आगामी चैतसम्म सबै नागरिकले खोप पाइसक्छन् : राज्यमन्त्री श्रेष्ठ

|

काठमाडौं : अबको दुई साताभित्र चीन र जापानबाट ३२ लाख डोज खोप नेपाल आउने भएको छ। चीनको अनुदान सहयोगमा १६ लाख डोज भेरोसेल र जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका गरी कुल ३२ लाख डोज खोप आउने भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार सम्हालेको १० औं दिनमा १०० दिनको आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उमेश श्रेष्ठले अब जापानबाट आएको एष्ट्रेजेनेकाको खोप ज्येष्ठ नागरिकलाई लगाइने बताए। करिब १४ लाख ज्येष्ठ नागरिकहरूले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ।

यस्तै, राज्यमन्त्री श्रेष्ठले आगामी माघभित्र खरिद अनुदान र कोभ्याक्समार्फत थप ५ करोड २२ लाख ८२ हजार खोप प्राप्त हुनेसमेत बताए। उनले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतालाई साकार बनाई नेपाली जनताको जीवनरक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताए।

राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता अहिले खोपको सहज उपलब्धता र वितरण रहेको भन्दै आफ्नो प्राथमिकता त्यसैमा केन्द्रीत रहेको बताए।

उनले हालसम्म नेपालमा अनुदान, कोभ्याक्ससुविधा र खरिद गरी ९७ लाख डोज खोप नेपाल आएको र सोमध्ये हिजोसम्म ६२ लाख १७ हजार ९९२ डोज खोप लगाइसकिएको जानकारी दिए। मन्त्री श्रेष्ठले हाल टेकुको स्टोर ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरूमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दात रहेको भन्दै हाल प्रत्येक दिन दुईदेखि तीन लाखसम्म खोप लगाउने काम भइरहेको बताए।

सरकारले आगामी असोज मसान्तसम्म एकतिहाइ जनता र चैत मसान्तसम्म सबैलाई खोप लगाएर भ्याउने भन्दै त्यही दिशामा आफूले काम अघि बढाएको बताए। सो अवसरमा उनले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको भन्दै उनले असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने बताए।

१८ वर्षमुनिकालाई मोर्डना ४० लाख डोज, ५० लाख डोज जोन्सन, ४० लाख फाइजर र २० लाख डोज एष्ट्रेजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको बताए।

कोभ्याक्सबाट १ करोड १३ लाख, कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको समेत उनले जानकारी दिए।

किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सोन एण्ड जोन्सोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी १ करोड ५० लाख डोज खोप खरिद प्रक्रिया सुरु गरेको पनि उल्लेख गरे।

साथै‌ १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको पनि बताए।

                                                        तथ्यांक तालिका

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.