कन्याम बगानको विषादी भण्डारण कक्ष सिल

|

इलाम : चिया क्षेत्रमा प्रतिबन्धित मानव स्वास्थ्यको लागि घातक औषधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ।

सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम चिया बगान क्षेत्रमा हरेक वर्ष विषादीको प्रयोग बढी हुँदा खानेपानीका मुहानमा पुग्ने र मानव स्वास्थ्यमा असर भएको गुनासो हुँदै आएपछि बोर्डले अनुगमन थालेको हो।

बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराईको नेतृत्वमा जनप्रनिधिसहितको टोलीले कन्याम चिया बगानमा अनुगमन गरेको जानकारी दिए। चिया बगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू किसान र व्यवसायीले खुलेआम प्रयोग भएपछि बोर्डले चासोका साथ हेरेको छ।

विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादी पूर्णरूपमा प्रतिबन्ध लगाए पनि तिनै विषादीको बगानमा प्रयोग हुने गरेको भटराईले बताए।

यस्ता विषादी नेपाल सरकारले नेपालमा रोक लगाए पनि भारतसँगको खुल्ला नाकाको फाइदा उठाउँदै अवैध बाटोबाट भित्रिने गरेका छन्। अव्यवस्थित रुपमा विषादीको प्रयोगले काम गर्ने मजदूरको स्वास्थ्यमा पनि गम्भीर असर देखिन थालेको गुनासो बढेको छ।

सरकारले मोनोक्रोटोफम्स, इन्डोसल्फान, बिजिडी, अल्जिम, लिन्डेनजस्ता १५ प्रकारका घातक विषादी बिक्रीमा प्रतिबन्ध गरिसकेको छ। तर मजदुरले बिना कुनै सुरक्षात्मक उपाय विषादी प्रयोग गरिरहेका छन्। 

विषादी भण्डारण कक्ष सिल

मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिई कडा खालका विषादीको प्रयोग हुँदै आएको कन्याम बगानको विषादी भण्डारण कक्षमा अनुमगन टोलीले सिल गरेको छ।

अर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिँदै आएको अवस्थामा मात्रा नमिलाई उत्पादन बढाउने उद्देश्यले विषादीको प्रयोग भएकाले भण्डारण कक्षमा सिल गरिएको चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए।

कडा खालका विषादीको प्रयोग गर्दा सरकारी निकायलाई पूर्व सूचना हुनुपर्ने नियम भए पनि चिया बगान पक्षले समन्वय नगरेकाले विषादी भण्डारण कक्ष सिल गरेको उनले जानकारी दिए।

अनुगमन टोलीले तीन दिनभित्र मापदण्ड विपरित विषादी प्रयोग गर्नुपर्ने कारणसहित चिया विस्तार योजना र सूर्योदय नगरपालिकामा उपस्थित हुन बगान व्यवस्थापनलाई पत्र दिएको छ।

चियामा विषादी प्रयोग गरेपछि २८ दिनसम्म चियाका बोटहरुमा रहने र चिया टिपाई १५ दिनको फरकमा हुँदै आएकाले मानव स्वास्थ्य प्रत्यक्ष असर देखिने चिया प्राविधिक बताउँछन्।

चिया विकास निगम व्यवस्थापन पक्षले चियाका बोटमा देखिने चुसेर खाने किरा मार्न प्रयोग गरेको भनिए पनि यति कडा खालको औषधि प्रयोग गर्नु नपर्ने अध्ययनमा उल्लेख छ। 

नसर्ने रोगको उच्च जोखिम

त्रिवेणी सांघाई समूहको स्वामित्वमा रहेको चिया बगानमा अत्याधिक मात्रामा विषादीको प्रयोग बढ्दै जाँदा माई नगरपालिका नसर्ने रोगको उच्च जोखिममा परेको नगर प्रमुख दिपककुमार थेवेले बताए।

सांघाईले आवश्यकता भन्दा बढी विषादी प्रयोग गर्नाले बगान आसपासका क्षेत्रका बासिन्दाहरु क्यान्सरको उच्च जोखिममा रहेको उनले सुनाएर। उनले भने, ‘बगान आसपास मृत्यु हुने ७० प्रतिशत कारण चिया बगानमा प्रयोग हुने प्रतिबन्धित औषधि नै हो। यसको नियमनको लागि पनि निजीकण गरिएको बगान स्थानीय सरकारलाई फिर्ता गर्नुपर्छ।’

चियामा बढ्दो विषादी प्रयोगका कारण भारतसहितका अन्तराष्ट्रिय बजारमा नेपाली चियाको छवि समेत बिग्रन थालेको छ। हरेक वर्ष नेपालको चियामा प्रेस्टिाइडको मात्रा बढी भएको भन्दै अन्तराष्ट्रिय बजारबाट फिर्ता हुने गरेको छ।  

ऐन कार्यान्वयन फितलो

जीवनाशक विषादी ऐन २०७६ अनुसार विषादी तथा त्यस्तो विषादीको सक्रिय तत्व समेत उत्पादन, संश्लेषण, निकासी पैठारी तथा व्यवसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार गर्नुपरेका प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा पञ्जीकरण गर्नुपर्ने उल्लेख छ।

पञ्जीकरण नगरिएका विषादीको प्रयोग र उत्पादन गरेमा पाँच हजार देखि दुई लाख रुपैयाँ र एक महिनादेखि एक वर्षसम्म कैद गर्न सक्ने प्रावधान रहेको छ। तर यसअघि रहेको कृषि विकास कार्यालय र अहिलेको कृषि ज्ञान केन्द्रले न कसैलाई पक्राउ नै गरेको छ, न कसैलाई कारबाही गर्न नै सकेको छ।

ऐनमा विषादी बेच्नेलाई जरिवाना र सामान जफत गर्न सक्ने अधिकार छ। तर जफत गरिएको सामानलाई कसरी नष्ट गर्ने भन्ने उल्लेख छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.