दुई वर्षदेखि अलपत्र बन्यो म्याग्दीको अस्पताल भवन

|

म्याग्दी : निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले​ म्याग्दीस्थित बेनी अस्पताल भवन निर्माण जिम्मा लिएर अलपत्र पारेका छन्‌।

सिंहको निर्माण कम्पनीसहित संयुक्त उपक्रम महादेव खिम्ती–गल्वा–रफिना जेभीले करिब दुई वर्षदेखि भवन निर्माण अलपत्र पारेको हो। 

२० महिना अघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माण कार्य पनि अन्योलमा परेको हो।

कोभिडको उच्च जोखिममा रहेको सदरमुकाम बेनीमा अस्पताल भवन ठेकेदारले समयमै तयार नगरिदिँदा बिरामीलाई अस्थायी र साँघुरा कोठामा राखेर उपचार सेवा दिनुपरेको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।​


अस्पताल अलपत्र बनाउने तीनैजना व्यवसायीहरू ‘शक्तिशाली’ छन्। विभिन्न बहाना बनाएर पहुँच र शक्तिका भरमा उनीहरूले योजनाको म्याद थप्दै आएका छन्।

महादेव खिम्तीका सञ्चालक रवी सिंह निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् भने गल्वा कन्ट्रक्सनका सञ्चालक नरहरी थपलिया उपमहासचिव र रफिना कन्ट्रक्सनका सञ्चालक रविन जोशीले म्याग्दीको स्वास्थ्य क्षेत्रका भवन निर्माणमा खेलवाड व्यक्ति हुन्‌।

तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले वि.सं.२०७३ मङसिर २१ गते ५० शय्या क्षमता रहने अस्पताल भवन निर्माण गर्न महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। भवन निर्माण लागत २४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ अनुमान गरिएको थियो। 

भवन बनाउने जिम्मेवारी रविन जोशीले लिएका थिए। वि.सं. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर, सम्झौता भएको मितिसम्म ५० प्रतिशत काम पनि भएको थिएन।

भवन निर्माणका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउँदै २०७७ जेठ २० गते एक वर्ष म्याद थप गरिएको थियो। शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरबल सुनारका अनुसार भौतिक निर्माणको काम हालसम्म जम्मा ५५ प्रतिशत मात्र सकिएको छ। 

उनका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले ९ करोड रुपैयाँ हारहारीमा भुक्तानी समेत लगिसकेको छ।

‘गत आर्थिक वर्षमा २ करोड जतिको बिलको भुक्तानी माग गरेका थिए, सर्वोच्च अदालतले २ करोड रुपैयाँको बिल बाँकी राखेर भुक्तानी गर्ने आदेश दिएकाले भुक्तानी दिएका छैनौँ,’ सुनारले भने, ‘अहिलेपनि कोरोनाका कारण देखाउँदै म्याद थप्न पत्र आएको छ।’

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीनवटा भवन निर्माणको काम लिखित र मौखिक प्रतिवद्धताअनुसार गर्न नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालय पत्रसमेत काटेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा गरेअनुसार आगामी मंसिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ। साझेदारीमा काम गरेका तीनवटै निर्माण व्यवसायीबीच विवाद हुँदा काम अघि बढ्ने आधार देखिएको छैन।

भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न हालसम्म १० वटा पत्र नै काटेको छ। तर, ठेकेदार कम्पनीले पत्रको बेवास्ता गरिरहेको छ।

निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसक्दा अस्पताल सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले बताए।

‘५० शय्या क्षमता भएपनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ,’ उनले भने, अहिलेसम्म निर्माण व्यवसायीहरू सम्पर्कमा आएका छैनन्।’

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। सघन उपचार कक्ष (आईसीयू) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ।

१५ शय्या क्षमताको अस्पताललाई २०७२ मा ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको थियो। जिल्लाका राजनीतिक दल, प्रतिनिधि र प्रदेश सांसदको उदासीनताले बेनी अस्पतालको भवनसँगै जिल्लाका मुख्य सडकहरू हाई प्रोफाइल ठेकेदारले अलपत्र पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.