इलाम बगानमा रहेको बुस क्लोन गर्न सकिने

|

इलाम : नेपालमा औपचारिक रूपमा चिया खेती शुरू भएको १५८ वर्ष बितेपनि आफ्नै जातको चिया विकास हुन सकेको छैन।

अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्व बजारमा नेपाली ब्रान्डको चिया चिनाउन आफ्नै जातको विकास गर्न माग हुँदै आएको छ।

नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो। चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ।

राणाकालमै नेपालमा चिया खेती शुरू भएपनि अहिलेसम्म आफ्नै क्लोन नहुँदा अन्तराष्ट्रिय बजार विस्तारमा समेत समस्या हुँदै आएको व्यवसायीहरूको गुनासो छ।

‘नेपालबाट तयारी चिया खरिद गरेर भारतले दार्जिलिङ टी को नाममा अन्तराष्ट्रिय बजारमा पठाउने गरेको छ,’ सूर्योदय टी प्रोड्यूसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले भने, ‘हाम्रो आफ्नै चियाको जात नहुँदा विश्व बजारमा नेपालको चियाको आफ्नो पहिचान छैन। सरकारले समेत यस बारेमा गम्भीर बन्न नसक्दा बर्सेनि समस्या भोग्दै आएका छौँ।’ 

पश्चिम बंगालका केही भारतीय मिडियाले नेपाली चियाले भारतीय चियालाई विस्थापित गर्दै लगेकाले प्याटेन्ट राइटको कुरा उठाउनुपर्ने विषयलाई केही समयअघिदेखि प्राथमिकतासाथ उठाउँदै आएका छन्। भारतीय टी बोर्डले समेत गत अगष्टमा नेपालबाट अवैध रूपमा चिया आयात गरिएको भन्दै रोक्न माग गरेको थियो।

नेपालको चिया दार्जिलिङकै जस्तो गुणस्तरीय भएको र उत्पादन लागत कम भएकाले आन्तरिक र बाह्य बजार पनि प्रभावित गर्नसक्ने भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार नै गरेको देखिन्छ।

न्यूयोर्क टाइम्स लगायत विभिन्न अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले नेपालबाट हरियोपत्ती आयात गरेर दार्जिलिङ लेबल लगाउँदै विश्वबजारमा पठाउने गरेको समाचार प्रकाशन गरेका छन्। दार्जिलिङका धेरै चिया नेपाल–भारत सीमामा पर्ने इलामबाट निर्यात भएको उल्लेख छ। 

चिया सम्बन्धी सरोकारवाला पक्षले विगत लामो समय देखि नै नेपाली चियाको आफ्नो जात विकास गर्न माग राख्दै आएका छन्। चियाको हरेक जसो कार्यक्रममा संविधानसभा सदस्य टीकाराम सुब्बा लाप्चा नेपाली चियाको आफ्नै जात विकासको लागि टिस्यूकल्चर संचालन गर्नुपर्ने माग राख्दै आएका छन्।

‘भारत र चीनबीच बासमती चामलको प्याटेन्ट राइटको विषयमा भएको विवादजस्तै  नेपाली चिया पनि विवादमा आउनसक्छ। अझै पनि पुराना बगानबाट छनोट गरेर नेपाली चियाको क्लोन विकास गर्न सकिन्छ,’ लाप्चा भन्छन्, ‘यसको लागि केही वर्ष पक्कै लाग्छ सक्छ, तर, आफ्नै जातको पहिचान र विकास गर्न सकियो भने अन्तराष्ट्रिय बजारमा नेपाली चियाको पहुँच पुग्न सक्छ।’ 

नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको हरियो पत्तीलाई प्रशोधन गरेर भारतका उद्योगहरूले दार्जिलिङ टी को नामबाट विश्व बजारमा बिक्री गर्दै आएका छन्।

भारतीय टी बोर्डका अनुसार पछिल्लो ३ वर्षमा ६०.३५ मिलियन किलोग्राम चिया भारततर्फ आयात गरिएको छ। जसमध्ये २३.४३ मिलियन किलोग्राम पुनः निर्यात भएको छ। बाँकी ३६.९२ मिलियन किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ। नेपालबाट मात्रै ६ वर्षको अवधिमा ७१.९ मिलियन किलोग्राम हरियोपत्ती निर्यात भएको बोर्डले जनाएको छ।

यसअघि चिया तथा कफी विकास बोर्डले चियाको क्लोन विकासका लागि गरेका केही प्रयासले पूर्णता पाउन नसक्दा नेपाली चिया पहिचानविहीन बनेको हो.

चियाको आफ्नै प्रजाति विकास गर्ने उद्देश्यले फिक्कलमा हिमालयन टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) नामक गैरसरकारी संस्थाले डेढ दशकअघि नै पहल थालेको थियो। सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बिउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निस्क्रियतासँगै असफल रह्यो। 

सन् २००४ देखि तीन वर्षसम्मको कार्यक्रम सकिएपछि अलपत्र भएको नर्सरी चिया तथा कफी विकास बोर्डलाई हस्तान्तरण गर्‍यो। तर, उचित व्यवस्थापन हुन नसक्दा अस्तित्व नै समाप्त भयो।

बगानमा बुस छनोट गर्नेदेखि भारतबाट वैज्ञानिक ल्याएर आफ्नै ’क्लोन’ विकास गर्न पर्याप्त प्रयास भएको थियो। करिब १० वर्ष लाग्ने यो अभियान ३ वर्षमा छाडिएपछि नेपालको चिया विश्वमा चिनाउने प्रयास तुहिएको थियो।

नेपाली जातको क्लोन तयार गर्न दार्जिलिङ विज्ञ एसके प्रधानले लामो समयसम्म मिहिनेत गरे। उनले वि.स १९२० मा रोपिएको इलाम र वि.सं. १९२२ मा रोपिएको सोक्तिम बगानका पुराना बुससमेत पहिचान गरेर अध्ययन थालेका थिए।

तर, उनको निधनसँगै यो प्रयास पनि असफल देखियो। नीतिगत परिवर्तनले पनि यो प्रयासलाई बाधा पुगेको सरोकारवाला पक्षको भनाइ छ। बोर्डअन्तर्गत हुँदै आएको अनुसन्धान नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल (नार्क) लाई जिम्मा दिएपछि चियाको क्लोन विकास सुस्ताएको हो।

लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले चिया तथा कफी विकास बोर्ड क्लोन विकासको लागि बजेट विनियोजन गरेर काम अघि बढाएको कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई बताउँछन्। 

क्लोन विकासमा बोर्ड अघि बढ्दै

क्लोन विकासका गर्ने स्थानको बोर्डले छनौट गरि नार्कका वैज्ञानिकबाट अध्ययनको काम हुने भट्टराईले बताए।

‘नेपालको आफ्नै क्लोन नहुँदा कुन प्रजातिले कति उत्पादन दिन्छ भने भन्नसक्ने अवस्थासमेत छैन। नेपाली जातको विकास निम्ति बोर्डले नार्कसँगको समन्वयमा बजेट विनियोजन गरेर काम अघि बढाउने भएको छ।

अहिले नेपालमा भारतीय र चिनियाँ जातका चिया खेती भइरहेको छ। केही वर्षभित्रै नेपालले आफ्नै जातको विकास गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सक्षम हुनेछ।

विगतका वर्षहरूमा भएको अनुसन्धानका आएका तथ्यहरूलाई समेत एकीकृत गरेर नेपाली जातको विकासमा चिया तथा कफी विकास बोर्ड प्रतिवद्ध छ,’ भट्टराईले भने, ‘अहिले नेपालमा भारतीय र चिनियाँ जातका चिया खेती भइरहेको छ। केही वर्षभित्रै नेपालले आफ्नै जातको विकास गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सक्षम हुनेछ।’

बोर्डले अहिले नेपाली चियाको आफ्नो लोगो बनाएको छ। गत वर्षबाट  ‘नेपाल टी, क्वालिटी फ्रम दी हिमालयज’ कार्यान्वयनमा ल्याएको छ। पहिलो वर्ष १२ उद्योगले लोगो पाएकोमा यस वर्ष थप १२ उद्योग र व्यवसायीलाई हस्तान्तरण गरिएको छ। लोगो बनाएर अन्तराष्ट्रिय बजारमा नेपाली चिया पुर्‍याउने काम अघि बढाएपनि आफ्नो जात नहुँदा अझै पनि व्यवसायीहरूले समस्या भोग्दै आएका छन्। 

वि.सं. १९२० सालमा चीनका सम्राटले तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणालाई चियाको बिरुवा उपहारस्वरूप दिएका थिए। त्यही बिरुवा जंगबहादुरले आफ्ना ज्वाइँ तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापालाई रोप्न जिम्मा दिएपछि इलाम बजार र सोक्तिममा चिया विस्तार गरेको इतिहासमा उल्लेख छ। 

दार्जिलिङभन्दा नेपालमा पहिले चिया

दार्जिलिङ चियाभन्दा पुरानो नेपालको चियाले आफ्नै क्लोन विकास गर्न नसक्नु दुःखलाग्दो भएको विज्ञहरू बताउँछन्। डच अन्वेषक एवं भाषाविद् जर्ज भ्यान ड्रिमले आफ्नो पुस्तक द टेल अफ टी मा दार्जिलिङभन्दा नेपालमा पहिला चिया फेला परेको उल्लेख गरेका छन्।

दार्जिलिङमा चिया खेती हुनुभन्दा धेरैअघि सन् १८१८ सेप्टेम्बरमै काठमाडौंमा चिया पाइएको उनको खोजले देखाएको छ। जर्जले भनेका थिए, ’दार्जिलिङमा खेती हुनुभन्दा धेरैअघि सन् १८१८ सेप्टेम्बरमा एडवार्ड गार्डेनर्स नामका एक विदेशीले काठमाडौंमै चिया उम्रिएको फेला पारेका थिए। यसलाई सन् १८२० मा डेनिस वनस्पतिविज्ञ न्याथोनिल वालिचले पुष्टि गरेका हुन्।’

नेपालमा चीनले उपहार दिएर चिया खेती थालिएपनि भारतमा भने चोरी गरेर ल्याइएको न्यूयोर्क टाइम्समा मेक्स फोल्कोविचको लेखमा उल्लेख छ। 

सन् १८४८ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीले वनस्पतिविद रोबर्ट फर्च्युनलाई चीन गएर चियाका ताजा बोट चोरेर ल्याउन लगाएको थियो। त्यसपछि पश्चिम बंगालको हिमाली क्षेत्रमा रोप्ने इस्ट इन्डिया कम्पनीको योजना थियो। उनीहरू बेलायतकै अधीनमा चिया उत्पादन गर्न चाहन्थे।

चिया चोरेर ल्याउन वर्षौं लाग्यो। अन्ततः फर्च्यूनले त्यहाँबाट १३ हजार चियाको बेर्ना र १० हजार बीउ चोरेर ल्याए। विभिन्न स्थानमा रोपिएको बोटलाई भारतीय माटोमा बाँच्न कठिन भयो।

बल्लबल्ल १९ औं शताब्दीतिर दार्जिलिङको माटोमा विस्तारै चिया फस्टाउन थालेको विभिन्न अध्ययनहरूले देखाउँछ। नेपाली चियाको आफ्नो बजार नहुँदा कम गुणस्तरीय चियामध्ये आन्तरिक खपतबाट बाँकी रहेको चिया भारतीय खुद्रा बजारमा सस्तोमा बेचिन्थ्यो।

उच्च गुणस्तरको चिया भने भारतका ठूल्ठूला व्यापारी र उद्योगीले किन्न थाले। उनीहरू यही चियालाई पछि ’दार्जिलिङ टी’ का रूपमा लेबलिङ गरेर बेच्ने गरेका थिए।

फोल्कोविचले लेखेका छन्, ‘तपाई आफ्नो स्थानीय स्टारबक्समा नेपाल चिया पाउनुहुन्न। तर, तिनीहरू लोकप्रिय छन्, किनकी भारतीय बिक्रेताहरूले दार्जिलिङ टी को नाममा लेबल लगाएका छन्। ’

चीनमा पनि पुराना बुस नष्ट भएको अवस्थामा इलाम बगानमा रोपिएकै बेलाको समेत बुस भएकाले त्यसैबाट क्लोन विकास गरेर नेपालभर त्यही प्रजातिको खेती गर्न सकिने चिया उद्यमी उदय चापागाईं बताउँछन्।  इलाम बगानबाटै गोटीलाई अमेरिकासम्म पुर्‍याएर चिया उत्पादन गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.