|

पाल्पा : पाल्पामा ट्राफिक कारबाहीबाट गत आर्थिक वर्षमा ८८ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ। 

गत आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक कारबाहीबाट ८८ लाख ५९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले बताए। उनका अनुसार १५ हजार २१ सवारी साधनमाथि कारबाही गरिएको छ।

सबैभन्दा बढी टिपरसहित ट्रक र मिनी ट्रक कारबाहीमा परेका छन्। तीन हजार ९८४ टिपरसहित ट्रक र मिनी ट्रक कारबाहीमा परेका हुन्।

यस्तै, चार हजार ८१८ मोटरसाइकल, तीन हजार ९०५ कार, भ्यान र जीप, एक हजार ३५६ बस तथा मिनी बस र ९५८ ट्याक्टरलाई कारबाही गरी जरिवाना असुल गरिएको उनले बताए। 

अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा बढी राजश्व संकलन भएको हो। आर्थिक वर्ष २०७६/०७७ मा ८३ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो। १३ हजार ७८२ सवारी साधन कारबाहीमा परेका थिए। 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत यस आर्थिक वर्षमा पनि सवारी चेक जाँचलाई थप कडाइ गरिने ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.