|

व्यक्ति सफल हुनु र सोही व्यक्ति सरकारमा गएर सफल हुनु नितान्त फरक कुरा हो भन्ने पटकपटक प्रमाणित भएको छ। कुनैपनि देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नगरको प्रमुख, पालिकाको अध्यक्ष हुनु आफैँमा ठूलो सफलता हो। यसमा कुनै द्विविधा छैन र राख्नु पनि पर्दैन।

प्रत्यक्ष निर्वाचन हुने ठाउँमा राष्ट्रपति हुनु त व्यक्तिका लागि अति नै सफलताको द्योतक हो। ओलम्पिकमा पदक पाउनु, एउटा व्यवसायिक संगठनमा हजारौं/लाखौंलाई रोजगारी दिएर नाफा कमाउनु, वैज्ञानिक अनुसन्धान गरेर प्रकाशन गर्नु आदि सबै व्यक्तिगत सफलता हुन्।

शिक्षण, गायन, मानिसहरूसँग कुरा गर्ने र उनीहरूलाई मनाउने, व्यापार, व्यवस्थापन, उद्यमशीलताले मानिसलाई सीमित दायराभित्र सफल बनाउँछ। यद्यपि; यी सबै सफलता राजनीतिक सफलता होइनन्।  

सरकारमा सफल वा असफलताको मापक असीमित हुन्छ। सिमानाको एउटा सिपाहीले गरेको गल्तीले सरकार असफल भएर उस्तै परे ढल्नसक्छ। तसर्थ; व्यक्तिगत र सरकारको सफलताबीच समरेखा खिच्न सकिँदैन ।

सरकारमा सफल हुनका लागि गाउन, नाच्न, मुरली बजाउन, भाषण गर्न, मनोरञ्जन गराउन र टुक्का भन्न जानेर हुँदैन। न त एउटा परिवार वा संगठन चलाउन सक्षम भएरमात्र पुग्छ। यहाँ कसैको सीप या कौशलभन्दा निर्णय क्षमता, उत्प्रेरणा, नेतृत्व र कुन समयमा के बोल्नु पर्छ भन्ने विषयले फरक पार्छ। सानो कुरा चिप्लियो र त्यो सञ्जालमा ट्रोल भयो भने अनाहकमा असफल भइन्छ।

नेपालमा अहिले नयाँ सरकार बनेको केही दिनमा महाकाली नदीमा तुइनबाट झरेर एकजना नेपालीको मृत्यु भयो। त्यो तुइन भारतको सीमा सुरक्षाबलको कुनै जवानले काटेको भन्ने कुरा बाहिर आइसकेपछि नेपाल सरकारले नै त्यसलाई दबाउन प्रयास गर्‍यो। अति नै गलत गयो, जबकि त्यो त छानबिन गर्नुपर्ने विषय थियो।

कल्पना गरौँ- मानिस तुइनमा छ। १ मिनेटपछि उ गन्तव्यमा पुग्छ। त्यस्तो बेलामा तुइन काट्ने व्यक्तिमाथि कानूनी कारबाहीको माग गरेको भए भारत स्वयम्‌ पनि आभारी हुन्थ्यो। किनकि त्यति अविवेकी सेनालाई सम्भवतः भारतले पनि सजग गराउन चाहन्छ होला।

यो जनभावनाको मात्र विषय होइन, कानून त सबैमाथि समान हुन्छ भन्ने सर्वोपरि मान्यताको विषय हो। गल्ती चाहे जसले गरेपनि कानूनको दायरामा ल्याउनुपर्ने विषयमा हाम्रो त सरकार नै डरायो।

घटनामा सरकार असफल भएकै हो। यो कूटनीतिक क्षमताको गम्भीर चुक हो। यस्तो ठाउँमा गरिएको सानो चुकले असफलतालाई मलजल गर्छ। यस्तै घटनामा लिएको सानो अडानले सफल सरकारको तक्मा मिल्न सक्छ।

केबल अन्तराष्ट्रिय जगतमा शान्तिका कसरी कूटनीतिक पहल गर्ने भन्ने विषयमा बाराक ओबामालाई सन् २००९ मै नोबेल पुरस्कार मिल्यो। यो केबल अनुमान थियो।

लिग अफ नेशनको परिकल्पना गरेबापत ​ विल्ड्रो विल्सनलाई सन् १९१९ को नोबेल मिल्यो। जबकि सन्‌ १९२० मा अमेरिकी कांग्रेसले लिग अफ नेशनलाई अस्वीकार गर्‍यो। तापनि नोबेल त मिल्यो, किनकी विचार त सही थियो। आखिर यसैलाई आधार मानेर नै सन्‌ १९४५ मा संयुक्त राष्ट्रसंघ बन्यो।

सन्‌ १९७२ को म्युनिख ओलम्पिकमा आतंकवादीले इजरायलका १२ खेलाडीलाई मारिदिए। इजरायल केही बोलेन, एउटा वक्तव्य पनि निकालेन। सबै खेलाडीको शव त्यतिबेला मात्र सदगत गर्‍यो-जब त्यो घटनामा संलग्न सबै आतंकवादीलाई उनीहरूकै देशमा गएर मारेर बदला लियो।

त्यसको ४ वर्षपछि इजरायलबाट फ्रान्स जाँदैगरेको एक जेट विमान, जसमा २५४ यात्री थिए, लाई अपहरण गरेर युगान्डा पुर्‍याइयो। विश्वभरका देश बोल्न थाले। फलस्वरूप अपहरणकारीले इजरायली बाहेक अन्य देशका १४८ जनालाई छाडिदिए।  

इजरायल बोलेन। १०६ इजरायली, जसमा १२ जना जहाजका कर्मचारी पनि सामेल थिए। ती सबैलाई अपहरण मुक्त गर्न २ दिनमा इजरायलले १०० कम्ब्याक्ट सैनिकसहित लडाकु जहाज युगान्डाको कम्पाला एयरपोर्टमा मध्यरातमा उतार्‍यो।

१ घण्टामा त्यहाँका ४५ अपहरणकारीलाई मारेर १०३ यात्री लिएर जहाज फिर्ता भयो। बाँकी ३ जनामा १ जना अस्पतालमा भर्ना थिए, त्यहाँ जान मिलेन, १ जना कालगतिले मरे। १ जना के भयो यो लेखक अनजान छ। सो सम्पूर्ण कारबाहीमा १ जनामात्र इजरायली सैनिकको मृत्यु भयो-जोनाथन नेतान्याहु, जो कमान्डर थिए।

यो प्रसंग यहाँ अनावश्यक थोपरिएको होइन। मात्र भन्न खोजेको के भने सरकारको सफलता उसको वक्तव्यमा होइन, जनताप्रतिको कर्तव्यमा खोजिन्छ। जनता जहाँ जसरी मर्ने मरोस् भनेर चुपचाप बस्नु राज धर्म होइन।

अहिले राजतन्त्र नभएर गणतन्त्र छ। जसको मुख्य अर्थ जनतापनि राजा बराबर नै छ भन्ने सन्दर्भसँग जोडिएर बल्ल गणतन्त्र जन्मन्छ। आदतमा चरण स्पर्श र त्वमंशरणंवाद मौलाएकाहरूले गणतन्त्रको मूल्य थाहा नपाएपनि यो सामान्य गद्दीमा व्यक्ति फेरिने परिवेशमात्र होइन, सम्भावनाको ढोका हो ।

राज्याभिषेक विधि पुराना किताबमा छ। जसमा नयाँ राजालाई सिंहासनमा राख्दा के गर्नुपर्छ भन्ने सिकाइएको छ। युवराज राजा बनेर नुवाइधुवाइ गरेर सिंहासनमा आउँदा राजमाताले हातमा चमर लिएर, जनतालाई दुःख नदिनु, कर कम लिनु सबैलाई समान व्यवहार गर्नु, न्याय दिनु, राज्य बढाउनु, गलतलाई दण्ड दिनु इत्यादि भनेर आशिष दिन्छिन्।

यस्तैमा राज गुरुले हातमा मयूरको लामो प्वाँख लिएर राजको ढाडमा ३ पटक हान्छन्‌ र भन्छन्, ‘राजन दण्ड केबल जनताका लागि होइन, गल्ती गरेमा राजा स्वयम्‌ पनि सजायको भागी हुनुपर्छ अर्थात तस्मात दण्ड भागी’ भन्छन्। यो कुरा नबुझेका राजाहरू हराउँदै गएका छन्। राजा भनेको अहिलेका लागि सरकार नै हो।

गल्ती गर्ने अधिकार सरकारलाई छैन। हिजो निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकारको आलोचना गर्नेले भने आज जयसिंह धामीको हत्यारा पत्ता लगाउन र दण्ड दिन नसके दण्डको भागी हुनुपर्छ। किनकि वास्तविक गणतन्त्रमा जनताप्रतिको जिम्मेवारी नै सरकार हो।

सरकारको सफलतामा आर्थिक विषय, रोजगारीको पर्याप्तता, शान्ति सुरक्षा लगायत विविध विषय जोडिन पुग्छ। सानो हृदय, सानो सोच, ‘म सरकारमा छु, मलाई कसले के गर्छ’ भन्ने घमण्डको तिलाञ्जलीबाट नै सुशासनको आरम्भ हुन्छ र सरकारको सफलता शुरू हुन्छ।

यी विषय किन उठाइँदैछ भने आजसम्म सरकारमा गएकाहरूले, त्यो पद, शक्ति, पहुँच, सेना र प्रहरीले घेरिएका रातो बत्तीवाला गाडीहरू, सरकारी खानपिन आदिलाई महानता र प्रतिष्ठाको विषय मानेजस्तो बुझिन्छ। वास्तवमा त्यो पदले बोकेको जवाफदेहीता अघि ती सबै निकै तुच्छ कुरा हुन्।

विभिन्न देशका राष्ट्रपतिहरू साइकलमा हिँड्छन् उनीहरूका लागि रवाफ कुनै उपलब्धि होइन। त्यसैले व्यक्तिगत उपलब्धिलाई सफलता मानेर कर्मगत सफलताबाट विमुख हुनबाट बचौँ।

राज्यका विभिन्न पदमा जो जहाँ जुन तरिकाले पुग्नुभयो, त्यो व्यक्तिगत सफलताको दायरामा आउँछ। त्यो पदले गर्नु पर्ने काममा निष्पक्षता, दृढता र मेहनत आदिबाट समग्र देश वा समाजले जे जति प्राप्त गर्न सक्यो-त्यो राजनीतिक सफलता हो।

भुमरीयुक्त नदीमा पनि पौडनसक्नु व्यक्तिगत सफलता हो भने त्यहाँ डुबुल्की मारेर देशका लागि मुगा झिक्नसक्नु राजनीतिक सफलता हो।

देशमा समस्याका भुमरी छन्, त्यसबाट समाधानरूपी मुगा जसले झिक्ला-त्यो नै निर्विवाद राजनेता बन्नेछ। नत्र नाथे पद त कतिले सम्हाले, के हिसाब!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.