|

चितवन : बहुप्रतिक्षित हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रसारण लाइन आयोजनाको आँपटारीस्थित १३२ केभी विद्युत सवस्टेशनको निर्माण कार्य सम्पन्न भएको छ।

दमौली र मस्र्याङदीबाट आएको सर्किटलाई शुक्रबार सवस्टेशनमा जोडेर चार्ज गरिएको हो। मर्स्याङदीबाट ५० मेगावाट भन्दा बढी विद्युत आँपटारीस्थित न्यू भरतपुर सवस्टेशनमा आउने छ। त्यसलाई हाल १३२ केभीमा चार्ज गरिएको हो।

विश्व बैंक र नेपाल विद्युत प्राधिकरणको गरी ६३ करोड ७३ हजार चार सय ५६ रूपैयाँ लागतमा सवस्टेशन निर्माण भएको हो। सवस्टेशनको निर्माण कार्य २०६६ पुष १ गतेदेखि सुरु भएको हो।

सवस्टेशन निर्माणमा ठेकेदारले वर्षाैसम्म ढिलासुस्ती गर्दै आएको थियो। तीन वर्षमा काम सक्ने सम्झौता भएकोमा १२ वर्ष पुगेपछि मात्रै निर्माण सकिएको हो। यो बीचमा ठेकेदारलाई १३ पटकसम्म म्याद थपिएको थियो।

सवस्टेशनको काम सक्दासम्म दुई वटा ठेकेदार परिवर्तन भए। सुरुमा चिनियाँ कम्पनी झोण्डिङले सवस्टेशन निर्माण गर्ने जिम्मा पाएको थियो। १२ पटक म्याद थपिसक्दा पनि सवस्टेशनको काम नसकेपछि २०७६ चैतमा झोण्डिङले हुलासलाई जिम्मा लगाएर बाहिरिएको हो।

हुलासले २०७७ पुषसम्ममा काम सक्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता अनुसार हुलासले पनि काम गर्न सकेन। हुलास आएपछि आयोजनाका तत्कालिन प्रमुख ईश्वरी प्रसाद जयसवाल घुसकाण्डमा मुछिए। उनलाई अख्तियारले पक्राउ गरेको थियो।

त्यसपछि आयोजना प्रमुखका रुपमा इन्जिनियर नरेश कुमार खड्का आए। उनको पालामा सवस्टेशनको काम सकिएर शुक्रबार चार्ज गरिएको हो। ‘भरतपुर महानगरमा बत्ती झ्याप्प–झ्याप्प जाने समस्या हट्ने छ’, खड्काले भने, ‘फिडरहरुमा ओभर लोडको समस्या थियो। त्यो हुँदैन।’ यस सवस्टेशनबाट पूर्व र पश्चिम विद्युत प्रसारण गर्न सहज हुने छ।

आयोजनाको बर्दघाटमा निर्माण गरिएको सवस्टेशन चार्ज भइसकेको छ भने हेटौंडामा निर्माण गरिएको अर्काे सवस्टेशन आगामी पुससम्ममा चार्ज गरिने उनले बताए। १३२ केभी सवस्टेशनको आडैमा अर्काे २२० केभीको सवस्टेशन पनि बन्न लागेको छ।

केही दिनमा नै त्यसको काम सुरु हुने खड्काले जानकारी दिए। सवस्टेशनका लागि आवश्यक पर्ने सबै सामग्री आइसकेकाले अबको ६ महिनामा यो सवस्टेशनको पनि काम सकिने उनले दाबी गरे। २२० केभी सवस्टेशन पनि बनेपछि विद्युत प्रसारणमा भरतपुर ढल्केबरपछिको दोस्रो ठूलो हब बन्ने उनले बताए।

सवस्टेशनमा २२ एमभिएको ट्रान्सफर्मर राखेपछि चार वटा फिडर निकाल्न सकिने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीव सिंहले बताए। फिडर निकाल्न दुई÷तीन महिना लाग्ने उनले बताए। भरतपुर वितरण केन्द्रको भोजाडमा एउटा ६० एमभिए सवस्टेशन रहेको छ।

त्यसबाट १० वटा फिडर निकालिएको छ। भोजाड सवस्टेशनबाट निस्किएको गैंडाकोट फिडर, नारायणगढ फिडर र २४ एमभिए चनौली सवस्टेशनबाट निस्किएको गितानगर फिडरमा बढी लोड परेको छ।

विश्व बैंकको सहयोगमा देवनगरमा पनि छुट्टै २४ एमभिए सवस्टेशन निर्माण भएको छ। वनले त्यहाँ ३३ केभी लाइन तान्न दिएको छैन। ‘पटिहानी र गितानगर क्षेत्रमा अहिले भोल्टेजको एकदमै समस्या छ।

देवनगर र आँपटारीको सवस्टेशन सञ्चालनमा आएपछि जनताले चाहेको जस्तो भोल्टेजमा विजुली दिन सक्छौँ’, सिंहले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.