|

धनगढी : पछिल्लो चार दिनयता कैलालीको कर्णाली नदीमा ५ जना बेपत्ता भएका छन्।

कैलालीका तीन र डडेल्धुरा घर भई डोटी बस्दै आएका दुई जनासहित पाँच जना कर्णालीमा बेपत्ता भएका हुन्। शुक्रबार नदीम जिप खस्दा भएको दुर्घटनामा बेपत्ता जोशी दम्पती अझै फेला परेका छैनन्।

एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जिप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। जिपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए। 

यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको बताएका छन्। नदीमा पानीको बहाव बढी भएकाले समस्या भएको उनले बताए।

यस्तै आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो।

कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।

प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका छन्। उनीहरू सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेका बेला दुर्घटना भएको हो।

घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन्। नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.