ, फेसबुकमा देखाएको स्टन्टले नेपाली फुटबल विकासको अवरोधलाई अहिले देखाइरहेको छ। जसरी प्रशिक्षकले राजीनामा दिएको भन्दै पोष्ट गरेका छन् त्यो सही थिएन। वरिष्ठ उपाध्यक्षज्यूले दबाब दिएको हो भने अध्यक्षज्यूसँग बसेर भन्नुपर्‍थ्यो कि मलाई दबाब दिनुभएन नत्र म छोडछु। यो गुनासो राखेको भए विवाद आन्तरिक रूपमा नै समाधान हुन्थ्यो,’ खड्काले भने, ‘एउटा व्यावसायिक प्रशिक्षकले कसैमाथि औंला उठाउँदा त्यसको जवाफ त हुनुपर्‍यो नि।’

४० वर्षमा ३० प्रशिक्षक

चेन्ज एन्फाको नारा बोकेर चुनावमा होमिएको वर्तमान नेतृत्वमा सर्वाधिक लोकप्रिय मतका साथ विजयी भएका नेम्बाङ र गणेश थापालाई भ्रष्टाचारी आरोपको स्टन्ट देखाएर अध्यक्ष बनेका कर्माछिरिङ शेर्पाबीचको असमझदारीको खाल्डोलाई फरक पार्ने काम अलमुताइरीको राजीनामा स्टन्टले गर्‍यो।

अलमुताइरीको स्टन्टका कारण नेपाली फुटबल पहिलो पटक भने अस्थिर बनेको होइन। जतिबेला आधिकारिक रूपमा नेपालले फुटबलमा पाइला हाल्यो, त्यसबेलादेखि नै नेपाली फुटबल स्थिर छैन।

राणाहरूले सोखले भित्र्याएको फुटबल आम मानिसमाझ प्रवेश गरेकै बेलादेखि फुटबल खेलमा राजनीतिको प्रभाव सुरु भइसकेको थियो। औपचारिक फुटबलको सन् १९८१ यताको ४० वर्षे अवधिमा परिवर्तन भएका प्रशिक्षकहरूको सूची हेर्ने हो भने फुटबलको अस्थिरता झल्किन्छ।

त्यसयताका प्रशिक्षकको हकमा अलमुताइरी नेपाली फुटबल सम्हाल्ने ३० औं व्यक्ति हुन्। अलमुताइरीभन्दा अघि ४० वर्षको अवधिमा ३८ पटक प्रशिक्षक परिवर्तन भए। जर्मन प्रशिक्षक रुटी गुटेन्ड्रफबाहेक अन्य विदेशी प्रशिक्षकले दोहोर्‍याएर नेपाली टिमलाई सम्हालेका छैनन्।

जति प्रशिक्षक दोहोरिए ती सबै नेपाली नै थिए। जापानी ग्यातु कोजी र ग्रिक-साइप्रियोट मुलकका बेलायती स्टेफेन कोन्स्टाइनबाहेक अन्य विदेशी प्रशिक्षकले १ वर्षभन्दा लामो समय नेपाली टिमसमेत हेरेका छैनन्।

जसको मुल कारण फुटबल भित्रको फोहोरी राजनीति रहेको चर्चा छ। अलमुताइरीको आगमनभन्दा अघि नेपाली फुटबल इतिहासमा इंग्ल्यान्डका ग्राहम रोबर्ट्स सबैभन्दा सफल प्रशिक्षक मानिन्छन्। टोटनह्रयाम हटस्परका मुख्य रोजाइका खेलाडीसमेत रहिसकेका उनले सन् २०११ को साफ च्याम्पियनसिपमा नेपाललाई सेमिफाइनलसम्म पुर्‍याएका थिए भने खस्किसकेको नेपाली फुटबललाई नयाँ उचाइ दिएका थिए।

रोबर्ट्सकै पालामा नेपाल पहिलोपटक विश्वकप छनोटको दोस्रो चरणसम्म पुगेको थियो। तर नेपाली फुटबलमा चलेको चर्को राजनीतिका कारण उनले १ वर्षभन्दा लामो समय नेपाली टिम सम्हाल्न सकेनन्। रोबर्ट्स राजीनामा दिएर फर्किए। उनको बहिर्गमनको २ वर्षपछि नेपाली फुटबल म्याच फिक्सिङ प्रकरणका कारण बाहिरिएको थियो।

गणेश थापाकालदेखि नेतृत्व हानथाप छताछुल्ल

नेपाली फुटबलमा गणेश थापाको खेलाडीपछि एन्फा अध्यक्षको दोश्रो अध्यायको प्रवेशदेखि नै नेपाली फुटबलमा नेतृत्वका लागि हानथाप भएको देखिन्छ। त्यसअघि पनि नेतृत्वकै लागि एक अर्कालाई कमजोर देखाउने खेल भए पनि थापाकालदेखि विवाद चरमोत्कर्षमा पुगेको छ।

२०५१ चैतमा राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य–सचिव केशव स्थापितले एन्फा अध्यक्ष रुक्मशमशेर राणालाई हटाएर गणेश थापालाई अध्यक्ष बनाएपछि नेपाली फुटबलमा विवाद बाहिर देखिएको थियो।

थापाकै नेतृत्वकालमा एसियाको ड्रिम प्रोजेक्ट एन्फा एकाडेमीको स्थापना गरिएको थियो। जहाँ देशभरबाट १२ वर्षमुनिका खेलाडी राखेर अध्ययनका साथ प्रशिक्षणसमेत दिने व्यवस्था थियो।

तर थापा र महिला समिति प्रमुख गीता राणाबीचको विवादले एकेडेमी पनि फुट्यो। महेश सरकारलगायत केही खेलाडीले राणालाई साथ दिए। त्यसमध्ये केही पछि थापातिर फर्किए पनि। ग्यालेक्सी क्लब स्थापना गरेर नेपाली फुटबलमा स्थापित हुने प्रयास राणाले थाले पनि असफल भएपछि उनी फुटबलबाट एकाएक हराइन्। करिब २ दशक नेपाली फुटबलमा गणेश थापाको एकछत्र राज चल्यो।

थापाकै नेतृत्वमा २०५४ सालमा स्थापना भएको एकेडेमीको पहिलो ब्याचका गोलरक्षक विकास मल्लबाहेक अरू व्यावसायिक फुटबलमा छैनन्। धेरैजसो सुखद् भविष्यको खोजीमा विदेश पलायन भए। यसले समेत नेपाली फुटबल व्यवसायिक र स्थिर नभएको झल्काउँछ।

थापा नेतृत्वको समितिमा उपाध्यक्ष रहेका कर्माछिरिङ शेर्पाले ५८ करोड भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरे।

त्यसपछिका तत्कालीन एसियाली फुटबल महासंघका अध्यक्ष बिन हमामसँगको कनेक्सनलगायत केही प्रोपोगान्डा बाहिरिँदै गएपछि थापा १० वर्षे प्रतिबन्धमा परे अनि सुरु भयो कर्माराज।

नेपाली फुटबललाई कायापलट गर्ने मुद्दा बोकेर नेतृत्वमा आएको कर्माछिरिङ प्यानलले केही महत्वाकांक्षी योजना धमाधम सार्वजनिक गरे पनि अन्तरसंघर्षका कारण पहिलो कार्यकाल नै विवादबीच गुजारिरहेको छ। अर्को कार्यकालका लागि निर्वाचनको समय नजिकिँदै गर्दा एकअर्काका कमजोरी खोतल्नमै पदाधिकारीहरू व्यस्त देखिन्छन्।

घरेलु प्रतियोगिता बलियो नहुँदा नेपाली फुटबल अस्थिर

गणेश थापाको समयको तुलनामा अहिले व्यावसायिकताको कमी रहेको कारण पनि नेपाली फुटबल अस्थिर बन्दै गएको पूर्वराष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको तर्क छ।

‘त्यसबेला खेलाडीमा देखिएको उत्साह र अहिलेको अवस्था हेरे पुग्छ। गणेश थापाले जहिले पनि खेलाडीको हितलाई प्राथमिकतामा राख्नुहुन्थ्यो, त्यसकारण पनि घरेलु फुटबलको चार्म बेग्लै थियो दर्शकको अपार माया थियो,’ प्रलयले भने, ‘एउटा नेतृत्वको पछि अरू हिँड्थे, तर आजकाल सबै नेतृत्व हुन खोज्दै छन्। एकले अर्कालाई लडाउने खेलमा लागेका छन् जसको नैतिक दबाब खेलाडीले भोग्नु परेकोले पलायनको विकल्प पनि रहेन। नेपाली फुटबल जसले चलाए उनीहरू फुटबल विकास चाहँदैनन्।’

पूर्वकप्तान हरि खड्काको तर्कसमेत प्रलयसँग मेल खान जान्छ। घरेलु प्रतियोगिता बलियो नहुँदा नेपाली फुटबल धकेलिएको खड्का बताउँछन् ‘घरेलु लिग दिगो नहुनु, खेल्ने वातावरण र भविष्यको सुरक्षा नहुँदा नेपाली फुटबल अस्थिर बनेको हो। केही वर्ष अघिसम्म फुटबल खेलेर मासिक २ लाख रुपैयाँसम्म पाउने वातावरणसमेत थियो। तर बीचमा केही राजनितिक घटनाक्रमले नेपाली फुटबल फेरि धकेलिदिएको छ,’ खड्काले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.