|

काठमाडौं : जब निरन्तर वर्षा हुन्छ-सिन्धुपाल्चोकवासीको मानसपटलमा कतै यो पानीले केही विध्वंश त गर्दैन? या के हुने हो भन्ने चिन्ताले जरो गाडी हाल्छ।

देशभरमै सबैभन्दा धेरै बाढीपहिरो सिन्धुपाल्चोकमा चल्छ। त्यहाँका विभिन्न क्षेत्रमा बाढी र पहिरो गइरहँदा त्यहाँका जनताले वर्षेनी दुःख पाइरहेका छन्।

कहिले माङ्खा र राम्चेको सीमा क्षेत्रमा पर्ने जुरेको पहिरो त कहिले भोटेकोशीको बाढीले बाह्रबीसे, जुगल र भोटेकोशीलाई पारेको प्रभाव सिन्धुपाल्चोकवासीका लागि नियति नै बन्न पुगिरहेको छ।

पछिल्लो समय मेलम्ची नदीको बाढीले मेलम्ची बजारमात्र होइन, आसपासका क्षेत्रपनि प्रभावित भएका छन्। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाइसकेको छ।

भूगर्भविद्‌ एवं वातावरणविद् प्रा. डा. अधिकारी खोलाको मापदण्ड बेवास्तागर्दै खोलाको किनारमा गएर घर बनाइदिने कारणले पनि क्षति हुने गरेको तर्क गर्छन्।

‘भूउपयोग नीति मानिसहरूले फलो गरेका छैनन्। बगरमा गएर घर बनाएपछि खोलो त पस्छ नि!’ उनी भन्छन्, ‘सडक बाटोको अन्धाधुन्ध निर्माण पनि यसको कारणमध्ये एक हो, यति भद्रगोलसँग बाटो खनेका छन्।’

‘कमलो भूभागमा डोजर लगाइदिएपछि भत्किन सजिलो हुन्छ। रुख काटेर विविध किसिमले भूभाग कमजोर बनाइएको छ,’ उनले भने, ‘पूर्वतयारी हुनुपर्छ भन्ने हामी सबैलाई थाहा भएपनि त्यत्ति ध्यान गएको देखिन्न। जब वर्षायाम शुरू हुन्छ-अनि मात्र चर्चा र बहसमा आउँछ।’

उनले दिगो रूपमा यसको समाधानतर्फ पूर्वतयारी गर्न सुझाव दिए। ‘जब अन्तिम अवस्था हुन्छ, कराउन चिच्याउन थाल्छौ, राहतका कुरा गछौँ, हेलिकप्टरमा जान्छौँ। त्यहाँका स्थान पिच्छेका ट्रेन हेरेर त्यसको पूर्वतयारी गरे घटना भइसकेपछिको प्रतिकार्यमा दौडधूप गर्नुपर्दैन,’ उनको सुझाव छ।

यस विषयमा पहिरोविद् सुवोध ढकाल पुरानै पहिरो गएकै स्थानमा बस्ती बसाउनाले पनि फेरि पहिरो आएर क्षति भएको दाबी गर्छन्। ‘सिन्धुपाल्चोकमा पहिले पहिरो गएका स्थानमै बस्ती बसेको छ। पहिला–पहिरो गएको स्थानमा फेरि पनि पहिरो जाने संभावना रहन्छ,’ उनले भने, ‘२०७२ सालको भूकम्पका कारण पनि जमिनमा चिराहरू पारेको, हल्लाएको र थर्काएको छ।’

आकाशबाट धेरै पानी परिरहँदा चिराबाट भित्री जमिन भित्रै पानी छिरेर पानीले आफैँसँग लिएर हिँड्ने हुँदा खतरा रहने उनले जानकारी दिए।

ढकाल पनि हिमताल फुटेर आउँदा त्यसले ल्याएको गेग्रान थुप्रिएको ठाउँमा पनि बस्ती बसेकाले बाढी पहिराको जोखिम रहेको औल्याउँछन्। ‘धेरै समयअघि हिमनदी र हिमताल फुटेर आउँदा त्यसले ल्याएको गेग्रान थुप्रिएको ठाउँमा पनि बस्ती बसेकाले बाढी पहिराको जोखिम छ। किनकी त्यो ठाउँको माटो कमलो छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.