|

हेटौंडा :  स्वास्थ्य मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएकोप्रति बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आपत्ति जनाएका छन्।

आज बिहान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले डा. गौतमलाई वीर अस्पतालबाट हटाएर सरकारले काम गर्न नदिएको भन्दै असन्तुष्टि जनाएका हुन्। 

कोरोना नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गरेका डा.गौतमलाई वीर अस्पतालबाट प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेर सरकारले गौतमलाई काम गर्ने वातावरण नदिएको पौडेलले बताए।  उनले काम गर्नेलाई सरकारले प्रोत्साहन गर्नुपर्ने भएपनि गौतमलाई सरुवा गरेर निरुत्साहन गरेको भन्दै असन्तुष्टि जनाए। 

मुख्यमन्त्रीले गौतमलाई सरुवा गरेर वर्तमान देउवा नेतृत्वको सरकारको लक्षण राम्रो नदेखाएको टिप्पणी गरे। ‘सरकारले के नियतले डा.गौतमको सरुवा गर्यो, त्यो त मलाई थाहा छैन। तर एउटा काम गर्ने मान्छेलाई सरुवा गरेर सरकारले राम्रो लक्षण देखाएन,’ पौडेलले भने।  उनले ओली नेतृत्वको सरकारले एक करोड ३६ लाख डोज खोप सुनिश्चित गरिसकेको भन्दै सबै नागरिकलाई खोप लगाउन वर्तमान सरकारलाई शुभकामना समेत दिए।

पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिकारी आमुल परिवर्तनको थालनी गरेको बताए। उनले सरकारले प्रदेशको विभिन्न अस्पतालमा पाँचसय शैया विस्तार गरेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गरेको दाबी गरे।

अस्पतालमा २२ करोड ८६ लाख ३१ हजार तीनसय ६६ रुपैयाँ लागतमा २ सय शैयाको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ। सो भवन २०८० सालसम्म निर्माण गरिसक्ने सरकारको लक्ष्य छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.