|

काठमाडौं  काठमाडौं उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझाएको छ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न विशेष अपरेसन टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न मितिमा हराएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका मोटरसाइकल हस्तान्तरण गरे।

एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको तथा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको बताए।

कसरी चोरिन्छ मोटरसाइकल?

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छन्? कसरी चोरिन्छ?

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार चोरीमा संलग्नहरुले काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चाबी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ।

चोरी गर्नुपूर्व मोटरसाइकल र चालकको गतिविधि निगरानी गर्ने, मौकाको खोजी गरी उपयुक्त समयमा विभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको प्रहरीले बताएको छ। चोरी गरेपछि वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्री गर्ने तथा आफैंले समेत चलाउने गरेको, पार्टसहरू खोलेर बिक्री वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको एसएसपी भट्टराई बताए।

चोरी गर्ने समूहले सस्तो, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको देखिन्छ। युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको प्रहरीले बताएको छ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिइएको एसएसपी भट्टराई बताए। यस्तै‚ चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीका लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.