|
फाइल फोटो

काठमाडौं : सन् २०२१ को जुलाईमा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ।

पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन्। गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका छन्। सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आफ्नो देश फर्किएका छन्। पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ।

सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक

पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन्। उक्त अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन्।

भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बंगलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलंकाबाट तीन पर्यटक नेपाल आएका छन्। यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन्।

२५ हजार नेपाली स्वदेश फर्किए

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन्। तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन्।

उक्त अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन्। यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कुल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन्।

गत जुन महिनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.