|
Photo : cmprachanda.com

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्र मन्त्रिपरिषदमा उपप्रधानमन्त्री कमल थापालाई दोस्रो वरियता दिने पक्षमा देखिएको छ। माओवादी केन्द्रको  केन्द्रीय कार्यालय बैठकमा उपप्रधानमन्त्री कमल थापालाई मन्त्रीपरिषद्को दोस्रो वरियतामा राख्ने सहमति भएको स्रोतले बतायो।

प्रधानमन्त्री पुष्पकमल दाहालपछि दोस्रो वरियतामा को रहने भन्‍ने विवादका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्। सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री रहेका विमलेन्द्र निधि र राप्रपा नेपालका तर्फबाट उपप्रधानमन्त्री रहेका कमल थापामध्ये वरियतामा को अगाडी भन्ने विवाद यथावत् छ।

'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कमल थापालाई दोस्रो वरियता दिने कुरामा सहमत भएका कारण हामीले निर्णय गरेका हौं,' बैठकमा सहभागी एक नेताले भने।

बैठकले संसद्‍मा विचाराधिन संविधान संशोधन विधेयक फिर्ता लिइ १-२ दिनभित्रै नयाँ प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गरेको छ। तराइमा स्थानीय तहको संख्या थप्ने विषयमा माओवादी केन्द्र सराकात्मक देखिएको छ। तर मतदाता नामावली अद्यावधिक गर्ने विषय संभव नभएको माओवादी केन्द्रको ठहर छ।

बैठकपछि प्रधानमन्त्रीको भनाइ उद्त गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले मधेसी मोर्चासँग सहमति हुनेमा आशावादी रहेको बताइन्,' मधेसी मोर्चा सरकार सहमतिको एकदम निकट पुगेको छ। फास्ट ट्रयाकबाट सहमति खोज्ने प्रयास हुनेछ,' उनले भनिन्।

पार्टीले स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित कमिटीबाट टुंगो लागेर आएका उम्मेदवारहरुको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मा प्रदेशका इन्चार्जहरुलाई दिएको उनले जानकारी दिइन्। माओवादीको प्रदेश नम्बर १ मा गोपाल किराती, प्रदेश नम्बर २ मा मातृका यादव, प्रदेश नम्बर ३ मा हितमान शाक्य, प्रदेश नम्बर ४ मा देव गुरुङ, प्रदेश नम्बर ५ मा वर्षामान पुन 'अनन्त', प्रदेश नम्बर ६ मा शक्ति बस्नेत र प्रदेश नम्बर ७ मा लेखराज भट्ट इन्चार्ज छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.