सम्मानजनक एकता नभए 'विद्रोह'! ओली पक्ष भन्छ : दोस्रो अध्यक्ष विधानमा छैन

|

काठमाडौं : नेकपा (एमाले)मा कचल्टिएको विवाद वार कि पार लगाउने पक्षमा दुवै पक्षका नेताहरु पुगेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्रको विवाद वारपार लगाउने मनस्थितिमा पुगेका हुन्। 

फागुन २३ गते साविक नेकपाको एकता भंग भएपछि सुरु भएको नेकपा एमालेभित्रको रडाको अझै साम्य हुने छाँट छैन। एकपछि अर्को गर्दै दुवै समूहले एकले अर्कोलाई गलाएर अघि बढ्ने रणनीति लिएकाले एमाले विवाद थप कचल्टिएको हो। 

यसअघि नै ओलीले पार्टीभित्रको विवाद लामो समय भइसकेकाले तत्कालै टुंगोमा पुर्‍याउन महासचिव इश्वर पोखरेल र आफूनिकट नेताहरुलाई निर्देशन दिएका थिए। 

अध्यक्ष ओलीले नेपाल समूहलाई ‘बाइपास’ गरेर पार्टीलाई एकलौटी रुपमा अगाडि बढाउन खोजेपछि एमालेभित्र विवाद चर्किएको थियो। तर, नेता नेपाल समूह पार्टीलाई २०७५ जेठ २ अनुसार अघि बढाउनुपर्ने अडानमा थियो। 

ओलीले पार्टीलाई ०७५ जेठ २ अनुसार अघि बढाएपछि नेकपा (माओवादी केन्द्र) बाट आएका नेताहरुलाई नेकपाकै पदलाई मान्यता दिएर अघि बढिरहे। ​

त्यसो त एमाले विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालले गठन गरेको कार्यदलले दस बुँदे सहमति गरेको थियो। कार्यदलको सहमति पत्रमा ओलीले हस्ताक्षर गरेको भएपनि नेपालले त्यसैमा असहमति राख्दै आइरहे। 

‘विद्रोही’ समूहमै विवाद !

पार्टीभित्रको विवाद वारपार लगाउन भन्दै नेपाल समूहको बिहीबार र शुक्रबार दुई दिने केन्द्रीय कमिटी बैठक बस्यो। तर, अब कसरी अघि बढ्ने भन्नेमै नेपाल समूहमा विवाद देखिएको छ। 

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेलेका नेता नेपाल समूह सरकारमा जाने या नजाने भन्ने बिषयमा अझै अनिर्णित छ। दुई दिनसम्म चलेको बैठकमा सरकारमा जाने या पार्टी एकतालाई बलियो बनाउने भन्ने बिषयमा विवाद देखियो। 

नेपाल समूहको बैठकमा बाहिर सकारात्मक सन्देश दिन खोजेको भए पनि बैठक कक्षमा ओलीसँग मिल्न हुँदैन भन्ने पक्षको बहुमत देखिएको एक केन्द्रीय सदस्यले बताए। 

उनले भने, ‘ओलीलाई पार्टीको कार्यकारी सम्पूर्ण अधिकार दिएर पार्टी एकता हुनै सक्दैन। हामीले पहिल्यैबाट भन्दै आएका छौँ। आज टाउको जोडेर एकता गर्यो भोलि फेरि उही ओली प्रवृत्ति हावी हुन्छ।’

ओलीसँगभन्दा पार्टीबाट अलग भएर जाने भन्नेबारेमा समेत बैठकले छलफल गरेको ती नेता सुनाउँछन्। 

एमाले एकता जोगाएर जानुपर्छ भनेर दोस्रा तहका नेताहरु भीम रावल, गोकर्ण बिष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायत नेताहरुले नेता नेपालमाथि दबाव बढाएका छन्। तर, ओलीको अहंकारी प्रवृत्ति नसच्चिए विद्रोह गर्ने साहस राख्नुपर्ने तेस्रो तहका नेतामा एकमत देखिन्छ। 

दोस्रो तहका नेताहरु १० बुँदे सहमतिलाई आधार बनाएर जानुपर्ने पक्षमा छन्। तर, सम्मानजनक ढंगले एकता गर्न ओली तयार नभए विद्रोह गर्न तयार हुनुपर्ने पक्षमा विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेलगायतका नेताहरुले दबाब बढाइरहेका छन्। 

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमै नेताहरुबीच चर्काचर्की परेको थियो। उपाध्यक्ष भीम रावलको कुरा सुनेपछि नेतृ रामकुमारी झाँक्रीलगायत नेताहरुबीच भनाभनको स्थिती समेत सिर्जना भएको थियो। 

सम्मानजनक एकता !

नेता नेपालले आफू अपमानित भएपछि एकता जोगाउने पक्षमा रहेको बताएको शुक्रबारको बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका थिए। 

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु, एकताका लागि मेरो प्रयत्न जारी छ। ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गर्नुभएको छ। तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु’ नेता नेपालको भनाइ थियो। 

सम्मानजनक ढंगले एकता नगरे ओलीसँग मिल्नु राजनीतिक आत्महत्या हुने नेपाल समूहको निष्कर्ष छ। ​

ओलीसँग अहिलेकै अवस्थामा पार्टी एकता गरेर जान नसकिने नेतृ झाँक्रीको भनाइ छ। उनी भन्छिन्, ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ। हामीले पार्टीमा विधिमा चलाऔँ भनेका हौँ। ओली प्रवृत्ति सच्चाएर अघि बढ्नका लागि सम्मानजनक एकता हुनुपर्छ भन्ने हाम्रो अडान हो।’

ओलीले पार्टी एकताको लागि नेता नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरेका छन्। तर, दोस्रो अध्यक्ष नभएर नेता नेपालले ओलीसँग समान हैसियतको खोजी गरिरहेका छन्। 

ओलीसँगको समान हैसियतमा आफू अघि नबढेर बरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य या दोस्रो तहको जो कोही नेतालाई पठाउने रणनीति नेता नेपालको छ। अध्यक्ष ओली नेता नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार भएपछि ओली पक्षका अधिकांश नेताहरु त्यसको विपक्षमा उभिएका छन्। 

आत्मालोचनाको अडान

ओली एकताको लागि लचक बन्दै गएपछि नेपाल समूहले आफ्नो अडान कस्दै गइरहेको छ। ओलीले ०७७ पुष ५ र ०७८ जेठ ८ गते संसद् विघटन गरेर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने अडान नेपाल पक्षले अघि सारेको छ। 

दशौँ महाधिवेशनको तयारीस्वरुप पार्टी गतिविधिलाई सक्रिय बनाउन लागिपरेको संस्थापन पक्षको गतिविधि रोकेर सार्वजनिक रुपमा आत्मालोचना गर्नका लागि आइतबारसम्मको अल्टिमेटम दिएको छ। 

ओलीले चालेको कदमलाई सर्वोच्च अदालतले संसद् विघटन गलत ठहर गरेपछि सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने नेपाल समूहको निष्कर्ष छ। तर, ओली त्यो पक्षमा छैनन्। 

नेपाल समूहको आत्मालोचनाको अडानकै कारणले पार्टी एकताको सम्भावना कमजोर बन्दै भइरहेको आंकलन गरिएको छ। 

तर, नेपाल पक्षकै नेता भीम आचार्य भने कार्यदलले तय गरेको दस बुँदे सहमतिलाई टेकेर अघि बढ्नुपर्ने बताउँछन्। 

भन्छन्, ‘पार्टी एकताको लागि हामीले छलफल गरिरहेका छौँ। कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वय गरेर अघि बढ्दा पार्टी एकताको बिन्दु भेटिन्छ।’ 

‘दोस्रो अध्यक्ष दिन सकिँदैन’

नेता नेपाल समूहले सम्मानजनक एकताको माग गरेपनि तत्कालै दोस्रो अध्यक्ष दिएर अघि बढ्न नसकिने केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ बताउँछन्। 

उनी भन्छन्, ‘पार्टीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई चिन्छ। माधव नेपाल स्थायी कमिटी सदस्य हुनुहुन्छ। उहाँकै लागि भनेर अहिले तत्कालै अर्को पद सिर्जना गर्न सकिँदैन। त्यसका लागि विधान महाधिवेशन गर्नुपर्छ।’​

पार्टी एकताको लागि भनेर अब पार्टीको पूर्वनिर्धारित कुनै गतिविधि नरोकिने उनले स्पष्ट पारे।
 
‘हामी पार्टी गतिविधि अब रोक्दैनौँ। उहाँहरुलाई पार्टीमा जहिले पनि स्वागत नै छ। पार्टी विपरित गतिविधि छाडेर जहिले आए पनि पार्टीले योग्यता अनुसारको जिम्मेवारी दिन्छ’ सचिव तामाङ भन्छन्।

‘गतिविधि रोकेर एकता कुरिँदैन’

सत्ता पदच्युत भएपछि पार्टीको गतिविधिलाई तिव्रता दिएको संस्थापन पक्ष पार्टीको गतिविधि नरोक्ने पक्षमा छ। नेपाल पक्षले पार्टी एकताको लागि दशौँ महाधिवेशनको तयारी रोक्न माग गरिरहेको छ। 

तर, प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको गतिविधि रोकेर अझै एकताको लागि पर्खेर बस्ने अवस्था नभएको दाबी गर्छन्। 

शुक्रबारको विधान अधिवेशनबाट संशोधन गर्नुपर्ने विषयमा पार्टीका नेताहरुको छलफलपछि ज्ञवालीले भनेका थिए, ‘पार्टीका नियमित कामहरु अगाडि बढ्छन्, छलफलहरु पनि चलिराख्छन्। छलफलका नाममा हामी पार्टी कामलाई अनन्तसम्म रोक्न सक्दैनौँ।’

स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशनको तयारी तिव्र रुपले गर्नुपर्ने भएकाले अझै पर्खेर बस्न सक्ने अवस्था नरहेको उनले बताए।  

‘पार्टी गत्यावरोधमा जाने, स्थानीय चुनाव आउन लागिसक्यो, महाधिवेशन आउन लागिसक्यो यसबारे कुनै तयारी नहुने र सत्तापक्ष आक्रामक हुन थालिसक्यो, यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गर्न नदिइकन हातखुट्टा बाँधेर बस भन्ने कुरा नेकपा एमालेको हितमा छैन। एमालेको हितमा नहुने कुरा स्वीकार्य हुँदैन’ प्रवक्ता ज्ञवालीको भनाइ थियो।  

तर, नेपाल समूहले पार्टी एकताका लागि सदस्यता नवीकरण र विधान अधिवेशन रोक्न माग गर्ने निर्णय गरेको थियो। संस्थापन पक्षले आगामी भदौ २७ र २८ मा विधान अधिवेशन गर्ने तयारी गरिरहेको छ। 

सरकारमा जाने ‘च्याप्टर क्लोज’!

सत्तारुढ गठबन्धनले आन्तरिक किचलोको कारणले हालसम्म सरकारलाई पूर्णता दिन सकेको छैन। देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेपाल समूहलाई देखाउँदै सरकारलाई पूर्णता दिन ढिलाई गरिरहेको छ। 

तर, दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि नेता नेपाल समूह भने तत्काललाई सरकारमा जाने ‘च्याप्टर क्लोज’ भएको छ। पार्टी एकताको लागि पहल गरिरहेको भएकाले सरकारमा जानेबारे आफूहरुले नसोचेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

उनी भन्छन्, ‘हामी प्रतिपक्षी पार्टी हौँ। सरकारमा जानेबारे हामीले सोचेका छैनौँ। पार्टी एकताको हामी हामी हदैसम्म लचिलो भएर प्रयासरत छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.