क्यानको नेतृत्वमा आउने प्रयास गर्न स्वतन्त्र

|

काठमाडौं : राष्ट्रिय टीमबाट खेल्ने लक्ष्य हरेक खेलाडीसँग हुन्छ। अझ फूटबल र क्रिकेटजस्तो बढी प्रतिस्पर्धा हुने खेलमा खेलाडी छनोट र छानिएर राष्ट्रिय टीममा पुर्‍याउने योगदान कति होला?

​सीमित बाहेक खेलाडीहरूले विरलै राष्ट्रिय टीमबाट लामो समय खेल्ने मौका पाउँछन्। यस्तै दुर्लभ अवसर पाउनेमध्ये पर्छन्‌ नेपाली टीमका पूर्वकप्तान पारस खड्का। 

नेपाली खेलकुदमा अपवाद नै हुन्‌ खड्का। विशेष गरेर उनको कप्तानी भूमिकाको खुलेर प्रशंशा हुने गरेको थियो। मैदान भित्रको कौशलतासँगै स्पष्ट बोल्ने शैली, मैदानका गल्ति ढाकछोप नगर्ने तथा जीत र हारमा चित बुझ्दो जवाफ दिने उनको फरक शैलीकै कारण नेपाली क्रिकेटमा १० वर्ष कप्तानका रूपमा रहे।

उनले नेपाली सिनियर राष्ट्रिय टीमबाटै करिब १७ वर्ष अन्तरराष्ट्रिय क्रिकेट खेले। १० वर्ष राष्ट्रिय टीमको कप्तानी भूमिकामा नेपाललाई डिभिजन स्तरदेखि टी-२० विश्वकप हुँदै एकदिवसीय मान्यतासम्म पुर्‍याए।

लामो खेल जीवनसँगै उनले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन्। पारस एक सफल खेलाडीसँगै नेपाली क्रिकेटको सफलतामा जोडिने नामका रूपमा उनी नेपाली खेलकुदमा सधैँ रहिरहने छन्।

३४ वर्षीय पारसले समग्रमा १९ वर्षे क्रिकेट खेलाडीका रूपमा जीवन बिताएका छन्। यद्यपी; अबको इनिङमा उनी क्रिकेटमै कुनै न कुनै रूपमा सक्रिय रहने बताइसकेका छन्। आगामी यात्रा पनि पारसका लागि उत्तिकै महत्वपूर्ण छ किनकी उनको अबको लक्ष्य क्यान नेतृत्वमा आउनु हुनेछ।

पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेटले टी-२० विश्वकपको अनुभव लियो भने एकदिवसीय अन्तरराष्ट्रिय प्राप्त देशका रूपमा समेत आफूलाई उभ्याउन नेपाल सफल भयो।

सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दै टी-२० विश्वकप छनोटमा पुग्यो। छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा स्थान बनाउँदा कप्तान पारसको भूमिका महत्वपूर्ण रह्यो।

टी-२० विश्वकपमा कप्तापन पारसले हङकङ र बंगलादेशविरुद्ध समान ४१-४१ रन बनाए। उक्त विश्वकपमा अफगानिस्तानविरुद्ध ९ रनको रोमाञ्चक जीत निकाल्दा पारसको फिल्डिङ सम्झनलायक थियो। उक्त विश्वकपपछि नेपालले पहिलो पटक टी-२० अन्तर्राष्‍ट्रियको मान्यता पाएको थियो।

पछिल्लोपटक नेपालले पाएको सर्वाधिक ठूलो उपलब्धि एकदिवसीय मान्यता हो।

खड्काले नेपाललाई २०१५-१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिपको नेतृत्व गरे। सोही वर्ष डिभिजन दुईको उपविजेता बनाउँदै जिम्बाबेमा हुने विश्वकप छनोटसम्म नेपाल पुग्यो। एकदिवसीय विश्वकपमा छनोट नभएपनि नेपाल आठौं बन्दै एकदिवसीय अन्तरराष्ट्रियको मान्यता प्राप्त गर्न सफल भयो।

२०१८ को अगस्ट तीनमा नेदरल्यान्डमाथि १ रनको रोमाञ्चक जीत निकाल्दै पहिलो एकदिवसीय अन्तरराष्ट्रिय समेत जित्न नेपाली टीम सफल भयो। ३ वर्षपछि नेपाली टीमका लिजेन्ड स्टार  खड्काले सोही दिन अर्थात ३ अगस्टमै अन्तरराष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरे।

सन् २००४ मा मलेसियाविरुद्ध एसिसी इन्टरकन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय क्रिकेट टीममा डेब्यु गरेका पारसले त्यसअघि नै अर्थात २००२ मै १५ वर्षको हुँदा उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका थिए। उनले यु-१७ र यू-१९ हुँदै राष्ट्रिय टीमको यात्रा तय गरे। २००४, २००६ र २००८ को यू-१९ विश्वकप खेले। 

सन् २००९ मा नेपालको कप्तानी समाले। सबैभन्दा धेरै वर्ष नेपालको क्याफ्टेनसिप गर्ने खेलाडी रूपमा समेत रहे। पछिल्लो पटक पारसले राष्ट्रिय टीमका लागि गत वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता खेलेका थिए।

पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५, सँगै २०१२ को डिभिजन-४, २०१३ र २०१४ को डिभिजन-३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। त्यस्तै, २०१२ को एसीसी ट्रफीमा नेपाल र यूएईलाई संयुक्त विजेता बन्दा उनको कप्तानी महत्वपूर्ण रहेको थियो।

पारसले टी-२० अन्तरराष्ट्रियमा सर्वाधिक रन बनाएका छन्। त्यस्तै, टी-२० र एकदिवसीय गरि दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। २०१९ मा यूएईविरुद्ध एकदिवसीय अन्तरराष्ट्रियमा तथा सोही वर्ष सिंगापुरविरुद्ध टी-२० अन्तरराष्ट्रियमा शतक बनाएका थिए।

पारसले एकदिवसीय अन्तरराष्ट्रियमा १० खेलमा १ शतक र १ अर्धशतक सहित ३१५ रन तथा टी-२० अन्तरराष्ट्रियमा ३३ खेलमा १ शतक र ४ अर्धशतक सहित ७९९ रन बनाएका छन्। त्यस्तै, पारसले २ प्रथम श्रेणी ४४ लिस्ट ए तथा ५६ टी-२० खेलेका छन्।

खड्काले राष्ट्रिय टीमको कप्तानबाट २०१९ अक्टोबरमा राजीनामा दिए। क्यान लामो समय निलम्बन हुँदा उनी सहभागी रहेको छनोट समितिले नै खेलाडी छनोट गर्ने गरेको थियो। क्यान निलम्बन फुकुवा भएसँगै उनले कप्तानबाट राजीनामा दिए।

पारसले कप्तानी छोडेसँगै ज्ञानेन्द्र मल्लले नेपालको कप्तान समालेका छन्। पारसको कप्तानीमा नेपालले २७ टी-२० अन्तरराष्ट्रिय खेल्यो जसमा नेपालले ११ जीत र १५ हार ब्यहोरेको छ। त्यस्तै, उनले ६ एकदिवसीय अन्तरराष्ट्रियमा नेतृत्व गर्दा ३ खेलमा जीत र ३ खेलमा नेपालले हार भोगेको छ। समग्रमा उनले नेपाली क्रिकेटको एक युगलाई अर्को युगमा पुर्‍याएका छन्। अब नेपाल सामु उपलब्धि जोगाउँदै बाँकी यात्रा तय गर्नुपर्ने चुनौती रहेको छ।

पारसको आगामी यात्रा

सन्यास घोषणा गर्दा नै पारस खड्काले स्पष्ट रूपमा अन्तरराष्ट्रिय क्रिकेटरका रूपमा यात्रा सकिएको, तर नेपाली क्रिकेटको सपना भने बामे सर्दै गरेको उल्लेख गर्दै क्यानको नेतृत्वको भूमिकामा आउने स्पष्ट संकेत गरेका छन्।

उनले इमानदारिताका साथ काम गर्ने हो भने नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन समय नलाग्ने बताएका छन्। यसबाट पनि उनी अब क्रिकेट राजनीतिमा सक्रिय हुने स्पष्ट छ।

पारसले नेतृत्वको प्रयासका लागिपनि सन्यास लिनु आवश्यक थियो। किनकी, क्यानको वर्तमान विधानमा कुनैपनि खेलाडी क्यान निर्वाचन हुँदै पदमा पुग्न सक्रिय खेल जीवनबाट दुई वर्ष पहिला सन्यास लिएको हुनुपर्ने उल्लेख छ।

जसले गर्दा पनि अबको दुई वर्षपछि हुने क्यान निर्वाचनमा आफ्नो सक्रिय सहभागिताका लागि पनि उनले सन्यास लिनु उचित सम्झिएको हुनुपर्छ। त्यसैले अब पारस क्यानको नेतृत्वमा आउनका लागि आवश्यक सबै प्रयास गर्न स्वतन्त्र भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.