|

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको सेनाले तालिबानलाई सत्ताबाट हटायो। तर बिस्तारै यो समूहले आफूलाई बलियो बनायो र अब एक पटक फेरि अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन थालेको छ।

झण्डै दुई दशकपछि अमेरिकाले सेप्टेम्बर ११, २०२१ सम्ममा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता गर्ने तयारी गरिरहेको छ। तर यही समयमा अफगानिस्तानका विभिन्न प्रान्तलाई तालिबानले आफ्नो नियन्त्रणमा लिँदै गइरहेका छन्।

तालिबान कहिले सुरु भयो?

'तालिबान' शब्दको उत्पत्ति अरबी भाषाको 'तालिब' बाट भएको हो जसको अर्थ विद्यार्थी हुन्छ। अफगानिस्तानको यो लडाकु समूह ९० को दशकको मध्यतिर सुरु भएको हो। त्यसबेला रसिया (तत्कालीन सोभियत संघ) ले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिरहेका बेला पाकिस्तानका केही धार्मिक विद्यार्थीले तालिबानको स्थापना गरेका थिए।

त्यसबेला तालिबान अफगानिस्तान र पाकिस्तानको बीचमा पर्ने पश्तून क्षेत्रमा शान्ति र सुरक्षा स्थापित गर्न सफल भएको थियो। त्यसै समयमा तालिबानको प्रभाव दक्षिण पश्चिम अफगानिस्तानमा तीव्र गतिमा विस्तार भयो। सेप्टेम्बर १९९५ मा उसले इरानको सिमानामा पर्ने हेरात प्रान्त कब्जा गरेको थियो। एक वर्षपछि तालिबानले अफगान राजधानी काबुल कब्जा गर्‍यो।

तालिबानको नियन्त्रण

उसले अफगानिस्तानका तत्कालीन राष्ट्रपति बुरहानुद्दीन रब्बानीलाई सत्ताच्यूत गर्‍यो। रब्बानी अफगानिस्तान मुजाहिद्दिनका संस्थापक सदस्यमध्ये एक थिए।  उनीहरू अफगानिस्तानमा सोभियत संघको सैनिक हस्तक्षेप विरोधी थिए।

सन् १९९८ सम्म तालिबानले अफगानिस्तानको ९० प्रतिशत भूभागमा नियन्त्रण कायम गरिसकेको थियो। सोभियत सैनिक फिर्तापछि तालिबान मुजाहिद्दिनको अत्याचारविरूद्ध संघर्षमा उत्रियो। फलस्वरूप अफगानीहरूले तालिबानको स्वागत गरे।

भ्रष्टाचार नियन्त्रण, अराजकता र अव्यवस्थामा सुधार, सडक निर्माण तथा आफू नियन्त्रित भूभागमा भौतिक पूर्वाधार र सुविधाहरू उपलब्ध गराएर अफगानीहरूमाझ तालिबान लोकप्रिय बनेको थियो।

त्यसपछि तालिबानले इस्लामिक कानूनअनुसार दण्ड सजायको नियमहरू लागू गरेको थियो। जसमा हत्या र अपराधका दोषीलाई सार्वजनिक फाँसी र चोरी गर्नेलाई सार्वजनिक स्थलमै काटेर मृत्युदण्ड दिने काम गरे।

यति मात्र होइन तालिबानले नयाँ नियम लागू गरे। पुरुषले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने र महिलाले पूरै शरीर छोप्ने कालो कपडा लगाउनुपर्ने अनिवार्य गरियो।

तालिबानले टेलिभिजन, संगीत र सिनेमामा प्रतिबन्ध लगायो। १० वर्षभन्दा बढी उमेरका केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगायो।

तालिबानको सरकारलाई मान्यता दिने देशहरू

इस्लामिक कानुनअनुसार दण्डसजाय लागू र बुर्काप्रथा तथा महिलाहरूको अध्ययनमा प्रतिबन्ध लगाउनेजस्ता काम गरेपछि तालिबानले मानव अधिकार उल्लंघन र सांस्कृतिक दुर्व्यवहारका आरोपको सामना गर्न थाल्यो।

यसको एउटा कुख्यात उदाहरण २००१ मा देखिएको थियो जब तालिबानले अन्तर्राष्ट्रिय विरोधका बावजुद अफगानिस्तानको बामियानमा रहेका बुद्धका विशाल मूर्तिहरू भत्कायो।

जतिबेला अफगानिस्तान तालिबानको नियन्त्रणमा थियो, पाकिस्तान तालिबान सरकारलाई मान्यता दिने संसारका तीन देशमध्ये एक थियो। पाकिस्तानबाहेक साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि तालिबान सरकारलाई मान्यता दिएका थिए।

तर पाकिस्तानले आफूमाथि लाग्दै आएको तालिबान गठन र सुदृढ बनाएको आरोप भने लगातार अस्विकार गर्दै आएको छ। उसले अस्विकार गरे पनि तालिबान आन्दोलनका संस्थापकहरू पाकिस्तानका मदरसाबाट आएका धार्मिक विद्यार्थीहरू नै थिए।

ओसामा बिन लादेनलाई संरक्षण गरेको आरोप

सेप्टेम्बर ११, २००१ मा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अल–कायदाको ध्यान तालिबानतर्फ आकर्षित भएको थियो। तालिबानमाथि न्युयोर्क आक्रमणका मुख्य संदिग्ध ओसामा बिन लादेन र अल–कायदाका लडाकुलाई शरण दिएको आरोप छ।

अक्टोबर २००१ मा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्‍यो र डिसेम्बर पहिलो साता अफगानिस्तानबाट तालिबानको शासन समाप्त भयो। ओसामा र तत्कालीन तालिबान प्रमुख मुल्ला मोहम्मद उमर र उनका सहयोगीहरू अमेरिकाको सबैभन्दा ठूलो खोज अभियान सुरू भएसँगै अफगानिस्तानबाट भाग्न सफल भएका थिए।

धेरै तालिबान लडाकुले पाकिस्तानको क्वेटा सहरमा शरण लिएका थिए। तर पाकिस्तानले क्वेटामा तालिबानको उपस्थिति अस्विकार गर्दै आएको छ।

तालिबानको निशानामा मलाला

पाकिस्तान तालिबानसँग कूटनीतिक सम्बन्ध तोड्ने देशमध्ये अन्तिम थियो।

कुनै समय तालिबानले आफू नियन्त्रित उत्तर पश्चिम अफगानी भूभागबाट पाकिस्तानलाई अस्थिर पार्ने धम्की दिएको थियो।

यही अवधिमा तालिबानले पाकिस्तानी किशोरी मलाला युसूफजईमाथि अक्टोबर २०१२ मा मिंगोरास्थित स्कुलबाट घर फर्कँदै गरेका बेला गोली प्रहार गरेको थियो। आफ्ना अत्याचारको विरोध गरिरहेकी १४ वर्षीया मलालासँग तालिबान  क्रुद्ध भएको थियो।

घटनामा सिकिस्त भएकी मलाला बल्लतल्ल बाँचेकी थिइन्। त्यसबेला यो घटनाको व्यापक भर्त्सना पाकिस्तानमा मात्र नभएर अन्तरराष्ट्रिय तवरमा नै भएको थियो।

यसको दुई वर्षपछि तालिबान लडाकुले पेसावरको एउटा स्कुलमा हमला गरे। त्यसपछि भने पाकिस्तानमा तालिबानको प्रभाव न्यून हुँदै गएको थियो।

सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानमा तालिबान कमान्ड गर्ने हकीमुल्लाह मेहसुदसहित तीन महत्वपूर्ण नेता मारिएका थिए।

दोहा सम्झौता

तालिबानले सन् २०१८ मा अमेरिकासँग वार्ता सुरु गरेको थियो। फेब्रुअरी २०२० मा दोहामा उनीहरूबीच एउटा सम्झौता भयो, जसअनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो। साटोमा तालिबानले अमेरिकी सैनिकमाथि आक्रमण रोक्न सहमति जनाएको थियो।

सम्झौतामा तालिबानले अल–कायदा र अन्य उग्रवादी संगठनलाई उसको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नदिन र राष्ट्रिय शान्ति वार्तामा सामेल हुने प्रतिबद्धता जनाएको थियो।

तर सम्झौताको अर्को वर्षदेखि नै तालिबानले अफगानी नागरिक र सुरक्षाकर्मीलाई निसाना बनाउँदै आएका छन्।

अब अमेरिकी सेनाले अफगानिस्तान छाड्ने तयारी गरिरहेका बेला तालिबानले तीव्र गतिमा प्रभुत्व कायम गर्दै गएका छन्।

अमेरिका–तालिबान सहमति

तालिबानले सन् २००१ मा बेहोरेको पराजयपछि पहिलो पटक एउटा प्रान्तको राजधानी नियन्त्रणमा लिएको थियो। उनीहरूले रणनीतिक रूपमा महत्वपूर्ण कुन्दुज सहर नियन्त्रणमा लिएको थियो। मुल्ला मंसूर सन् २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा मारिए। त्यसपछि संगठनको कमाण्ड मौलवी हिब्तोल्लाह अखुन्जादालाई सुम्पिइएको थियो। उनी नै अहिले पनि तालिबानको नेतृत्वमा छन्।

फेब्रुअरी सन् २०२० मा अमेरिका–तालिबान शान्ति सम्झौता भएको थियो। यसपछि तालिबानले देशका प्रमुख सहर र सैन्य रणनीतिका हिसाबले महत्वपूर्ण भूभागमा आक्रमण गर्दै आएको छ। तालिबानको निरन्तरको आक्रमण र कब्जाबाट अफगानीहरू त्रसित भइरहेका छन्।

सरकारलाई तालिबानको धम्की

तालिबानको आक्रमणको तारोमा पत्रकार, न्यायाधीश, शान्ति कार्यका स्वयमसेवक र सत्तामा रहेका महिला परेका छन्। अन्तरराष्ट्रिय सहयोगबिना त्यहाँको सरकारको अस्तित्व खतरामा छ। तर अमेरिकी राष्ट्रपति बाइडेनले अप्रिल २०२१ मा सबै अमेरिकी सेना सेप्टेम्बर ११ सम्म फिर्ता हुने घोषणा गरेका थिए।

दुई दशक चलेको युद्धमा अमेरिकालाई मात गरेर तालिबानले ठूलो भूभाग कब्जा गरिरहेको छ। यसबाट अमेरिकी सेना फिर्ता भएपछि काबुलमा सरकार अस्थिर हुने खतरा छ। सन् २००१ पछि पहिलो पटक तालिबान यति सशक्त देखिएको छ। उत्तर एटलान्टिक सन्धी संगठन (नाटो) को अनुमानअनुसार तालिबान लडाकुको संख्या करिब ८५ हजार छ।

बिबिसीबाट 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.