तारान्तार भेटघाट गर्दै प्रचण्ड

|
फाइल फोटो

काठमाडौं  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा दुई नेताबीच करिब दुई घण्टा वार्ता भएको थियो।

एमाले एकताको निर्णायक वार्ता गर्ने प्रयास भइरहेका बेला प्रचण्ड र नेता नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। 

प्रचण्ड र नेता नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता नेपालको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।  

प्रचण्डले नेपालसँग एमाले एकताको पछिल्लो प्रयास र सरकारमा सहभागिताबारे चासो राखेका थिए। 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका नेता नेपाललाई प्रचण्डले सरकारमा ल्याउन पहल गरिरहेका हुन्।

तर, दोस्रो पुस्ताको नेताहरूको दबाबका कारण नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सम्मानजनक एकताको पहल गर्ने, तर सरकारमा नजाने बताउँदै आइरहेका ​छन्। 

यद्यपी; प्रधानमन्त्री देउवाको पक्षमा हस्ताक्षर गरेका अधिकांश सांसदहरूले आफूहरूले नै संसद जोगाएकाले सरकारमा जानुपर्ने मत राख्दै आइरहेका छन्। 

सोमबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले ओलीसँग झुकेर नभएर सम्मानजनक हैसियतले एकताको पहल गर्ने निर्णय गरेको थियो। 

एमालेमा विवाद समाधान प्रयास जारी रहँदा प्रचण्डले दिनहुँजसो नेता नेपाललाई भेट्दै आएका छन्। सत्ता गठबन्धनले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ। नेता नेपाललाई सरकारमा ल्याउन गठबन्धन कम्तिमा ६ मन्त्रालय दिन राजी छ।  

नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ। तर, नेता नेपालले प्रचण्डलाई एमालेमा एकता प्रयास जारी रहेकोले सरकारमा नजाने बताउँदै आएका छन्।

गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी हुँदैगर्दा प्रचण्ड र नेता नेपालबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ।

यस्तै, आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.