|

काठमाडौं : देशमा यतिखेर सबैको ध्यान दार्चुला घटनातर्फ मोडिएको छ। जहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिँदा व्याँस गाउँपालिका–२ मालगाँउका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन्।

यो मामिलाले सडकदेखि सदनसम्म तताएको छ। राजनीतिक दलहरूले सडक संघर्ष गर्नेदेखि भारतीय दूतावासमा ध्यानकर्षण पत्र बुझाउने मात्र होइन, संसदमा समेत यो विषय जोडतोडका साथ उठाइरहेका छन्‌।

घटना घटाइएको चार दिन बितिसक्दा समेत सत्यतथ्य बाहिर आउन नसकेको भन्दै प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदहरूले समेत गृहमन्त्रीसँग जवाफ मागिरहेका छन्। 

छानबिन समितिको प्रतिवेदन नै कुर्नुपर्ने गृहमन्त्रीको जवाफ

प्रतिनिधिसभा बैठकमा मंगलबार सत्तापक्षकै सांसदहरूले समेत चासो राखेपछि गृहमन्त्री बालकृष्ण खाँडले दार्चुला घटनाबारे छानबिन समितिले जस्तो प्रतिवेदन ल्याउँछ-सोहीअनुसार अघि बढ्ने बताएका छन्‌।

​उता, घटनाका प्रत्यक्षदर्शीलाई बयान फेर्न एसएसबीले दबाब र लोभलालच दिएको खबर बाहिरिएको छ।

​​छानबिन समितिले त्यतिबेला पुल तर्न सफल भएकाहरू, पुल तर्न बाँकी रहेका, घाट नजिकका मानिसहरू, प्रत्यक्षदर्शी र स्थानीय सरकारका अधिकारीहरूसँग जानकारी लिएर प्रतिवेदन बनाउने विश्वास गृहमन्त्री खाँडले व्यक्त गरेका छन्‌। 

धामी बेपत्ता रहेको वा मृत्यु भएको भन्नेबारे छानबिन समितिको प्रतिवेदनपछि मात्रै थाहा हुने गृहमन्त्री खाँडको जवाफ छ। घटनास्थल विकट भएकाले समितिलाई सत्यतथ्य छानबिन निम्ति १० दिनजति दिन लाग्ने उनले बताएका छन्। 

एमालेका मागैमाग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने दार्चुला घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठनको माग गरेको छ।

संसदमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारबाही गर्नुपर्ने र मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन्। 

सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदा समेत सुनुवाइ नभएको भन्दै नेपाल सरकारले औपचारिक विरोध गर्न छोडेर प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर बसेको आरोपसमेत लगाए। 

उनले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारबाही हुनुपर्ने मागसमेत गरे। 

सडकदेखि दूतावासम्म

​देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनाको विरोधमा मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। मोर्चाको बागमती प्रदेश समितिले प्रदर्शन गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको युवा संगठनले भने दार्चुला घटनाबारेमा भारतीय दूतावासमा ध्यानकर्षण पत्र बुझाएको छ। युवा संगठनले विरोध प्रदर्शनसहित भारत सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही माग गरेको हो।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट पटकपटक नेपाली नागरिकहरू प्रताडित हुनु दुःखद, विडम्बनापूर्ण र आपत्तिजनक रहेको पत्रमा उल्लेख छ। 

समितिले बुधबारदेखि काम थाल्दै

यसबीच, दार्चुला घटना छानबिन गर्न सरकारद्वारा गठित समितिले बुधबार (आज) देखि काम थाल्ने भएको छ।

सोमबार काठमाडौंबाट गएको छानबिन समिति मंगलबार दार्चुला पुगेको र बुधबारबाटै काम थाल्ने बताइएको हो।

छानबिन समितिकी सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले घटनाका प्रत्यक्षदर्शी र तुइन चलाउने कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई सदरमुकाम झिकाइएको जानकारी दिएकी छिन्। 

प्रत्यक्षदर्शीले धामी तर्ने क्रममा बेपत्ता भएपछि भारतीय एसएसबीले डोरी फुकालेको बताएका छन्। व्याँस गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले प्रत्यक्षदर्शी निकै डराएका र उनीहरूको मनमा त्रास रहेको बताएका छन्। 

यद्यपी; खलङ्गा ल्याइएका तुइन घटनाका प्रत्यक्षदर्शी तीनै जनालाई प्रहरीले सुरक्षा दिने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.