|

काठमाडौं : ‘रेडियो नेपालमा सांगीतिक कार्यक्रम फूलबारी प्रसारण हुन्छ। तपाईंले सुन्नुभएको छ?’ साथीले भने।

‘हो र? अब सुन्छु,’ धीरेन्द्र प्रेमर्षि बोले।

'तपाईं त गीत गाइरहनुहुन्छ। फूलबारीमा आफ्नो मातृभाषाको गीत पनि रेकर्ड गर्नुस्‌ न! ,’ सहकर्मी बोले।

मिथिला क्षेत्र अन्तर्गतको सिरहामा जन्मिएका प्रेमर्षिलाई जागिरे जिन्दगीले हुम्ला पुर्‍याएको थियो। फरक भूगोलमा उनका सहकर्मीले उनकै मातृभाषाबारे प्रसंग निकालेपछि मैथिलीबारे खोजी गर्न मन लाग्यो। 

त्यस अघिसम्म फूलबारी कार्यक्रम नसुनेका प्रेमर्षिले रेडियोको बन्दोबस्त गरे। उक्त कार्यक्रममा विभिन्न भाषामा गीत प्रसारण हुन्थे। उनले एकदिन मैथिली भाषाको गीत सुने।

त्यो गीत उनलाई फरक स्वादको लाग्यो। त्यो भन्दा बढी आफ्नो लाग्यो। मानौँ-कसैले महत्वसाथ आफ्नै आवाज प्रसारण गरिरहेछ। भाषाप्रति सम्मोहन बढ्यो।

हुम्लामा आफ्नै मातृभाषाबाट गीत लेख्न सिकाउने कोही थिएनन्। उनले रेडियोमा बज्ने गीतलाई नै गुरु माने। अनि शुरू गरे मैथिली भाषामा गीत सिर्जना।

'मलाई आफ्नै भाषाले यसरी तान्छ भन्ने कुरा कल्पना बाहिरको कुरा थियो। जागिरे जिन्दगीमा पनि मैले गीत सिर्जना गरेँ। अनि रेडियो नेपालमा आएर आफ्नै स्वरमा मैथिली गीत रेकर्ड गरेँ,’ उनी भन्छन्, 'मैथिली क्षेत्रको मान्छे फरक भूगोलमा पुगेपछि मैथिलीप्रति मोह बढेको हो।’

यो घटना वि.सं.२०४३ तिरको थियो।

उक्त गीतलाई खुबै मन पराइयो। मैथिली भाषाप्रति थप लगाव बढ्यो। नशामा आफ्नै भाषाको लहर चल्यो।

‘म आफ्नै रहरको डोरीले संगीतकार बने। एउटा गीतले मलाई थप गीत लेख्न रहर जन्मायो। अनि म मैथिली गायक बनेँ,’ प्रेमर्षिले भने।

वि.सं. २०४४ सालमा नै उनले हुम्लामा नै नाटक मञ्‍चन गरे।आइएस्सी कृषि गरेका उनले  मैथिली भाषामा नै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरे।

अहिलेसम्म उनले १२ वटा मैथिली गीति एल्बममा उनले स्वर भरेका छन्।

उनले गायन र साहित्य सिर्जनामात्र गरेनन्, रेडियोमा नेपाली हिन्दी र मैथिलीमा समाचार वाचन गरे। अहिले उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ छन्। 

यात्रा क्रममा उतारचढाव पनि भोगे। सफलता र असफलताका कथा छन् उनीसँग।

उनले एउटा काम गर्दा फरक तरिका र माध्यम प्रयोग गरे। उनले पनि गीत गाए। गाउँदा सबै विषय समावेश गर्न सकेनन्। लेखे। समाचार पढे। समाचारको एउटा सीमाभित्र पर्न नसक्ने विषयलाई साहित्यमार्फत अभिव्यक्त गरे।

साहित्यका विधाभित्र पर्न नसकेका कुरा सामाजिक जीवन बाँच्दा प्रयोग गरे। तर, जे गरे-समयको अधिकतम प्रयोग गरे। उनी केवल एउटा सीमित घेरामा बाँधिएनन्।​ उनले मैथिली भाषा संस्कृतिसँग यात्रा गरे, गायक तथा सर्जकको परिचय बनाए। रेडियोमा मैथिली, नेपाली र हिन्दी भाषामा समाचारवाचन र लेखकको रूपमा यात्रा गरे। पत्रकारको परिचय बनाए।

राज्यको खराब प्रवृत्तिविरुद्ध आवाज उठाए। आलोचकको परिचय बनाए। नाटकको लगाव थियो। नाट्यकर्मी बने। फरक यात्रामा उनले फरक परिचय निर्माण गरे। तर, प्रेमर्षि आफूलाई केवल यात्री मान्छन्।

जबसम्म सामाजिक पाटा बुझ्दैनौँ। हामीले हाम्रा बाटो पत्ता लगाउन सक्दैनौँ। जीवनमा सकारात्मक पाटामा आफूलाई अब्बल बनाउने हो भने यात्रा जरूरी छ। यात्रा जीवनको एक हिस्सा हो।

यात्राले समाजको चरित्र, मनोविज्ञान, संस्कार, संस्कृति र सामाजिक परिवेशलाई नजिकबाट बुझ्न सकिने उनी बुझाइ छ। जो घुम्छ-उसले जीवन बुझ्छ, समाज बुझ्छ।जबसम्म मान्छेले समाज र देश घुम्दैन।

‘यो दुनियाँको सबैभन्दा दु:खी मान्छे म नै हुँ भन्ने लाग्छ। सुखी पनि म नै छु भन्ने भ्रममा बाँच्छ। यो भ्रम भन्ने कुरा सबैभन्दा खतरनाक हो। यो खतराबाट मुक्त हुन यात्रा गर्नुपर्छ,’ प्रेमर्षि यात्राको महत्वबारे बोल्छन्, ‘जबसम्म सामाजिक पाटा बुझ्दैनौँ। हामीले हाम्रा बाटो पत्ता लगाउन सक्दैनौँ। जीवनमा सकारात्मक पाटामा आफूलाई अब्बल बनाउने हो भने यात्रा जरूरी छ। यात्रा जीवनको एक हिस्सा हो।’

‘एउटा मान्छे धेरै कुराको सोचले बन्ने हो। सोच विकास गर्न श्रम गर्नुपर्थ्यो। अध्ययन गर्नुपर्थ्यो। यात्रा गर्नुपर्थ्यो। सामाजिक जीवन बाँच्नुपर्थ्यो। अभ्यास हुनुपर्थ्यो,’ उनी भन्छन्, ‘अचेल भने मेरा गतिविधिमा केही सुस्तता छाएको छ। सीमित घेरामा मात्र म सीमित छु। तर, मैथिली भाषा र सभ्यताको उत्थानमा नै सक्रिय नै छु।’

उनी आफैँ पनि आफूलाई छरिएको बताउँछन्। जीवनमा छरिएर जानुले उनी आफू फैलिएपनि उचाई भने लिन नसकेको उनी सुनाउँछन्। तर, जे काम गरेपनि ग्लानि नभएको बताउँछन्।

…अनि भेट मातृभाषासँग

हुम्लाको प्राकृतिक सौन्दर्य र अभावग्रस्त जिन्दगी, यो बीचको 'कन्ट्रास्ट'ले कतै न कतै उनलाई विशेष प्रभाव पारेको थियो।

नेपाली भाषामा शुरूदेखि नै पकड थियो। जब उनी हुम्लाको बसाइ सकेर जनकपुर सरूवा भए-त्यसपछि मात्र उनले मैथिली सभ्यता र भाषासँग नजिकबाट भेट्ने अवसर पाए।

आफ्नै मातृभाषासँग भेट भयो भन्ने कुरा अनौठो लाग्नसक्छ। कतिपयलाई लाग्नसक्छ-मातृभाषा भन्नासाथ जन्मजातै हुनुपर्छ। उनी घरमा मैथिली बोल्थे। तर, धेरैजसो नेपाली नै बोलिन्थ्यो। मैथिलीको महत्व सायद उनले बुझ्न भने बाँकी थियो।

जनकपुर बसाइ हुनुअगावै उनमा साहित्यको रस पसेको थियो। जनकपुरमा साहित्यमा काम गर्ने संस्था भेटियो। केही दिग्गजसँग उनको परिचय भयो। डा. धीरेन्द्र, महेन्द्र मलगिया, योगेन्द्र शाहा नेपाली, डा. राजेन्द्र विमलहरूसँग भेट भएपछि उनले मैथिलीको गहिराइ बुझे। महत्व बुझे। सभ्यता बुझे। जसले उनीभित्र मैथिली भाषा साहित्य जोगाउनुपर्छ भन्ने दायित्वबोध भयो।

‘नेपाली भाषा संरक्षणमा त राज्यले काम गरिरहेको छ। तर, मैथिली भाषाको प्रवर्द्धन गर्ने हो भने आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ' हरेक स्रष्टा तथा लेखकले आफ्नो मातृभाषामा कलम चलाउने हो भने भाषा सुरक्षित हुन्छ भन्ने ध्येयले तान्यो मलाई।’

मैथिलीका विभिन्न आयामहरूलाई उठान गरेर उनले सिर्जना गर्न थाले। मैथिली भाषाले नै आफूलाई पत्रकार, कोलमिस्ट तथा गायक बनेको उनी स्वीकार्छन्। मैथिलीले नै उनलाई जीवनको बाटो देखाएको उनको बुझाइ छ।

स्वार्थको पर्खालले सभ्यतामा अवरोध

नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा मैथिली हो। नेपालमा हिन्दी भाषाको वैधता दिनुपर्ने आवाज उठाउँदै गर्दा मैथिली भाषा र सभ्यताबारे राजनीतिक दल स्वयम्‌ले पनि यसको महत्व बुझ्न नसक्नु आफैँमा दुर्भाग्यपूर्ण रहेको प्रेमर्षिलाई लागेको छ।

जुन धरातलबाट राजनीतिक दल आइरहेका छन्‌, उनीहरूले स्वयं आफ्नै जरो काटिरहेका छन्। कालिदास प्रवृत्ति भइरहेको छ। मैथिली क्षेत्रका व्यक्तिहरू केवल भोटका लागि प्रयोग भइरहेका छन्। नेतालाई थाहा हुनुपर्ने-मैथिलीमा भोट मात्र होइन यहाँ सभ्यता छ। जसले हाम्रो गौरव बढाउन सक्छ।

‘मैथिलीको भाषाबाट आएका व्यक्ति वा पार्टीहरूको आफ्नै भाषा संस्कृतिप्रति कुनै चासो देखिएको छैन। मैथिली सभ्यता नेपालको मात्र होइन, विश्वमै पनि गौरवमय सभ्यता हो। अहिले भाषाप्रति जसरी दुर्व्यवहार भइरहेको छ। त्यसले सभ्यतालाई चाहि ओझेलमा पारिरहेको छ,’ उनी थप्छन्, ‘यो देशका लागि घाटा हो। विश्वको लागि घाटा हो। जुन धरातलबाट राजनीतिक दल आइरहेका छन्‌, उनीहरूले स्वयं आफ्नै जरो काटिरहेका छन्। कालिदास प्रवृत्ति भइरहेको छ। मैथिली क्षेत्रका व्यक्तिहरू केवल भोटका लागि प्रयोग भइरहेका छन्। नेतालाई थाहा हुनुपर्ने-मैथिलीमा भोट मात्र होइन यहाँ सभ्यता छ। जसले हाम्रो गौरव बढाउन सक्छ।’

राजनीतिक दल र तिनका नेताले मैथिली मात्र होइन, थारु, अवधी अथवा कुनै भाषाबारे आवाज उठाएको सुनिँदैन। के देखिन्छ भने यहाँ इमान्दार भएर राजनीति हुनुपर्थ्यो, यो भएको छैन। राजनीतिको नाममा आफ्ना निहित स्वार्थका इँटाहरू खप्टिँदा पर्खालमात्र अग्लो भएको उनले सुनाए।​

भाषामा राज्यको पहल जरूरी

मैथिली या भोजपुरी भाषासँग विभिन्न चाडपर्व र धार्मिक क्रियाकलापहरू पनि गाँसिएर आएका छन्। जसमा हिन्दुत्व जीवनको अभिन्न अंग भएर बसेको छ। पछिल्लो समय यो माथि पनि प्रहार भइरहेको उनी सुनाउँछन्।

'मैथिली भाषा र सभ्यता जोगाउन न शिक्षा छ, न कुनै संस्था छ, न कुनै राज्यले पहल गरिरहेको छ। व्यापक प्रयोग बिना भाषामाथिको आक्रमण रोक्न कठिन छ। हामी आयातित भाषातर्फ उन्मुख भइरहेका छौँ। भाषा छुटेपछि संस्कृति उखेलिन्छ। संस्कृति उखेलिएपछि हाम्रा मूल्य र मान्यता सकिन्छन्,’ उनी आफ्नो स्वरमा गम्भिर भाव प्रकट गर्छन्।

मिडियामा, प्रशासनमा, देशको यावत संयन्त्रमा सिंगो देश देखिनुपर्ने उनको बुझाइ छ। 'चाहे भाषाको माध्यम होस् या सामाजिक मूल्य र मान्यताको अंश नै किन नहोस्। जब हरेक समाजले आफ्नो भाषा संस्कारको प्रतिनिधित्व पाउँछ-तब मात्र उसले राज्यप्रति र आफ्नो भाषा अपनत्व महसुस गर्छ,’ उनी भन्छन्।​

राज्य कमजोर हुँदा भाषा पनि कमजोर

मैथिली साहित्यलाई बंगाली साहित्यपछिको महत्वपूर्ण मानिन्छ। बंगाली साहित्य विश्वमाझ परिचित बनिसकेको छ।

बंगाली साहित्यको तुलनामा मैथिली साहित्य भने कतै रूमलिरहेको छ। यसमा कतै न कतै गडबडी भइरहेको उनले पनि देखिरहेका छन्। भाषा जोगाउन राज्य महत्वपूर्ण शक्ति हो। बंगालसँग दुईवटा राज्य छ। एउटा बंगलादेश नै छ। अर्को बंगाल प्रान्त छ, जुन आफैँमा सशक्त रहेको उनी बताउँछन्।

भाषा, संस्कृति र सभ्यता जोगाउन उनीहरूले काम गरिरहेका छन्। तर, मैथिलीसँग विपरीत भइरहेको छ। दुई देशमा विभाजित छ। दुवै देशमा मैथिली हेपिएको छ।

‘भाषा, संस्कृति र सभ्यता जोगाउन उनीहरूले काम गरिरहेका छन्। तर, मैथिलीसँग विपरीत भइरहेको छ। दुई देशमा विभाजित छ। दुवै देशमा मैथिली हेपिएको छ,’ उनले भने, ‘नेपालमा त झन आफ्नै क्षेत्रमा प्रदेश छ। तर बिडम्बना! त्यही प्रदेशले मैथिलीलाई पाखा लगाउन खोजिरहेको छ, भाषा र साहित्यले संस्कार र सही बाटोमा डोहोर्‍याउन खोज्छ। तर, नेपालमा राजनीति नै संस्कारहीन बनेको छ।’

बंगालको साहित्यको उठानमा मैथिलीको योगदान

बंगालको साहित्य उत्थानमा मैथिलीको ठुलो योगदान रहेको प्रेमर्षि बताउँछन्।

'​रविन्द्रनाथ टैगोरले महाकवि विद्यापतिकै शैलीमा लेखे। टैगौरले आफैँले पनि विद्यापतिको शैली अपनाएको बताएका छन्,’ उनले भने। लिपिका कुरा गर्ने हो भने पनि मैथिली र बंगाली लिपि ९९ प्रतिशत मिल्ने प्रेमर्षिले जानकारी दिए।

'पहिले साहित्य अध्ययनको केन्द्र मिथिला थियो। जब राजनीतिक एकीकरण हुन थाल्यो-तब मैथिली थप जोखिममा पुग्यो। पृथ्विनारायण शाहको एकीकरणपछि मैथिली भाषा र साहित्यको अन्धकार यात्रा शुरू भयो,’ उनले भने, 'मल्लकालसम्म काठमाडौंमा मैथिलीको प्रभाव थियो। मकवानपुरमा सेन राजाहरूको मुख्य भाषा मैथिली थियो। शाह वंशको उदयपछि मैथिली साहित्यको अन्धकार युग शुरू भयो। आजसम्म पनि मैथिलीले उज्यालो भेटाउन सकेको छैन।’ ​

पत्रकारलाई साहित्य लेख्न कठिन

प्रेमर्षिले १३ वर्ष रेडियोमा समाचार वाचन गरे। नेपाली हिन्दी तथा मैथिलीमा वाचन गरेको उनको आवाज देशका कुना-कुना गुञ्जियो।

​वि.सं. २०४९ पुसदेखि उनले समाचार वाचन गर्न थालेका हुन्। ६१ सालमा रेडियो यात्रा छोडे।

प्रजातान्त्रिक आन्दोलनमा होमिएका उनलाई व्यवस्थापनले करार थप्न आनाकानी गर्‍यो। उनले जागिर छोडे। जनआन्दोलन पश्चात् रेडियोले उनलाई पुनः कार्यालय बोलायो। तर, उनी गएनन्।

भन्छन्, ‘लामो समय रेडियोमा काम गरेँ। मेरो मेहनत र कामलाई नजरअन्दाज गरियो। मेरो करार थप गरिएन। आफैँले काम गरेको संस्थाले मेरो सम्मान गरेन। पछि भने मलाई पुनः रेडियो फर्किन मन नै लागेन।’

उनले अन्य पत्रिकामा भाषा सम्पादनदेखि समाचार लेखनको काम भने अनवरत गरिरहे। उनी साहित्यकार भएपछि पत्रकार बनेका हुन्। त्यसकारण पत्रकार बन्न सहज भएको सुनाउँछन्।

पत्रकारलाई पनि साहित्य सिर्जना गर्न कतै न कतै सहज रहेको उनको बुझाइ छ। साहित्य सिर्जना गर्दा चाहिने सूचनाका अनेक स्रोतहरूसँग नजिक हुने र सूचनासहितको साहित्य अब्बल र दिगो हुन सक्ने उनी अनुभव सुनाउँछन्।

यद्यपि; पत्रकारले आफ्नो विधामा जसरी काम गरिरहेको हुन्छ-उसले साहित्यमा त्यति धेरै समय चाहिँ दिन पाउँदैन। 'साहित्य लेख्न तब सकिन्छ-जब तपाईंसँग भन्नुपर्ने र लेख्नुपर्ने विषयको चाङ हुन्छ। मनमा छटपटी हुन्छ। प्रसवपीडा हुनुपर्छ। तर, पत्रकारले कुनै न कुनै माध्यमबाट आफ्ना कुरा लेखिरहेको हुन्छ-जसकारण एउटा पत्रकारलाई साहित्य लेख्न एक हदसम्म कठिन छ,’ उनले थपे।

आवाज धीमा बन्नु राज्यको भजन गाउनु होइन

नेपालको लोकतान्त्रिक आन्दोलन र सत्ताको खराब आचरणविरुद्ध उनले निरन्तर आवाज उठाइरहेका छन्‌। उनी मात्र होइन, नेपालका जुनसुकै आन्दोलनमा पनि सरकारको खबरदारी यहाँका बुद्धिजीवि, पत्रकार, सर्जक तथा साहित्यकारहरूले गरिरहेका हुन्छन्।

नेपालका विभिन्न आन्दोलनमा उनीहरूले खबरदारी गरे। सडकमा साहित्यका माध्यमबाट सरकारको खराब प्रवृत्तिको आलोचना गरे। तर, जनताको प्यारो भएका लेखक, साहित्यकार तथा सर्जक सत्ताको भजन गाएर सरकारलाई मैमत्त बनाउन मलजल गर्न तत्पर पनि भए। आफूअनुकूल स्वार्थपूर्ति गर्न लागि परिरहे।

तर, प्रेमर्षिलाई बजारको यो आरोप सही हो भन्ने लाग्दैन। 'हरेक व्यक्तिको उत्कर्षमा पुग्ने एक कालखण्ड हुन्छ। विरोधको स्वर अलिकति धीमा भएको हो। धीमा हुनु भनेको भजन गाउनु होइन,’ उनले भने।

जब आन्दोलन चरममा हुन्छ, सम्पूर्ण जनता आन्दोलित हुन्छन्-त्यसबेला साहित्यको माध्यमबाट आएका रचनाले आन्दोलित र दिशाबोध गर्न मद्दत पुर्‍याउँछ

रचनाले विशेष परिस्थितिमा मात्र प्रभाव पार्नेसक्ने उनी सुनाउँछन्। ‘जब आन्दोलन चरममा हुन्छ, सम्पूर्ण जनता आन्दोलित हुन्छन्-त्यसबेला साहित्यको माध्यमबाट आएका रचनाले आन्दोलित र दिशाबोध गर्न मद्दत पुर्‍याउँछ,’ उनी भन्छन्, 'कवि तथा साहित्यकारले देश दुर्घटना हुने बेला रेस्क्यु गर्ने हो। जनतालाई सही तरिकाले सचेत बनाउने हो। आखिर राजनीति त राजनीति नै हो।’

६२-६३ पछि नेपालमा जुन किसिमले राजनीतिक उभार आयो, लेखक साहित्यकार बुद्धिजीवि नेताका पछि लागे। धेरै नेता जनतासँग भिजेर होइन, चिट्ठा परेर आएजस्ता देखिए। तिनै नेताले सर्जक तथा लेखकलाई दुरुपयोग गरेको उनी सुनाउँछन्।

इतिहासलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम

अहिले उनी प्रतिष्ठानमा सदस्य छन्। ‘यहाँ गर्नुपर्ने काम धेरै छन्। प्रतिष्ठानका आफ्नै सीमितता र व्यापकता बुझ्नुपर्ने हुन्छ। संगीत र नाट्यमा हाम्रो परम्परा जेजति छन्, खोज अनुसन्धान गर्ने जमर्कोमा छु।’

उनको भागमा शास्त्रीय र परम्परा संगीत परेको छ। शास्त्रीय संगीत भनेको सम्पूर्ण संगीतको जरा हो। शास्त्रीय संगीत अझै पनि संस्कारयुक्त रहेको उनले बताए।

संगीत केबल मनोरञ्जन मात्र होइन। यी हाम्रा सामाजिक मूल्य र मान्यता झल्काउने सम्पदा पनि हुन्। तिनै पुराना, शास्त्रीय र परम्परा संगीतको जगेर्नामा लागिपरेको उनले बताए।

एउटा निश्चित समयका लागि म प्राज्ञ सदस्य हुँ। यहाँ हुँदा मैले गर्नुपर्ने कामको प्रकृति फरक हुनसक्छ। तर, मैथिली भाषाको संरक्षण र प्रवर्द्धन गर्नु मेरो नागरिक दायित्व हो। यो क्रम जारी नै छ।

‘संगीतका विभिन्न आयामहरू खोज्ने, नयाँ पुस्तामा ती संगीततर्फ पनि अभिरुचि जगाउने काम गरिरहेको छु। ओझेलमा परेका सांस्कृतिक परम्पराहरूलाई प्रहसन/प्रदर्शन प्रमुख विषय बनाएर काम भइरहेको छ,’ उनले भने।

उनी कुनै बेला मैथिली भाषाको संरक्षणका लागि राज्यसँग प्रश्न गर्थे। आज स्वयम्‌ त्यो स्थानमा छन्। जहाँ उनले प्रश्नका जवाफ दिनुपर्छ। यो कुरा उनले बुझेका छन्।

उनी भन्छन्, ‘एउटा निश्चित समयका लागि म प्राज्ञ सदस्य हुँ। यहाँ हुँदा मैले गर्नुपर्ने कामको प्रकृति फरक हुनसक्छ। तर, मैथिली भाषाको संरक्षण र प्रवर्द्धन गर्नु मेरो नागरिक दायित्व हो। यो क्रम जारी नै छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.