|

डडेल्धुराः डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। जिल्लाको जोरायलगाउँपालिका–२ छतिवनमा रहेको झरनामा दैनिक हजारौं मानिसहरू पुग्ने गरेका छन्।

झरना हेर्न पहाडका डोटी, डडेल्धुरा, बैतडी तथा तराइका जिल्ला कैलाली, कञ्चनपुर, बाँके र बर्दियाबाटसमेत मानिसहरू आउने गरेका छन्। छहरामा तराईका जिल्लाबाट गर्मी छल्नका आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।

हरियाली जंगलमाथि चट्टान, त्यसै चट्टानबाट पानी तल झर्छ। सुन्दर र अनुपम आकर्षक छहरा झरना हेर्ने मानिसहरूको पछिल्लो समय निकै  भिड लाग्ने गरेको छ।

कोरोनाको जोखिमकाबीच झरनामा रमाउन आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएको छ। झरना सम्म पुग्न सडकको व्यवस्था भएपछि हजारौंको संख्यामा मानिसहरू सवारीसाधन लगेर पुग्ने भएकोले सडकमा दिनहुँ जाम लाग्ने गरेको छ।

यो झरना सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण भाइरल भएको हो। झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयबासी झरनामा रमाइरहेको फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पोस्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन्।

फेसबुक र टिकटकमा साथीहरूले झरनामा रमाइलो गरेका भिडियो अपलोड गरेका र सोही हेरेर आफू पनि झरना अवलोकन गर्न आएको डडेल्धुराको अमरगढी नगरपालिका–१ का सुरत तमोलीले बताए। ‘साथीहरूको भिडियो हेरेँ। मलाई पनि जाउँजाउँ लाग्यो र, यहाँ हेर्न आएँ।

निकै रमाइलो भयो। साथीहरूसँग भेटघाट पनि भयो। अरुलाई पनि आउन आग्रह गर्दछु।’ कोरोनाले यहाँका होटेल सुनसान थिए। तर झरना अवलोकन गर्न आउने पर्यटकका कारण अहिले यहाँको होटल व्यवसाय फस्टाएको छ।

यो झरना भीमदत्त राजमार्गमा पर्ने डोटीको बुडर बजारबाट नजिकै रहेको छ। सत्य युगमा भगवान विष्णुको दायाँ पाउ खसेको माथि र बायाँ पाउ फल्टुडेस्थित लोडामा राखेर टाङमुनि बगेर आएको कमला नदीको झरनामा टाउको धोएर हिँडेको किम्बदन्ती छ। यो झरना ‘कमला झरना’ भएको त्यहाँका बूढापाकाहरु बताउछन्। तर अहिले छहरा झरना नाम दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.