|

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले १० लाख रूपैयाँ सहयोग गरेका छन्। तीन वर्षे बाली विज्ञान विषय पठनपाठनका लागि उनीहरुले सहयोग गरेका हुन्।

रामकिरण राईको अध्यक्षतामा जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च गठन गरी सहयोग संकलन अभियान सञ्चालन भएको थियो। समूहले हालसम्म १० लाख रूपैयाँ आर्थिक सहयोग संकलन गरेको जनाएको छ।

रकम शनिबार विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष रामकिरण राईले जानकारी दिए। सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई‚ थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असीम राईलगायतको उपस्थितिमा रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष राईले बताए।

गाउँपालिकाको पहलमा वडा नम्बर ९ मा बाली विज्ञान र वडा नम्बर ६ मुक्लीमा तीन वर्षे प्राविधिक शिक्षाको पठनपाठन सुरु भएको हो। पूर्वविद्यार्थी तेन्जी शेर्पाले आफूहरुले प्राविधिक शिक्षा लिने चाहना भए पनि आर्थिक अवस्था कै कारण बन्चित भएको बताउँदै आगामी पुस्ताको लागि सहज भएको बताए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट पढाइ सुरु भएको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईले जानकारी दिए। आफूहरुले गाउँमा बाली विज्ञानसँगै बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.