|

काठमाडौं : नेकपा (एमाले) भित्र चर्किएको विवाद मिल्न सम्भावना कमजोर बन्दै भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूह अलग अलग बाटो तय गरेर अघि बढिसकेका छन्। 

तर, दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउने वातावरण बनाउनै प्रयासरत छन्। एक समूहले अर्को समूहलाई ‘बाइपास’ गरेर अघि बढ्ने रणनीति अख्तियार गरेका छन्। शिर्ष नेताहरूका अभिव्यक्तिले स्पष्ट विभाजनको संकेत दिए पनि दोस्रो तहको नेताहरूको दबावमा पार्टी एकताको पक्षमा उभिएका छन्। 

आफ्नो नेतृत्वको सरकार बहिर्गमनमा निर्णायक भूमिका खेलेकाले नेपाल समूहलाई पार्टीमा फर्काउन बल गर्ने पक्षमा ओली छैनन्। तर, पार्टीमा मध्यमार्गी भूमिका खेलिरहेका विष्णु पौडेल, सुवास नेम्बाङ, प्रदीप ज्ञवालीलगायत दोस्रो तहका नेताहरूको दबाब ओलीमाथि छ। आफैं एकता पहल नगरे पनि दोस्रा तहका नेताहरूले मिलाएर ल्याए स्वीकार्ने पक्षमा ओली छन्। 

यता पार्टी एकताको पक्षमा उभिने निष्कर्षसहित बढेको भए पनि नेपाल समूहमाथि ओलीको दबाब पछिल्लो समय थपिएको छ। नयाँ पार्टी खोल्न दबाब बढिरहेको नेपाल समूहलाई एक्ल्याएर ओलीले पार्टीको गतिविधि तीव्र रुपले अघि बढाइरहेका छन्। त्यसो त नेपालमाथि पनि एकताका लागि भीम रावल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको दबाब छ। 

नेपालमाथि दोस्रो तहले एकताका लागि बल गरेपनि तेस्रो तहका नेताहरू विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायत ओलीसँग निहुरिएर एकता नहुने पक्षमा अडिग छन्। 

त्यसो त एकता बचाउन नेपाल समूहले पार्टीको गतिविधि रोक्न आग्रह गरिरहेको भए पनि अझै कुरेर बस्ने समय नभएकाले पार्टी कामलाई अघि बढाइएको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। 

‘हामीले पार्टीमा कसैलाई ढोका बन्द गरेका छैनौँ। पार्टीको महाधिवेशनको कुरा छ। त्यसमाथि यही वर्ष स्थानीय तहको निर्वाचन पछि छ। त्यसैले हामी पार्टीलाई अझै अलमलमा राख्न चाहँदैनौँ’, उनले भने, ‘पार्टीमा उहाँहरू जहिले फर्किए पनि योग्यताअनुसार जिम्मेवारी पाउनुहुन्छ।’

नझुक्ने तर, अध्यक्षमा शक्ति थोपर्ने !

पार्टी एकताका लागि अध्यक्ष ओलीकै प्रस्तावमा नेता नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव लग्दासमेत अस्वीकार गरेको उनको भनाइ छ। 

प्रवक्ता ज्ञवाली भन्छन्, ‘अध्यक्षज्यूकै प्रस्तावमा एकता हुन्छ भनेर दोस्रो अध्यक्षको प्रस्ताव लगेका थियौँ। तर, उहाँलाई त्यो कुरा मान्य भएन। हामी कार्यदलले गरेको १० बुँदे सहमतिलाई टेकेर एकता अघि बढाउन चाहन्थ्यौँ। तर, उहाँ (नेपाल)को अस्वीकार पछि अघि बढ्न सकेन।’

पार्टी एकताका लागि नेपाल समूहले भने बमोजिम समान हैसियत दिन नसक्ने उनी बताउँछन्। 

‘हामीले आगामि महाधिवेशनबाट अध्यक्षलाई पार्टीमा शक्तिशाली बनाउने अभ्यास गर्न लागेका छौँ। पार्टीमा आएर जोसुकै अध्यक्षको दाबी गर्न पाउनुहुन्छ। तर, अहिले महाधिवेशनबाट निर्वाचित अध्यक्षसरह अधिकार दिएर अघि बढ्न सक्दैनौँ’, प्रवक्ता ज्ञवाली भन्छन्।

ओली पक्षले समान अधिकार नदिए पार्टी एकता गर्न नहुने नेता नेपाल समूहको निष्कर्ष छ। मंगलबार आफूनिकट अनेरास्ववियुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भनेका थिए, ‘हामी दृढताका साथ अगाडि बढ्छौँ। कसैको टाङमुनि छिर्ने वाला छैनौँ। अँध्यारो सुरुङतर्फ जानेवाला छैनौँ। तानाशाही प्रवृत्तिसँग झुकेर होइन अहंकारीलाई माथ दिएर अघि बढ्छाैं’ 

ओली र नेपाल समूहको आ-आफ्नै दम्भका कारण एमाले एकता जोगाउने दोस्रो तहका नेताहरूको प्रयास विफल बन्दै गइरहेको छ। सहमतिबिना बैठकमा नजाने नेपाल समूहको अडान र ओलीको एकपछि अर्को गर्दै चालेको कदमले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको प्रस्ट भएको छ। 

त्यसो त अध्यक्ष ओलीकै 'बाइपास'को कारणले पार्टी एकता कमजोर बन्दै गइरहेको अवस्थामा एमालेले महाधिवेशनबाट अध्यक्ष मात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ। त्यसबाहेक सबै पदाधिकारी केन्द्रीय कमिटी सदस्यहरूमध्येबाट चयन हुनेछन्। ​

नेपाल पक्षको सहमतिबिना एकलौटी गरिएको प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरेको छ। अहिले उपाध्यक्ष र सचिव ५/५ जना रहदै आएका छन्। यस्तै, पोलिटब्युरोको व्यवस्था भने हटाउने भएको छ। तल्लो कमिटीसम्म अध्यक्ष बाहेकको अन्य पदाधिकारी कमिटीको मनोनयनबाट आउने भएका छन्। 

‘ओलीको बैठकको अर्थ छैन’ 

तर, संस्थापन पक्षबाट भएको एकलौटी बैठकको कुनै अर्थ नभएको नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

‘हाम्रो पहिलो प्राथामिकता भनेको पार्टी एकता नै हो। तर, एकताका लागि एकलौटी बैठक रोक्न हामीले बैठकबाटै आग्रह गरेका थियौँ। उहाँहरूले सुन्नुभएन’, उनले भने, ‘उहाँहरूको कदमपछि हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेपछि मात्रै निष्कर्षमा पुग्छौँ।’

पार्टी एकताको पहल भइरहेको हुनाले विधान महाधिवेशनको नाममा भएका पार्टीको सबै गतिविधि रोकेर ०७५ जेठ २ कै संरचनालाई बढाउनुपर्ने उनको भनाइ छ 

समानान्तर गतिविधिलाई तीव्रता 

ओलीले पार्टीलाई एकलौटी बढाउने निर्णय गरेपछि नेता नेपाल समूहले पार्टीमा समानान्तर गतिविधिलाई निरन्तरता दिने भएको छ। पार्टी एकताको पक्षमै भए पनि ओलीले ढोका बन्द गरेर 'आइज' भनेजस्तो प्रवृत्ति देखाएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

उनी भन्छिन्, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। तर, उहाँको व्यवहारले एमालेमै रहेर संघर्ष गर्न समेत अफ्ठ्यारो पर्ने खालको छ। ओलीको कदम कम्युनिष्ट आन्दोलनविरोधी छ।’

ओलीले आफ्नो कदलाई निरन्तरता दिइरहेपछि आफूहरूले पनि देशैभर समानान्तर गतिविधिलाई तीव्रता दिइने उनको भनाइ छ। 

‘विभाजनकारी प्रवृत्ति हाबी भइरह्यो’

पार्टीभित्रको विवाद समाधानका लागि लागिपरेका नेता भीम आचार्य पार्टीमा विभाजनकारी प्रवृत्ति हावी भइरहेकाले गम्भिर संकटबाट गुज्रिरहेको बताएका छन्। ​

उनले फेसबुकमा लेखेका छन्, ‘एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्। अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेको छ।’ 

गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार भएको उनको भनाइ छ। 

‘विना जालझेल, छलछाम र हिचकिचाहट दसबुँदे सहमतिलाई लागु गर्नु पर्दछ’, उनले लेखेका छन्, ‘हाल पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.