|

भक्तपुर : भक्तपुरको शारदा माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरूलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सीपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ।

शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न शारदाले सो शिक्षाको शुरूवात गरेको हो।

भक्तपुर नगरपालिका–२, यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगै जोडिएको शिक्षाको शुरूवात गरेको जनाएको छ।

विद्यालयले चालु शैक्षिक सत्रदेखि वाद्यवादन, फूलबारी निर्माण, चित्रकला, जडिबुटी खेती, जैविक खेती, सुकुल बुन्ने कला, विभिन्न हस्तकला, विभिन्न खेल प्रशिक्षण, भाषा प्रशिक्षण, च्याउ खेती र करेसाबारीको कामलाई जीवन उपयोगी शिक्षासँग जोड्नका लागि विषय क्षेत्र बनाएको छ। त्यसैगरी, दैनिक घरायसी काम र ससाना समस्या आफैँले समाधान गर्न सकिने सीप पनि दिने योजना बनाएको विद्यालयका प्राचार्य रोशनराज तुइँतुइँले बताए।

‘हामीले धेरै पहिलादेखि शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा बताउँदै आइरहेका छौँ, तर सकिरहेका थिएनौँ, तर यो शैक्षिक सत्रबाट भने हामीले त्यसलाई मूर्त रूप दिन प्रयास गरेका छौँ,’ प्राचार्य तुइँतुइँले भने।

उनले जीवनोपयोगी शिक्षा र व्यवहारिक ज्ञानलाई उत्पादन श्रम र सीपसँग जोडी विद्यार्थीलाई थप व्यवहारिक बनाउने अवधारणाले व्यवहारिक शिक्षाको कक्षा शुरू गरेको बताए। ‘हाम्रा विद्यार्थीहरूसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्न पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम  गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

उनले आगामी दिनमा घरायसी समस्या समाधानबारे पनि व्यवहारिक शिक्षा दिने योजना रहेको बताए। भने, ‘हाम्रा पढेका विद्यार्थीलाई घरमा बत्ती बिग्रियो भने एउटा चिम फेर्न, स्वीच फेर्न समेत आउँदैन, धाराको पाइप फुट्दा जोड्न आउँदैन, ती घरायसी काम गर्ने सीप पनि हामी यसमा समावेश गर्छौं।’ त्यसका लागि विद्यालयले छुट्टै ल्याब र खेती गर्न खेत समेत भाडामा लिएको उनले जानकारी दिए। 

विद्यालयले केही समयअघि नै सो योजना बनाएपनि बजेट अभाव हुँदा त्यसलाई कार्यान्वयन गर्न सकेको थिएन। ‘यही शैक्षिक सत्रका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय समावेश भएपछि सो योजनालाई अघि बढाउन सहयोग पुगेको हो,’ उनले भने, ‘सो कार्यक्रमअन्तर्गत नव प्रवर्द्धनात्मक प्रविधि र विद्यार्थी शैक्षिक सुधार तथा शिक्षण सामग्री व्यवस्थापनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयलाई समावेश गरेको छ।’

सो विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत छन्‌। विद्यार्थीहरूलाई सीप सिकाउन शिक्षकसँग भएका सीपलाई उपयोग गर्नुका साथै स्थानीय व्यक्तिहरूलाई समेत प्रशिक्षकका रुपमा सहयोग मागिनेछ। 

‘स्थानीयस्तरमै पनि वर्षौंदेखि विभिन्न पेशा, व्यवसाय गरिरहेका, दाफा र भजनमा संलग्न व्यक्तिहरू छन्, तिनीहरूको सीपलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि हामीले यो प्रयास गरेका हौँ’, उनले भने।

विद्यालयको नयाँ अवधारणामा विद्यार्थीको पनि अभिरुचि रहेको पाईएको छ। हाल विद्यार्थीहरू वाद्यवादन बजाउने र सुकुल बुन्नेलगायतका सीपको व्यवहारिक ज्ञान लिन थालेका छन्‌। 

विद्यालय तहबाटै शिक्षालाई व्यवहारिक बनाउनुपर्ने जरुरी रहेको शिक्षाप्रेमी हिमालयश्वरलाल मुलले बताए। उनले पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन सके त्यसले शिक्षालाई थप गुणस्तरीय बनाउन सघाउने बताए।

‘हाम्रो पाठ्यक्रम उत्कृष्ट छ, पाठ्यक्रममा हरेक विषयको क्रियाकलाप गराउन भनेको छ, तर सीमित स्रोत, साधनको कमी, बजेटजस्ता कारण त्यसलाई नगर्दा समस्या भएको छ, माटोसँगै हुर्कनुपर्ने विद्यार्थी माटोलाई हेला गर्ने बनेका छन्, यसैले अब माटोलाई माया गर्ने जनशक्ति उत्पादनका लागि पनि यस्तो अवधारणाको शिक्षा दिनुपर्छ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.