|

धनगढी 

नामः कल्याणसिंह धामी
कामः मालघाटमा तुइन तार्ने
घटनाः तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता 

दार्चुलाका कल्याणसिंह धामी। जसले मालघाटमा तुइन तार्ने काम गर्छन्। उनी २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका छन्। शुक्रबार मालघाटमा तुइन तर्ने क्रममा व्यासका जयसिंह धामी बगेपछि कल्याणको मनमा डर पसेको छ। उनले अबदेखि तुइन नचलाउने प्रतिज्ञा नै गरिसके।

उनको मनमा डर छ, सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। जयसिंह बेपत्ता भएपछि कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा बगेको समाचार छ्यापछ्याप्ती आए। तर, अहिलेसम्म स्थानीय प्रशासन र नेपाल सरकारले आधिकारिक धारणासमेत सार्वजनिक गर्न सकेको छैन। त्यसैले भारतीय सुरक्षाकर्मीको निशानामा परिन्छ कि भन्ने डर उनमा देखिन्छ।

‘नेपालमा न सडक छ न गोरेटो बाटो नै छ,’ उनले भने, ‘नुनतेल खरिद गर्न र आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि भारत पुग्नुपर्ने बाध्यता छ। मिडियाले मेरै नाम जोडेर भारतीय सुरक्षा बल एसएसबीको बारेमा समाचार बनाए। अब भोलिका दिनमा भारत जाने क्रममा निशानामा परिन्छ कि भन्ने डर छ।’

उनका अनुसार २१ वर्षसमम तुइन तार्ने क्रममा यस्तो घटना कहिल्यै भएको थिएन। ‘जयसिंह पारि पुग्नै लागेका थिए। एक्कासि तुइनको तारसहित नदीमा खसे। सोही समयमा एसएसबी पनि देखिएका थिए। एसएसबीले तार खोलिदिएको हुनुपर्छ। आफ्नो देशमा सडक भएको भए यसरी तुइन तर्ने क्रममा जयसिंह धामीका सपना महाकालीमा बग्ने थिएनन्,’ कल्याणसिंहले थपे।

जयसिंहका छिमेकी जनक धामी पनि अहिले तनावमा छन्। ‘तुइन तर्ने क्रममा भएको घटनाले अहिले देशभर विरोध भइरहेको छ। भारतमाथि सबै खनिएका छन्,’ उनले भने, ‘तर हामीले दैनिकी चलाउनका लागि भारतकै भर पर्नुपर्छ। आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ। सीमावर्ती क्षेत्रका बासिन्दाको पीडा कसैले पनि बुझ्दैन्।’

नेपाल सरकारकै कमजोरीका कारण सीमावर्ती क्षेत्रका बासिन्दा असुरक्षित भएको उनले गुनासो गरे। 

‘सीमा क्षेत्रका नेपालीले भारतीय सुरक्षाकर्मीको यातना सहनुपर्ने बाध्यता नयाँ होइन्,’ उनले भने, ‘अहिले तुइन खोलेरै मान्छे बगाइएको घटनाले सबै राष्ट्रवादी भएका छन्। तर त्यो घटनाको पछाडि नेपाल सरकार पनि जिम्मेवार छ। नेपालतर्फ न सडक बनाइएको छ न त पैदल हिँड्ने बाटो छ। अब त काठमाडौँमा बसेर राष्ट्रवादका कुरा नगरेकै ठिक होला जस्तो लाग्छ।’ 

दार्चुलाका पत्रकार नरेन्द्रसिंह कार्कीलाई पनि काठमाडौँमा राष्ट्रवादका कुरा हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा थप पीडित हुने चिन्ता छ। ‘जयसिंहको घटनाले अहिले व्यासका बासिन्दा ओक्रोसित पनि छन्,’ उनले भने, ‘तर दैनिक उपभोग्य सामाग्री खरिद गर्न र जिल्ला सदरमुकाम पुग्न भारत जानै पर्ने बाध्यता छ। त्यसैले उनीहरू निराश र डराएका पनि छन्।’ 

व्यासवासीका सपना दार्चुला–तिंकर सडकसंग जोडिएको छ। १३० किलोमिटर सडक निर्माण सुरु भएको १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ। यही गतिले निर्माण भएमा तिंकर जोड्न अझै २५ वर्ष लाग्नेछ।

त्यो अवधिमा भारत भएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै हुने देखिन्छ। त्यसैले पनि होला जयसिंहका छिमेकी जनक धामीले टेलिफोनमा भन्दै थिए, ‘भो अब काठमाडौँको राष्ट्रवाद चाहिँदैन। हाम्रा लागि सडक बनाइदिए पुग्छ। हामी भारत कहिल्यै जाँदैनौँ।’

प्रत्यक्षदर्शीलाई जिल्ला सदरमुकाम खलंगा ल्याइयो

जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बलले तुइन काटेरकै कारण महाकालीमा खसेको स्थानीय तथा प्रत्यक्षदर्शीले आरोप लगाएपछि घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी ३ जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने क्रममा घटना हुँदा जयसिंहपछि पालो कुरेर बसेका २ जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो।

फलामे तुइन तार ‘गायब’

यसअघि शसस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा एउटा टोली घटनास्थल खाङदाङ मालघाटमा पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थियो। सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोलीले तुइन सञ्चालकसँग घटनास्थलमा पुगेर सोधपुछ गरेको थियो। सो क्रममा उक्त घटना निम्त्याएको तुइन भने टोलीले फेला पार्न नसकेको उनले बताए।  

तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार फेला नपरेको भन्दै डिएसपी धामीले भने, ‘तुइन सञ्चालक(कल्याणसिंह धामी) ले नै तार तानेर फालेको रहेछ। स्थानीयले एसएसबीले तार काटेको आरोप लगाएका छन्। तार भेटिएको भए काटेको हो कि होइन पत्ता लाग्थ्यो होला।’

कल्याण सिंहले वर्षौं पुरानो तार काम नलाग्ने भन्दै महाकालीमै बगाइदिएको भन्दै बयान दिएको उनले बताए। अब घटनास्थलमा रहेका ३ जना प्रत्यक्षदर्शीको बयानबाट नै घटनाको अनुसन्धान हुने उनले बताए। 

तुइन तरेर पारि भारत पुगेका ४ जनाको बयान प्रहरीले लिइसकेको छ। उनीहरूले एसएसबीका २ सुरक्षाकर्मी तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन्।

तर उनीहरूले तुइन काटेको अथवा खोलेको भने नदेखेको बयान दिएका छन्। ‘तुइन तर्दा पारि एसएसबी थिए भन्ने कुरा बताएका छन्’, डिएसपी धामीले भने, ‘आरा र ह्याक्सो ब्लेड भएको एसएसबी केही माथि नै थियो रे। खाली हात भएको एसएसबी पारिपट्टि रूख भएको स्थान नजिकै थियो रे।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.