|

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्।

जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन्।’

यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधिकांश ज्वरो र रुघाखोकीका हुने चौकीका प्रमुख वीरसिंह भाटले बताए। उनले भने, ‘स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकीका छन्।’

मौसम आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेको डा. जोशीको भनाइ छ। ‘निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको संख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्‚’ उनले भने, ‘मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो।’

वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. जोशीले सुझाव दिएका छन्। साथै‚ निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड  बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि  आग्रह गरिएको छ। यस्तै व्यक्तिगत र सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.