महान जर्मन मनोवैज्ञानिक अब्राहम मास्लोले सन् १९४३ मा मानव आवश्यकताको सिद्धान्त प्रतिपादन गरेका थिए।
ओशो भन्छन्, ‘अब्राहम मास्लोले मानिसका आवश्यकताका श्रृंखला सिद्धान्तलाई जसरी प्रतिपादन गरेका थिए आजसम्म पनि मानिस त्यसमै अल्झेको छ।’
उनले प्रतिपादन गरेको आवश्यकताको सिद्धान्तसँगै योगको विज्ञान पनि जोडिएर आएको छ, त्यो चाहिँ छोडिदिएको हुन्छ मानिसले। जीवन सहज बनाउन र बाँच्न यी आधारभूत आवश्यकता पूरा नगरी मानिस अघि बढ्न पनि सक्दैन।
आवश्यकता र उद्देश्य अनगिन्ती भएकै कारण मानिस मेहनती हुन्छ। मेहनतको अन्तिम परिणाम भनेको उ सफल भएको देखाउनु पनि हो।
अब्राहम मास्लोले निम्नलिखित मान्यताहरूमा आधारित भएर मानिसका आवश्यकता श्रृखंला सिद्धान्त उल्लेख गरेका छन्।
शारीरिक-शरीरसँग जोडिएर आउने सबै किसिमका आवश्यकता यसअन्तर्गत पर्दछन् । गाँस, बास, कपास, परिश्रम, विश्राम, मनोरञ्जन, शारीरिक स्वास्थ्य र शारीरिक भोगको आवश्यकता आदि।
सुरक्षा-जीवन सहज र सुरक्षित राख्न रोजगारको सुरक्षा, शरीरको सुरक्षा र जीवन सुरक्षा आदि पर्दछन्।
सामाजिक-मानिस सामाजिक प्राणी भएको नाताले समाजमा या सामाजिक संगठनसँग जोडिएर आउने कर्तव्य, उत्तरदायित्त्व, समाजबाट पाउने प्रेम, सहयोग, मेलमिलाप, सामाजिक न्याय, भाइचारा र मित्रताजस्ता पक्ष यससँग जोडिएर आउँछन्।
आत्मसम्मान-घर, परिवार तथा राष्ट्रले मर्यादामा राखोस्, ओहदा, पद, इज्जत तथा प्रतिष्ठा मिलोस्। स्वतन्त्रता मिलोस्, प्रशंसा मिलोस्, हाकिमद्वारा मान्यता तथा पहिचान मिलोस् आदि चाहना यसअन्तर्गत पर्दछन्।
आत्मसन्तुष्टि-सिर्जनशील तथा चुनौतीपूर्ण काम गरेर प्राप्त हुने सन्तुष्टिको अपेक्षा। निर्णयमा सहभागी हुन पाउने तथा कार्यमा स्वायत्तताको अपेक्षा आदि यस आवश्यकताभित्र पर्दछन्। यिनै आवश्यकता पूर्ति गर्न मानिसले जीवनभर संघर्ष गरेको हुन्छ।
तर, यसले मात्र सन्तुष्टि र सफल भएको अनुभूति दिएको छ त?
शरीर र जीवनभरका कर्मका परिणामले मानिसलाई सन्तुष्टि दिन सकेको पाइएन। त्यसैले जीवनको अन्तिम क्षणसम्म सफलता र सन्तुष्टिको लागि मानिसले प्रयास गरिरह्यो र गरिरहनेछ। मानिस विकास र विस्तार चाहन्छ। जब आफ्नो जीवनमा विकास या उन्नति भएको महसुस गर्दछ। त्यसैलाई सफलताको परिभाषामा राखिएको पाइन्छ।
सायद अहिलेसम्म भौतिक विकास र सुविधायुक्त जीवनलाई सफलता मानेको छ मानिसले। चाहे अनुसार सफलता नमिलेको, अपूणर्ता र असन्तुष्टि कायमै रहेको महसुस गर्नु मानिसको सामान्य स्वभाव मानिन्छ। मानौँ-असन्तुष्टि मानिसको स्वभाव हो ।
यही असन्तुष्टिले कर्म गर्ने उत्प्रेरणा पनि दिन्छ। तर, कहिलेसम्म असन्तुष्ट भइरहने? यतातिर कति प्रतिशत मानिसको ध्यान गएको होला?
मनोवैज्ञानिक मास्लोले प्रतिपादन गरेका आवश्यकताहरू चेतनाका सात तलसँग सम्बन्धित छन्। चेतनाका आठ तल भएजस्तै योगका पनि आठ तल छन्।
१. शरीरसँग सम्बन्ध राख्ने कर्म र भौतिक आवश्यकता जुन मूलाधार चक्रसँग सम्बन्ध राख्दछ त्यो कर्मयोग अन्तर्गत पर्दछ। आफूले गर्ने कर्मसँगै स्वयंप्रतिको बोध नै कर्मयोग हो।
२. भोग, सम्भोगको इच्छा जसले इन्द्रीयमार्फत स्वाधीष्ठान चक्रसँग सम्बन्ध राख्दछ-त्यो तन्त्रयोग अन्तर्गत पर्दछ। भोगको साथमा स्वयंप्रतिको बोध तन्त्रयोग हो।
३. सुरक्षाको आवश्यकता जुन प्राणमार्फत मणिपुर चक्रसँग सम्बन्ध राख्दछ-त्यो हठयोग अन्तर्गत पर्दछ। स्वाससँगै स्वयं हुनुको बोध नै हठयोग हो।
४. प्रेमको आकांक्षा जुन हृदयसँग सम्बन्ध राख्दछ र अनाहत चक्रसँग सम्बन्धित छ-त्यो भक्तियोग अन्तर्गत पर्दछ। प्रेम र स्वयंप्रतिको बोध नै भक्तियोग हो।
५. मित्रताको आवश्यकता जुन विचार, धारणा, मित्रता र कल्पनासँग जोडिएर आएको हुन्छ र विशुद्ध चक्रसँग सम्बन्धित छ-त्यो ज्ञानयोगअन्तर्गत पर्दछ। विचार, मित्रता र कल्पनाको साथमा स्वयंप्रतिको बोध ज्ञानयोग हो।
६. सम्मानको आवश्यकता जुन अस्मिता, ध्यान र साक्षीसँग जोडिएर आएको हुन्छ अनि आज्ञा चक्रसँग सम्बन्धित छ-त्यो ध्यानयोग अन्तर्गत पर्दछ। आफ्नो अस्मिताप्रतिको बोध ध्यानयोग हो।
७. स्व-यथार्थ बोधको आवश्यकता जुन आत्मासँग जोडिएर आएको हुन्छ र सहस्रार चक्रसँग सम्बन्धित छ-त्यो सांख्ययोग अन्तर्गत पर्दछ। कल्पनारहित, निर्विचार, विशुद्द बोधको अवस्था सांख्ययोग हो।
८. समाधि, सुमिरनको आवश्यकता जुन परमात्माको अनुभूतिसँग जोडिएर आएको हुन्छ र सोम चक्रसँग सम्बन्धित छ त्यो सहजयोगअन्तर्गत पर्दछ। अस्तित्व या परमात्मालाई नाद, नूर, ऊर्जा, उमंग, अमृत, ज्ञान, चैतन्य आदिमार्फत बोध गर्दै स्वयंप्रतिको बोध सहजयोग हो।
सफलताको अपेक्षा या कर्म गर्ने प्रेरणा
जीवन प्राप्त गर्नुलाई नै सफलता मान्ने या जे कर्म गरिन्छ त्यसबाट प्राप्त परिणाम आफ्नो अपेक्षा अनुसार आउनुलाई सफलता मान्ने? सामान्य अर्थमा हामीलाई त्यस्तै संस्कार सिकाइएको छ कि-तिम्रो कर्मको नतिजा तिमीले सोचे अनुरूप आयो भने तिम्रो सफलता हो।
ओशो भन्नुहुन्छ-‘मनुष्य भएर जन्म प्राप्त गर्नु नै तिम्रो सफलता हो। जीवन प्राप्त भएपछि पुरूषार्थ गर्ने प्रेरणा जाग्नु तिम्रो स्वभाव र गुणवत्ता हो।’
भागवत गीतामा श्रीकृष्णले उल्लेख गर्न खोज्नुभएको सार सूत्र नै कर्म गर्ने प्रेरणामा आधारित छ।
गीतामा उल्लेखित १८ अध्यायका ७०० श्लोकमा जीवनमा सफलता कसरी प्राप्त गर्ने सम्बन्धमा होइन कि पाएको जीवनलाई कसरी व्यवस्थित गर्ने त्यसका सूत्रहरू उल्लेख छन्।
कर्मण्येवाधिकारस्ते, मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
कृष्णले अर्जुनलाई-‘हे अर्जुन ! कर्ममा तिम्रो अधिकार छ। कर्म गर्नु तिम्रो दायित्त्व पनि हो। तर, फलमा तिम्रो अधिकार छैन भन्नुको तात्पर्य पनि कर्म गरेपछि जे फल आउँछ-त्यो कर्म अनुसार नै आउँछ। अब, मेरो अपेक्षा अनुसार आओस् यो अधिकार छैन’ भन्न खोज्नुभएको नै हो।
त्यसैले त कृष्णले पटक पटक सम्झाउनुभएको छ-कर्म गरेपछि परिणाम त आइहाल्छ नि त्यसलाई सफलता र असफलता मापन गर्ने तिम्रो मस्तिष्क हो। सफलताको होइन समस्या समाधानको सूत्र गीताका श्लोकमा उल्लेख गरिएका छन्।
बाँकी अर्थ लगाउने हाम्रो संस्कार अनुसार पाएको हाम्रो मस्तिष्कको खेल हो।
सफलताको लागि संकल्प
कतिपय अवस्थामा हामी संकल्प लिन र निर्णय लिनमा ढिलो गर्छौँ। ढिलाईले गर्दा धेरै अवसर हाम्रो हातबाट फुस्किसकेका हुन्छन्।
किङ्ग गार्ड नामका व्यक्ति थिए-जो निर्णय लिनमा समय लिने र हरेक कुराको विकल्प खोजिरहने स्वभावका थिए। मोटर लिएर कतै गइरहेका छन् गन्तव्यमा नपुग्दै बीच दोबाटोमा टक्क रोकिएर कता जाउँ सोच्न थाल्थे रे, मन चञ्चल हुन्थ्यो रे!
युवा उमेरमा जोय नामकी एक जना केटी साथीले उनलाई प्रेम प्रस्ताव गरिन् र बिहेको लागि अनुरोध गरिन्। किङ्ग गार्डले भने-म सोचेर जवाफ दिन्छु।
उनी अब विवाह गर्नु ठीक हो या बेठीक? किताबहरू पढेर अनुसन्धान गर्न थाले। किताबका ठेली जम्मा हुन थाले। विवाह गर्नु ठीक र बेठीक दुबै पक्षमा बराबर। अब उनले गाउँको सानो पुस्तकालयमा उपलब्ध किताबहरू पढिसके। तर, निर्णय लिन सकेनन्।
उनी शहर पसे, ठूलो विश्वविद्यालयको ठूलो पुस्तकालयका किताबहरू अध्ययन गर्न थाले। दिनहुँ पुस्तकालय जान्थे अध्ययन गर्थे, नोट बनाउँथे। वर्षहरू बिते। तर, उनले निर्णय लिन सकेनन्। अध्ययनमै समय बिताइरहे।
विश्वविद्यालयमा दैनिक सरसफाइमा जुट्ने एक महिलाले उनको यो क्रियाकलाप याद गरिरहेकी थिइन्। एक दिन उनले सोध्ने हिम्मत गरिन् र भनिन्, ‘सर! वर्षौं बिते, सधैँ हजुरलाई यही अवस्थामा देख्छु। अनुहारमा खुसी पनि छैन। आखिर के अनुसन्धान गर्दै हुनुहुन्छ तपाईं, के पढ्नुहुन्छ सधैँ?’
किङ्ग गार्डले लामो स्वास फेरे र भने, ‘मलाई विवाहको प्रस्ताव आएको छ तर, मैले निर्णय लिन नसकेर, विवाह गर्नु ठीक या बेठीक अध्ययन गरिरहेछु। तर, ठीक भन्ने विचारलाई जित्ने कुनै विचार पाइनँ। कसैले सही भनेर आफ्नो अनुभव लेखेका छन् कसैले विवाह नगर्नु नै सही भनेका छन्। के गर्ने! गर्ने म यस्तै अलमलमा छु।’
उनले थपिन्, ‘त्यसमाथि पनि विवाहको कुरा त दुई जनाको विश्वास, प्रेम र समर्पणको कुरा हो। यसलाई राम्रो बनाउने प्रयास गरे राम्रोसँग चल्छ जीवन। एक अर्कामा विश्वास, प्रेम र समर्पण भएन भने बीचमा टुट्न पनि सक्छ। यो पनि अध्ययनबाट पुष्टि हुने कुरा हो र सर?’
किङ्ग गार्ड झल्याँस्स भए। भने, ‘तिमीले भनेको सही हो अब म अहिले नै गएर मलाई प्रस्ताव गर्ने महिलासँग विवाहको कुरा अगाडि बढाउँछु।’
उनी आफ्नो घर फर्के र सीधै ती महिलाको घर पुगेर ढोकामा घण्टी बजाए। एक तिल चामल झैँ कपाल फुलेकी महिला बाहिर निस्किन् र सोधिन्, ‘कसलाई खोज्नुभयो?’ उनले भने, ‘मैले मेरी साथी जोयालाई खोजेको।’
ती महिलाले सोधिन्, ‘के काम छ उनीसँग?’
किङ्ग गार्डले भने., ‘उनले मलाई विवाहको प्रस्ताव राखेकी थिइन्, अब मैले विवाह गर्ने निर्णय गरेँ। त्यही सूचना दिन आएको।’ ती महिलाले हाँस्दै भनिन्, ‘किङ्ग गार्ड, त्यो जोया म नै हूँ, मेरो विवाह भैसक्यो र यो बगैँचामा जुन रमझम तपाईं देखिरहनु भएको छ नि! आज मेरो नातिको जन्मदिन मनाउने तयारीमा हामी परिवार जम्मा भएका छौँ।’
किङ्ग गार्ड अवाक भएर फर्के।
समयमा निर्णय लिनु, आफ्नो विवेकको प्रयोग गर्नु र व्यवहारिक हुनु आफैँमा सफलताको सूत्र हो। जीवनमा सफलता र संकल्पको सूत्रमा चल्ने अर्को बोध कथाको प्रसंगले पनि हामीलाई त्यसरी नै ज्ञान दिन्छ।
५ वर्षको बालकलाई गुरुकुलमा भर्ना गर्ने निर्णय गरेर अभिभावकले ३ वटा शर्त राखेका हुन्छन्।
घरबाट बिदा भएर निस्केपछि घरतिर फर्केर नहेर्नु, आँखामा आँसु ननिकाल्नु र गुरुकुल पुगेपछि गुरुले आँखामा पट्टी बाँधिदिन्छन्, उनले आँखा खोल्ने इशारा नगरेसम्म आँखा नखोल्नु। यो हाम्रो कुलको नियम हो यसलाई तोडेर घर फर्किन पाइँदैन। बुबाआमाले टिकाटालो गरेर बिदाइ गरे।
सवारी चालकले उनलाई रथमा राखेर हिँडे। उनले सम्झाए, ‘बाबु पछाडि फर्केर नहेर्नु है!’
पाँच वर्षका बालक एकपटक उनलाई पछि फर्केर बुबाआमालाई हेर्ने इच्छा त पक्कै थियो होला। उनले मन बाँधेर बसे। आँखामा आँसु पनि त पक्कै आउन खोज्यो होला। तर, रोकेर राखे।
जब गुरुकुल पुगे, सवारी चालकले उनलाई गेटमा ओराले। सम्झाए, ‘बाबु नियम नतोडी अघि बढ्नु है! अब म फर्किन्छु।’
गुरु आए र उनको आँखामा पट्टी बाँधिदिए र भने, ‘१५ मिनेट पछि म आउँछु, अनिमात्र आँखा खोल्नु है!’
बालक बसिराखे, वरपर बालबालिकाको हल्ला, कतिले उनलाई हेरेर जिस्क्याए, कतिले नाम के हो भनी सोध्न थाले। बन्द आँखा! नचिनेकोसँग कसरी बोल्नु?
लामखुट्टेले टोकिरहेको थियो। तैपनि उनले सहेर बसे।
१५ मिनेटपछि गुरु आए, उनको आँखा खोलिदिए र भने, ‘तिमी परीक्षामा पास भयौ, अब तिम्रो भर्ना हुन्छ र यहाँको नियम अनुसार चल्नुपर्छ है!’
ती बालक अरू कोही नभएर दलाइ लामा थिए भनिन्छ र उनले भनेका छन्, ‘चुनौतीलाई स्वीकार्दै संकल्पसाथ अघि बढेका कारण आज म यो स्थानमा छु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।