|

काठमाडौं : उपत्यकाका बिभिन्न स्थानबाट चोरी भएका तथा हराएका मोटरसा २३ वटा मोटरसाइकल प्रहरीले फेलापारी सम्बन्धित धनीको जिम्मा लगाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकल फेलापारी सम्बन्धित धनीको जिम्मा लगाएको हो। महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले एक कार्यक्रमकाबीच सम्बन्धित धनीलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका छन्।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेको महाशाखाले जनाएको छ। विषेश सूचना र निगरानीका आधारमा उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको भट्टराइले जानकारी दिए।

मोटरसाइकल चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाइएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको उनले बताए।

सवारीसाधन चोरीका घटनालाई न्यूनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई निरन्तरर्ता दिइने पनि उनले जानकारी दिए। ट्राफिक प्रहरीको अनुसन्धान अनुसार अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने गरेको पाइएको छ।

चोरी गर्नुपुर्व उक्त मोटरसाइकल र चालकको गतिबिधी निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको महाशाखाले जनाएको छ। चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ।

युवा पुस्ताको रोजाई र ग्रामीण भेगमासमेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई छ। सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले अनुरोध गरेको छ।

गत आर्थिक वर्षमा मात्रै हराएका चार सय  १८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ। सो अवधिमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाइएको महाशाखाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.