|

काठमाडौं :  कोरोना प्रभावसँगै अघिल्लो वर्षझैं यो वर्ष पनि गाईजात्रा टेलिभिजनमा आउने भएको छ।

गत वर्ष  कोभिड-१९ को प्रभावले गाईजात्रा हुने/नहुने द्विविधा थियो। तर, जात्रा टेलिभिजनमार्फत दर्शकबीच ल्याएका कलाकार मनोज गजुरेललगायत समूहले यस वर्ष 'अझै पनि कोरोना कहर बाँकी छ। तर पनि हँसाउने रहर बाँकी छ- ०७८ सालको गाईजात्रा' ल्याउने तयारी गरिरहेका छन्।

कोरोना नदेखिएको भए सार्वजनिक रुपमै दर्शकबीच गाईजात्रा देखाउने गरिन्थ्यो। वर्षदेखि काँचको पर्दाबाट गाईजात्रा देखाउन थालिएको हो। यही भदौ १ देखि ७ गतेसम्म एपी वान टेलिभिजनमा गाईजात्रा देखाइने कलाकार सुबोध गौतमले जानकारी दिए। उक्त गाईजात्रामा २४ जनाभन्दा बढी कलाकार एकैसाथ पर्दामा देखिन लागेका छन्। 

२०३७ सालदेखि गाईजात्रा गरिरहेका शैलेन्द्र सिंखडादेखि अहिलेका चर्चित कमेडियन सुमन कार्कीसम्मले प्रहसन गर्ने गौतमले जानकारी दिए।

'३७ सालमा शैलेन्द्र सिंखडा, ४७ सालदेखिका सुरेन्द्र केसी,५२ सालदेखि  गजुरेल, ६५ सालदेखिका राजा राजेन्द्र, ६६ देखिका सुबोध गौतम,  लगायतले  प्रस्तुति दिनेछन्।

गाईजात्रामा गायक पशुपति शर्मा कलाकार तथा प्रस्तोता शिवशंकर रिजाल 'जोगिन्दर', रवि डंगोल, यमन श्रेष्ठ,  साहित्यकार चट्याङ मास्टर र लक्ष्मण गाम्नागेले पनि प्रस्तुति दिने कार्यक्रम रहेको बताइएको छ। तर, यस वर्ष महजोडी भने प्रहसनमा देखिने छैनन्।

भदौ १ देखि ७ गतेसम्म हुने 

बेगम नेपाली (भट्भटे माइलो) र रियासा दहाल-हिरोइनको अडिसन,  दीपक आचार्य (काकु),सन्देश लामिछाने (बटारे) र सितादेवी तिमिल्सिना-पार्वतीको बिहे, रवि डङ्गोल र पूर्ण थापा-सके पछार नसके लम्पसार, शिव शंकर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुलासाग)-कुस्ती हुनेछ। यस्तै, प्यारोडीमा किरण केसी, यमन श्रेष्ठ,पशुपति शर्मा र राजा राजेन्द्र रहनेछन्।

क्यारिकेचरमा सुमन कार्कीले - प्रेस मिट (हाननिय ज्यु बन्दै) हुनेछन् भने प्रभात लामा-स्वच्छ छविको प्रधानमन्त्रीको प्रहसन गर्नेछन्। ​स्टन्ड अपमा भने राजा राजेन्द्र, सुन्दर खनाल, सजन श्रेष्ठ , खबपु, हिमेस पन्त, राधिका कँडेल, कल्पना खतिवडा रहनेछन्।

कविता वाचनमा चट्याङ मास्टर, सैलेन्द्र सिम्खडा, लक्ष्मण गाम्नागे, जयन्ता पोखरेल, चक्र दवाडी ,टेक बहादुर कोइराला,सुरज भिरखोइरे, अर्जुन दहालले गर्नेछन्।

मोडलहरू रुबिना अधिकारी र प्रतीक्षा खतिवडाले नृत्य देखाउँनेछन्।

गजुरेल बोरिस जोन्सनको भेषमा

हास्यव्यंग्यलाई रोचक तरिकाले प्रस्तुत गर्न रूचाउने गजुरेल गाईजात्राका मुख्य आकर्षकका केन्द्र हुन्। उनले विभिन्न क्षेत्रका व्यक्तिका क्यारिकेचरमार्फत दर्शकलाई मनोरन्जन मात्र होइन सन्देश दिइरहेका छन्। 

गत वर्ष उनी विश्व स्वास्थ्य संगठनका प्रमुख (टेड्रोस एड्हानोम गेहब्रेयसस), सत्तारूढ दल नेकपाका दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत पाँच अवतारमा देखिएका थिए। यसपालि भने उनी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवतारमा देखिँदै छन्।

 रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री शेर बहादुर देउवा र जोन्सनको वार्तालाप र पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको क्यारिकेचर गर्ने गजुरेलले बताए।  गजुरेलले भने, ' यसपालि फरक तरिकाले रोचक ढंगले प्रस्तुति दिने प्रयासमा छु।'

पाँच वटा प्रहसन, जोखिम लिँदै छु : गौतम

हास्यव्यंग्य विशुद्ध मनोरन्जन मात्र नभएर  सन्देशमूलक हुनुपर्ने बताउने गौतम यो साल पनि पाँच वटा फरक पात्रबारे गाईजात्रा देखाउँदै छन्। क्यारिकेचरमार्फत समाजका कुरीति विसंगतिविरुद्ध आवाज उठाउने गौतमले पण्डितको प्रहसन गर्नेछन्।

अन्य चार प्रहसनचाहिँ चार प्रख्यात व्यक्तिको चरित्र निर्वाह गर्नेछन्। उनले सञ्चारकर्मी रवि लामिछाने, राष्ट्रिय सभामा सांसद रामनारायण बिडारी, नेता राजेन्द्र महतो र आफूलाई मुकुन्दल्याण्डको राष्ट्रपति बताउने मुकुन्द घिमिरेको चरित्रलाई 'बांगा कुरा बांगैसँग' (कवि छामिलानेदेखि 'हुकुम द प्रसाद चिमिरे'सम्म हुनेछन्। भन्छन्, 'यी मेरा लागि नयाँ पात्र हुन्। जोखिम लिने प्रयास हो।'

जोगिन्दरको ‘ओम बकम्फुसाय नम’

कलाकार शिव शंकर रिजाल 'जोगिन्दर' पनि उक्त गाईजात्रामा आउँदैछन्। तर, उनले दर्शकलाई आफ्नो नयाँ कोसेली सार्वजनिक गरिसकेका छन्। शंकरले तयार पारेको ‘ओम बकम्फुसाय नम’ नामक एल्मब केही दिनअघि सार्वजनिक गरिसकेका छन्।

उनले देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृतिमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन्। गाईजात्रे कोसेलीमा एउटा प्यारोडी गीत र प्रहसन समावेश गरिएको छ।

उनको प्रहसनको केन्द्रमा भने तीन वर्षभन्दा बढी सरकार चलाएर बाहिरिएका केपी शर्मा ओलीलक्षित छ। दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो। गत वर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए।

कमल गाउँलेको गाईजात्रा ‘बाई लप यु केपी बा’

नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा र गायन तथा लेखन क्षेत्रमा स्थापित नाम हो कमल गाउँले। उनले पनि यो वर्षका लागि ‘बाई लप यु केपी बा’ नामको गाईजात्रा ल्याएका छन्।

गाईजात्रामार्फत उनले सरकारको पनि कडा व्यङ्ग्य पनि गरेका छन्।

राजनीतिमा देखिएका नकारात्मक कुरालाई उनले जस्ताको तस्तै देखाइदिएका छन्। प्रधानमन्त्रीले राष्ट्रपतिले सपथ खाँदा ‘त्यो पर्दैन’ भनेर भनेको शब्दलाई गाउँलेले निकै नै चोटीलोरुपमा प्रस्तुत गरेका थिए। 

नेपालका बिग्रिएका कम्युनिस्टलाई अब 'कमरेड' होइन ‘कम रेट’ (कम मूल्य भएको) भन्नुपर्ने उनको सुझाव रहेको छ। यसपालिको गाईजात्रामा गाउँलेले छोटा कपडा लाएर हिँड्ने महिलाहरूलाई पनि व्यंग्य गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.