|

काठमाडौं : दार्चुला घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका टोली घट्नास्थलतर्फ जाँदैछ। काठमाडौंबाट आज हिँड्ने टोली भोलि दार्चुला पुगेर काम थाल्ने बताइएको छ। 

समितिको सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले काठमाडौंबाट टोली आज हिँड्ने र भोलिसम्म दार्चला आइपुग्ने बताइन्। उनका अनुसार छानबिन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज काठमाडौंबाट हवाई मार्गबाट धनगढी पुग्नेछ। त्यहाँबाट टोली भोलि दार्चुला पुग्नेछ। 

‘टोली भोलि चाँडै आइपुग्यो भने भोलि बाटै काम थाल्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भनिन्, ‘ढिला मात्रै आइपुगे पर्सिबाट काम थाल्नेछौं ।’

गृह मन्त्रालयले हिजो दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिमा गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सदस्य छन्। घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई म्याद दिइएको छ। 

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा व्याँस गाउँपालिका–२ मालगाउँका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन्। बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ। घटनाका दोषीलाई कारबाही गर्न ब्यापक विरोध भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.