गृहको टोली दार्चुला पुग्दै, सोधपुछ गरिने

|

धनगढी : दार्चुला व्याँस गाउँपालिकाका युवा जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा बेपत्ता भएको देख्नेलाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। उनीहरूका अनुसार धामी तर्ने क्रममा बेपत्ता भएपछि भारतीय एसएसबीले डोरी फुकालेका थिए। 

घटनाका प्रत्यक्षदर्शी तुइन चलाउने कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई सदरमुकाम ल्याएको हो।

शनिबार जिल्ला सदरमुकाम खलंगाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको थियो। टोलीले सोमबार प्रत्यक्षदर्शी तीनै जनालाई सदरमुकाम ल्याएको हो।

कल्याणले २१ वर्षदेखि मालघाटमा तुइन चलाउँदै आएका छन्। घटना भएको दिन अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जान गाउँबाट हिँडेका थिए। उनीहरूले एसएसबीका कारण जयसिंह तुइनबाट खसेको बताएका थिए।

जिल्ला सदरमुकाममा प्रत्यक्षदर्शीलाई जिल्ला अधिकारी प्रहरी कार्यालयमा बसाइएको थियो। 

उनीहरूलाई व्यासका जनप्रतिनिधि, पत्रकार, अधिकारकर्मी र पीडितका आफन्तलगायतले भेट्न खोजेका थिए। प्रहरीले नमानेपछि उनीहरूले प्रहरीलाई दबाब दिएका थिए। आफन्त, जनप्रतिनिधि र अधिकारकर्मीको चौतर्फी दबाबपछि प्रश्न सोध्न नपाइने सर्तमा प्रहरीले प्रत्यक्षदर्शीसँग भेट्न दिइएको छ।

'उनीहरू भयभीत देखिएका छन्,' व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले प्रत्यक्षदर्शी निकै डराएका र उनीहरूको मनमा त्रास रहेको बताए।

मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्याणसिंह धामी पनि डरैडरमा छन्। उनले निराश हुँदै भने, ‘घटना भएको दिन शुक्रबारदेखि लगातार फोन मात्रै आइरहेका छन्। के भयो, कसरी भयो, कतिले के सोध्छन्, कतिले के होस नै उडिसक्यो।’ 

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले उनीहरूसँग घटनाबारे बुझ्ने र बयान लिने बताइन्। गृहको छानबिन टोलीले प्रत्यक्षदर्शीसँग कुरा गर्ने उनले बताइन्। ​

प्रत्यक्षदर्शीलाई प्रहरीको सुरक्षा

खलङ्गा ल्याइएका तुइन घटनाका प्रत्यक्षदर्शी तीनै जनालाई प्रहरीले सुरक्षा दिने जनाएको छ। प्रत्यक्षदर्शी तीनै जना सोमबार रातिदेखि जिल्ला प्रहरी कार्यालयभित्रै बसेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूसँग केही सोधपुछ गरेको बताइएको छ।

तर, अहिले उनीहरूलाई बाहिर होटलमा बस्ने व्यवस्था गरिएको छ। बाहिर बस्ने बन्दोबस्त गरिए पनि सुरक्षाका लागि उनीहरूसँगै प्रहरी खटाइएको बताइएको छ। उनीहरू अहिले खलंगास्थित एक होटलमा बसेका छन्।

यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको छानबिन समिति पनि दार्चुला पुग्दै छ। टोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने तयारी रहेको जनाएको छ। उनीहरूसँग गृहको टोलीले बयान लिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.