|

नेपाली कांग्रेसले कानूनी वैधता सकिनैलाग्दा गर्न लागेको पार्टी महाधिवेशन क्रियाशील सदस्यता विवादले अन्योलमा परेको छ।

क्रियाशील सदस्यता विवाद चुलिएसँगै महाधिवेशन निम्ति पूर्व निर्धारित कार्यतालिका प्रभावित भइरहेको छ। महाधिवेशनको कार्यतालिका अन्तर्गत यही साउन १२ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्ने भनिएको थियो, जुन हुन सकेन। भदौ १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन पनि प्रभावित हुने देखिएको छ।

रमेश लेखक नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले विवाद रहेका जिल्ला बाहेकको विवरण मात्रै नेतृत्वलाई बुझाएपछि शीर्ष नेताले विवाद समाधानको प्रयास गरेपनि समस्या सुल्झन सकेको छैन।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा केही शीर्ष नेताहरू क्रियाशील सदस्यताको विवाद समाधानका लागि केही दिनदेखि छलफलमा भएपनि समाधान उन्मुख देखिएको छैन।

समितिले डेढ महिना लगाएर काम गर्दा पनि धनुषा, सर्लाही, बारा र सप्तरीमा जिल्लाभरकै विवाद र सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाण्डौमा केही वडाहरूको विवाद सुल्झाउन नसकेकाले समाधानको जिम्मा नेतृत्वलाई सुम्पिएको छ।

समितिले सुझावसहित साढे आठ लाख क्रियाशील सदस्यको विवरण नेतृत्वलाई बुझाएको थियो।

शीर्ष नेताले समितिको प्रतिवदेन पाएको एक हप्तासम्म औपचारिक,अनौपचारिक छलफल गरेर पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंगो लगाउने सहमति मात्रै गरेका छन्। काँग्रेसको आगामी चौधौँ महाधिवेशन अनिश्चितजस्तै बनेको भनिरहेको बेला शीर्ष नेताले विवाद मिलाउन तदारुकता देखाएका छन्।

पार्टीको क्रियाशील सदस्यताको विवादको कारण महाधिवेशन प्रभावित बनेपछि शीर्ष नेताले केही दिनदेखि समस्या सुल्झाउने प्रयत्न गरिरहेका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल  र नेता कृष्णप्रसाद सिटौलाले आउँदो दुई/तीन दिनभित्र विवादित जिल्लाको समस्या समाधान गरेर महाधिवेशन प्रक्रियामा जाने तयारीमा छन्।

पार्टीका पूर्व उपसभापति एवम् शीर्ष नेता गोपालमान श्रेष्ठले नेतृत्व विवाद मिलाउन खटिरहेको जानकारी दिए। सभापति देउवासहित शीर्ष नेताहरूले छलफल गरिरहेको र केही दिनभित्रै समाधान निस्कने उनको भनाइ छ।

यस्तै, क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेल पनि आफूहरूले छिनोफानो गर्न नसकेको जिल्लाको विवाद समाधान नेतृत्वले गर्ने गरी गृहकार्य गरिरहेको जिकिर गरेका छन्।

विवाद भएका केही जिल्लाको विवाद केही दिनमा समाधान हुने उनले बताए। कांग्रेसमा शीर्ष नेताले युवालाई गुटमा लाग्न प्रेरित गरेको र युवाले पनि अघिल्लो पुस्ताको गुटलाई मलजल गर्न तयार देखिएकाले क्रियाशील सदस्यता विवाद देखिएको हो।

केन्द्रको सिको गरेर जिल्ला तहका नेता कार्यकर्ता पनि गुटको फेरो समाउँदै आरोप प्रत्यारोपमा रमाउन भन्दामाथि उठ्न सकेको देखिँदैन। क्रियाशील सदस्यता विवाद पनि यसैको सेरोफेरोमा केन्द्रीत छ।

विशेषगरी संस्थापन समूहले एकलौटी ढंगले सदस्यता वितरण गर्न खोजेपछि विवाद भएको हो। धेरै विवाद देखिएको मध्येको जिल्ला बाराका सभापति जयचन्द्र चौरसिया संस्थापन इतर समूहविरुद्ध उत्रिए।

उनले संस्थापन इतर समूहले धाँधली गरेको आरोप लगाए। संस्थापन पक्षले मान्यता दिएको क्रियाशील सदस्यतालाई संस्थापन इतर समूहले विश्वास नगरेकोले विवाद बढेको उनको भनाइ छ। 

उता सिन्धुपाल्चोकका सभापति विकास लामाले संस्थापन पक्षले आफूलाई समेत जानकारी नदिइ सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएका छन्। जिल्लामा वडा तहदेखि सिफारिस नभई मनपरी ढंगले सिधै सदस्यता बितरण गर्दा संस्थापन समूहका निर्णयमा विरोध गर्दै आएको उनको भनाइ छ।

बीच बाटोबाट घुसाइएका र शीर्ष नेताको आदेशमा बनाइएका सदस्य मान्य नहुने उनको अडान छ। १३ औँ अधिवेशन जिल्लामा ८ हजार सदस्य रहेकोमा अहिले बढेर साढे १३ हजार क्रियाशील सदस्य पुगेका छन्।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर-१ का ८ वटा वडामा धेरै विवाद देखिएको छ। नेताले आफ्नो मतदाता आफैँ छान्ने र कार्यकर्ता पनि नेताको पुच्छर भएर हिँड्ने यो अवस्था खारेज नभएसम्म विवाद कायमै रहने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको बुझाइ छ।

पार्टीको क्रियाशील सदस्यता छान्ने जिम्मा नेतृत्वले गर्दै आएकोमा यसको दुरुपयोग भएकाले सच्चिएर अघि बढ्न उनले सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.