सर्वसाधारणले भन्दा पनि नसुनेर कुटिरहे

|

जाजरकोट : भत्ता माग्दा जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीले सेवाग्राहीलाई मरणाशन्न हुनेगरी कुटेका छन्। भाइबैनीको भत्ता बुझन आएका सर्बे दमाइलाई वडाध्यक्षले  कुटपिट गरी डोरीले बाँधेर बन्धक बनाएका अवस्थामा प्रहरीले उद्धार गरेको हो।  

साउन १५ गते दिउसो पोषण भत्ता बुझन आएका सर्बेले वडासचिवसँग भत्ता माग्दा सचिवले भाइबैनी लिएर आएपछि मात्र भत्ता दिने बताएका थिए। सचिव र सर्बेबीच विवाद भएको थियो।

त्यही विवाद चल्दै गर्दा वडाध्यक्ष नेपालीले कार्यालय छाडेर आई सर्बेलाइ कुटपिट गरेका थिए। कुटपिट गरेर सर्बेलाइ डोरीले बाँधी कोठामा लिएर हुलेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए। 

हुलेको केही समयपछि इलाका प्रहरी कार्यालय पन्चाला दहमा वडाध्यक्ष नेपालीले खबरगरी आफू असुरक्षित भएको भन्दै प्रहरीको सहयोग मागेका थिए।

प्रहरी घटनास्थल नआउँदै अध्यक्ष नेपालीले सर्बेका बुवा रंर्गेलाई जबरजस्ती कागज गराएको प्रहरीले बताएको छ। प्रहरी घटनास्थलमा पुगेर सर्बेको हातमा बाँधिएको डोरी फुकाएर यस्तो अमानवीय गतिविधि किन गरेको भन्दै प्रश्न गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

घटनाबारे अहिलेसम्म प्रहरीमा जाहेरी नआएको र आएलगत्तै मुद्दा दर्ता गर्ने प्रहरीले बताएको छ। पीडित पक्षलाई अध्यक्ष नेपालीले दबाब दिई प्रहरीसम्म पुग्न नदिन अनेक प्रयास गरिरहेको बुझिएको छ। 

प्रहरी नआउँदै सर्बेका बुवा रंगेलाई दबाब दिई उल्टै सर्बेलाइ नै दोषी बनाएर कागज बनाइसकेपछि मात्र घटना भएको ठाउँ मजकोट वडा कर्यालयमा आफूहरू पुगेको प्रहरीले बताएको छ।

यसअघि अध्यक्ष नेपालीले जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वर बस्नेतलाई कार्यालय परिसरमै २०७७ चैत २८ गते मदिरा खाई युवालाई परिचालन गरी कुटपिट गरेका थिए।

सो उजुरीमाथि अहिले पनि जिल्ला प्रहरी कार्यालयमा छलफल चलिरहेको छ।

गत वर्ष युवासँगको झगडामा अध्यक्ष नेपाली कुटपिटमा परी घाइते भएका थिए। कुटिएका सर्बे नेपाली कांग्रेस निकट हुन्। प्रहरीले सर्बे कुटपिटको विषयमा कुनै प्रक्रिया नगरी उल्टै अध्यक्षको बचाऊ गर्दै अभिभावकलाई जिम्मा लगााएको थियो।

सर्बेमाथि कुटपिट हुँदै गर्दा भत्ता बुझ्न आएका सर्वसाधारणले कुटपिट नगर्न आग्रह गरेका थिए। तर अध्यक्ष नेपालीले सुने पनि नसुनेझैं गरी कुटिरहेका सर्वसाधारण बताउँछन्।

आफूले डोरीले बाँधेको र कुटेको अध्यक्ष नेपालीले स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.