|

भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन्।

दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदी किनारमा लगेर दहन गरेका हुन्।

गथामुंगः बनाउन बिहानैदेखि टोलटोलका स्थानीय सामूहिकरुपमा जुटेका थिए। हरियो नर्कट ल्याउन, परालको विभिन्न प्रकारका गहना र डोरी बाट्न, मुखाकृत सिंगार्न, कपडाका विभिन्न प्रकारका आकृति बनाउन महिला, केटाकेटी, तन्नेरी र वृद्धवृद्धाहरु गच्छे अनुसार एकसाथ जुटेका थिए।

वर्षको चारवटा प्रमुख चतुर्दशी मध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकोले यसलाई नेवार समूदायको मौलिक पर्वको रुपमा लिने गरेको छ। परिवारलाई भूतप्रेत नलागोस् भनेर मनाइने यो पर्वमा गथामंगःको दहन गर्दा अश्लिल शब्द बोलेर गाली गर्दै लैजाने परम्परा रहेको छ।

गथामंगःको दहनपछि ‘रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव’ भन्दै भगवानको नाम लिँदै फर्किने गर्दछ। आजकै दिन बच्चाहरु भुतदेखि नडराउन भनेर गथामुंगः दहन गरेको आगो तपाउने प्रचलन रहेको छ। आजकै दिनबाट लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ।

गथामुंगःको दिन सिनाज्या मनाउन घर आँगन सबै सफा गर्ने भएकोले लामखुट्टेको संख्या पनि कम हुने र लामखुट्टेको टोकाई समेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरु बताउँछन्।

लोककथन अनुसार घण्टाकर्ण भगवान विष्णुका भक्त थिए। उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे। एकदिन भगवान विष्णुले शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्णले मानेन् तब विष्णुले ‘हरि र शंकर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए जसमा आधा विष्णु थिए भने आधा शिव।

तैपनि घण्टाकर्ण सन्तुष्ट हुन सकेनन्। उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे, सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्डाएर हिड्थे। कसैले शिवको नाम लिनेवित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये। त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तिमा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.