|

जुम्ला : ‘स्याउको राजधानी’ भनी चिनिने जुम्लाबाट यस वर्ष पनि काँचो स्याउ निर्यात हुन थालेको छ। यसो हुँदा स्याउ खेतीमा बनाएको पहिचान नै जुम्लाले गुमाउने जोखिम बढेको छ।

किसानले पाक्दै नपाकी स्याउ बेच्न थाल्दा जुम्लाको पहिचान गुम्ने खतरा भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ। राम्ररी पाकेर गुलियो भरिएपछि मात्रै स्याउ टिप्न सुझाव दिइएपनि कृषक र व्यापारीले अटेर गरिरहेका कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए।

उनले भने, ‘भदौ महिनाको दोस्रो सातासम्म स्याउ परिपक्व हुने , गुलियो भरिने र रातो रंगको देखिने गरेपनि यहाँका कृषकले हरेक वर्ष साउन महिनामै काँचै स्याउ टिपेर बिक्रीवितरण गर्ने गरेको पाइएको छ।’

जुम्लाको स्याउ बाहिर जिल्लामा बिक्रीवितरण तथा निर्यात गर्न यहाँका गाउँ तथा वडाले सिफारिस गर्ने व्यवस्था छ। तर, स्थानीय तहका केही जनप्रतिनिधिले काँचो स्याउ निर्यात गर्न सिफारिस दिने गरेकाले यो समस्या हरेक वर्ष दोहोरिने गरेको कृषि विज्ञहरूले बताउने गरेका छन्।

कृषि विकास कार्यालय जुम्लाले भदौ महिनाको १० गतेभन्दा अघि कृषक तथा व्यापारीलाई स्याउ नटिप्न र बिक्रीवितरण नगर्न स्थानीय तह तथा सरोकारवाला निकायलाई परिपत्र गरेको छ।परिपत्र गर्दा पनि सुर्खेत र नेपालगञ्‍जसम्म चोरी निकासी भइरहेको छ।

जुम्ला सडक खण्डको हरेक प्रहरी चौकीमा काँचो स्याउ बिक्रीवितरण रोक्न परिपत्र गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रतिकेजी ५० देखि ६० रुपैयाँमा खरिद

काँचो स्याउ पनि कृषकको बारीबाटै प्रतिकेजी ५० देखि ६० रुपैयाँमा खरिद गर्ने गरेका छन्‌। ​सुर्खेत र नेपालगञ्‍जमा भने जुम्लाको स्याउ प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ।

स्याउ परिपक्व र गुलियोपना भरिएर रातो रंग दिएपछि बाहिर जिल्लामा प्रतिकेजी १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गर्छ।

यहाँ रैथानेसहित उन्नत जातको फुजी स्याउ खेती गर्ने कृषक बढेका छन्। झण्डै २३ जना कृषकले ६० हजार बिरुवा रोपेर उन्नत जातको फुजी स्याउ खेती गर्दै आएका छन्।

फुजी स्याउ खेतीमा सरकारले अनुदान पनि दिँदै आएको छ।

क्षेत्रफल बढ्दै, उत्पादन घट्दै 

जिल्लाको ३ हजार ८०० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ। यसमध्ये १ हजार ६०० हेक्टरमा उत्पादन भइरहेको छ।

यस वर्ष स्याउ खेतीबाट १६ करोड रुपैयाँ बराबर ​आम्दानी हुने अपेक्षा राखिएको छ। गतवर्ष झण्डै १२ करोड रुपैयाँ बराबरको स्याउ बिक्री वितरण भएको तथ्यांक छ।

स्याउ उत्पादनमा कमी आएपछि खेती गर्ने क्षेत्रफल बढी भएकाले निर्यातमा कमी नआउने कृषि विकास कार्यालय जुम्लाका अधिकारी बताउँछन्‌।

​यहाँका कृषक र व्यापारीले हरेक वर्ष काँचो स्याउ बिक्रीवितरण गर्दै आएका छन्। यसमा नियमन आवश्यक रहेको चन्दननाथ नगरपालिकाका स्याउ कृषक सरोज शाहीले बताए।

उनले भने, ‘पाकेको परिपक्व स्याउ बिक्री गर्दा आम्दानी राम्रो हुन्छ। मैले उन्नत जातको फुजी स्याउ खेती गरेको छु। यो स्याउ असोज महिनामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.