|

काठमाडौं :  धुनीबेंसी नगरपालिका ५ धादिङका मोतीराम नेपाल ७७ वर्षको भए। उनले कोभिड विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज गत फागुनको २३ गते लगाएका थिए। 

कोरोनाले विश्वलाई आक्रान्त बनाइरहेका बेला कोरोना विरुद्धको खोप पाउँदा उनले जीवन सुरक्षित भएको महसुस गरे। तर, तोकिएको समयमा दोस्रो डोजको खोप नपाउँदा त्यो आत्मानुभूति धेरै समय नटिकेको नेपाल बताउँछन्।

‘खोप लगाउँदा १२ सातापछि अर्को खोप लगाउनुपर्छ। हामी बोलाउँछौँ, आउनुस् है बा भनेका थिए।’ उनले भने ‘पछि खोप छैन रे भनेको सुनेँ। फेरी रोगले सताउने हो कि भन्ने चिन्ताले सतायो।’ उनले अझै थपे ‘५ महिना काट्नै लाग्दा बल्ल खोप आयो रे हामी बुढापाकालाई, अर्को खोप पाउने सुन्दा खुसी लागेको छ।’

जापान र भुटानबाट ल्याइएको अस्ट्राजेनिका खोप दोस्रो डोजको रुपमा पाउने भएपछि मोतीराम जस्तै अरु करिब १४ लाख बृद्धबृद्धाहरुको कोरोना भाइरसलाई जित्ने आत्मविश्वास जागेको छ।

(आज) सोमबारदेखि शुरु हुने साताव्यापी खोप अभियानमा कोभिसिल्डको दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप लगाउने भएपछि संक्रमणलाई जित्ने उनीहरुको विश्वासमा टेवा पुगेको हो।  २५ साउन देखि ३१ साउनसम्म सञ्चालन हुने खोप सप्‍ताहमा कोभिशिल्ड लगाएका देशका १३ लाख ४३ हजार भन्दा बढी ज्येष्ठ नागरिकले दोस्रो मात्राको रुपमा  अस्ट्राजेनिका पाउने छन्।

‘अस्ट्राजेनिका खोप लगाउनेलाई नै सांकेतिक रुपमा सप्‍ताह मनाउने भनिएको हो।’ परिवार कल्याण महाशाखा प्रमुख डा. तारा पोखरेलले भने ‘लामो समयको प्रतिक्षारत ज्येष्ठ नागरिकको लागि ढिलै भएपनि खुसीको खवर आएको छ।’ 

साताव्यापी अभियानमा देशका ७ मध्ये ५ ज्येष्ठ नागरिकले प्रदेशका नागरिकहरुले खोप पाउने भएका हुन्। बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा सोमबार (आज) देखि अस्ट्राजेनिका खोप दिइनेछ। 

‘कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार (हिजो) खोप पठाईएको छ। उता  पुग्न दुई दिन लाग्छ। त्यसपछि व्यवस्थापन गरेर यसै सातामा ती प्रदेशमा अस्ट्राजेनिका खोप लगाउने तयारी छ।’ उनले थपे ‘७ जिल्लामा अझै भेरोसेल खोप लगाइरहेको छ। ती जिल्लामा भेरोसेल सकिएपछि अस्ट्राजेनिका खोप दिन शुरु गर्छ।’

यस्तै, प्रदेश नम्बर १  र २ मा भने भदौको पहिलो साता भित्रमा अस्ट्राजेनिकाको खोप दोस्रो डोजका लागि पठाइने डा पोखरेल बताउँछन्। आगामी दुइहप्ता भित्रमा देशभर कोभिडविरुद्धको खोप दोस्रो डोज लगाइसक्ने मन्त्रालयले जनाएको छ। 

दोस्रो डोजको खोप लगाएर सकिनासाथ पहिलो डोजको खोप नलगाएकाहरुलाई उमेर समुहको आधारमा खोप दिने कार्ययोजना रहेको डा. पोखरेलले जानकारी दिए। 

खोप फरक भएपनि प्रभावकारी रहने

पहिलो मात्रा कोभिशिल्ड लगाएको १२ हप्तामा दोस्रो मात्रा लगाउनुपर्ने भनिएपनि  भारतले खोप आयातमा रोक लगाएका कारण ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकले दोस्रो मात्राको खोप पाएका थिएनन्। भारतले अझै खोप आयातमा रोक लगाएको अवस्था छ। जसका कारण नेपाल सरकारले कोभिसिल्डको विकल्प खोजेको हो  । 

कोभिशिल्ड र अस्ट्राजेनिका फरक खोप भएपनि प्रकृतिका आधारमा उस्तै भएकाले दोस्रो डोजको रुपमा प्रभावकारी हुने खोपविज्ञ बताउँछन्।  ‘केही ढिला भएतापनि दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप लगाउँदा प्रभावकारी नै हुन्छ।’ खोप सम्बन्धित विज्ञ समुहका संयोजक तथा खोप विज्ञ डा. श्यामराज उप्रेतीले भने ‘पहिलो मात्राको कोभिसिल्डको प्रभाव केही कम हुँदै गएको भएपनि यसले दोस्रो मात्राको रुपमा काम गर्दछ। प्रभावकारी नै रहन्छ।’ 

कोभिड विरुद्धको कुनै पनि खोपको पुर्ण मात्रा लगाएपछि त्यसको प्रभावकारी कति समय रहन्छ भन्ने अहिलेसम्म यकिन प्रतिवेदन नआएको डा. उप्रेती बताउँछन्। तर, भाईरसले नयाँ भेरियन्ट म्युटेसन ( उत्परिवतर्न) नभएसम्मको लागि यो खोपको प्रभाव रहने डा उप्रेतीले बताए। 

थप ५ प्रतिशतले पूर्ण खोप पाउने आँकलन

नेपालमा गत माघ १४ गते देखि कोरोना भाईरस विरुद्धको खोप अभियान शुरु भएको थियो। शुरुमा अग्रपंक्तिमा रहेर कोरोनासँग जुध्ने डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई खोप दिईएको थियो। लगत्तै फागुन अन्तिमसाता  (२३) गतेदेखि संक्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप दिईएको थियो। 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १८ लाख  ६८ हजार ४२५ जनाले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए। ती मध्ये दोस्रो खोप  लगाउन बाँकी १३ लाख ४३ हजार ७६६ जनाले खोपको दोस्रो मात्रा अस्ट्राजेनिका लगाउने भएको हो  ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले आईतवार सम्ममा देशको कुल जनसंख्यामध्ये १६ प्रतिशतले पहिलो डोज खोप पाएको बताए। ‘यो भनेको लक्षित जनसंख्याको २० प्रतिशत हो। पुर्ण खोप ११ प्रतिशतले पाएका छन्।’ उनले भने

सरकारले खोप अभियान शुरु गरेको ६ बित्दापनि  कुलमध्ये ८ प्रतिशत नागरिकलाई मात्रै पुर्ण खोप दिन सकेको छ।   आगामी चैत्र महिना सम्ममा १२ वर्ष माथि उमेरका सवैलाई खोप दिने सरकारको लक्ष्य छ। तर, अहिलेसम्मको खोप दिने गति हेर्दा तोकिएको समयभित्र लक्षित वर्गसम्म  खोपको पहुँच नपुग्ने देखिएको छ।  सरकारले देशका ७१ प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्य लिएको छ।

यता, साताव्यापी खोप अभियानले थप ५ प्रतिशतले पूर्ण खोप पाउने दाबी मन्त्रालयले गरेको छ। यस सातामा मन्त्रालयले लक्षित गरेको नागरिकलाई खोप दिए पुर्ण खोप प्राप्त गर्ने नागरिक मात्रै १६ प्रतिशत हुनेछन्। 

आइतबार साँझसम्ममा ४४ लाख  ९४ हजार २ सय ६९ जनाले पहिलो डोज कोभिड विरुद्धको खोप लगाएका छन् भने २४ लाख ९२ हजार १ सय ८२ जनाले पूर्ण खोप पाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.