|

प्राक्कथन :
‘अब त ढिलो हुन्छ कि साथी हो, बन्दैन देशले आफैँ बुझ्नु जाती हो।’

गायक हेमन्त शर्माको स्वर,सँगीत र शब्द रहेको यस गीतले वास्तवमा हामी नेपालीहरूले अब ढिला गर्नु हुँदैन, आफ्नो देशको विकास निम्ति सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बेला भएको छ भन्ने सन्देश दिएको छ। सिंगो देशले विकासको मुहार फेर्न खोजिरहेको छ। हामी नवजवानहरूको आवश्यकता महशुस गरिरहेको छ। 

यस आलेखको मूल विषयमा प्रवेश गर्नुभन्दा पहिले केही देशको राष्ट्र प्रमुखको उमेर र ती देशमा युवाको उमेरहदबारे तालिकामा हेरौँ : 

क्र.सं. देश राष्ट्रपतिको नाम राष्ट्रपतिको उमेर युवा उमेरसमूह
नेपाल विद्यादेवी भण्डारी ६० वर्ष १८–४०
भारत रामनाथ कोविद ७५ वर्ष १५–२९
अमेरिका जोसेफ रोबिनेट बिदेन ७८ वर्ष १८–२४
चीन सी चीनफिङ ६८ वर्ष १४–३५
पाकिस्तान अरिफ-उर–रहमान अल्भी ७२ वर्ष १५–२९
फ्रान्स इमानुएल माक्रोन ४३ वर्ष १८–२४
ब्राजिल जैर बोल्सेनारो ६६ वर्ष १५–३३
इटली सर्गियो माटारेला ८० वर्ष १५–३५
बंगलादेश मोहम्मद अब्दुल हमिद ७७ वर्ष १८–३५
१० बेल्जियम चार्ल्स मिचाल ४५ वर्ष १२–२६
११ दक्षिण अफ्रिका मातामेला काइरिल रामाफोसा ६८ वर्ष १४–३५
१२ श्रीलंका गोटाभाय राजापाक्षे ७२ वर्ष १५–२९
१३ भुटान राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक ४१ वर्ष १३–२४
१४ अफगानिस्तान मोहम्मद असरफ घानी ७२ वर्ष १८–३५
१५ माल्दिभ्स इब्राहिम मोहम्मद सोलिह ५९ वर्ष १८–३४

‘यो विश्वले युवाहरूको गुण माग गर्दछ, जीवनको समय होइन। तर मनको एक राज्य, इच्छाको एक स्वभाव, कल्पनाको एक गुण, डरलाग्दो साहसको एक प्रवलता सहज जीवनमा भर पर्दछ।’ –रोबर्ट केनेडी। 

केनेडीको यो भनाइलाई आधार मान्ने हो भने युवाहरूको जीवनको समयभन्दा पनि यो विश्व बजारले उनीहरूका ज्ञान र क्षमतालाई खोजिरहेको छ। यसरी हामीले विश्व बजारको माग बमोजिम युवाको क्षमता विकास र उनीहरूको सीप साथै सामाजिक क्षेत्रमा सहभागिता बढाउन सक्नुपर्दछ। 

को हुन युवा?

नेपालको राष्ट्रिय युवा नीति, २०६६ मा युवालाई राष्ट्रको मूल सम्पतिको रूपमा व्याख्या गरिएको छ।

राज्यको आस स्रोत र परिवर्तनको वाहकको रूपमा युवा शक्तिलाई ठानेको छ। यसैगरी आर्थिक, सामाजिक, राजानीतिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनको सम्वाहक शक्तिको रूपमा युवाको पहिचान गरेको छ। 

नेपालको युवा नीति २०६६ मा युवाको परिभाषा देहाय बमोजिम गरिएको छ: 
१) युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीलाई जनाउनेछ। 
२) प्राथामिकताको समूह : भन्नाले महिला, आदिवासी जनजाति, दलित, मधेशी तथा पिछडिएको क्षेत्रमा रहरूको युवालाई जनाउनेछ। 
३) विशेष प्राथामिकता समूह : भन्नाले द्वन्द्वपीडित, जोखिममा परेका युवा, अपाङ्गता भएका युवा र सीमान्तकृत अल्पसंख्यक समुदायका युवालाई जनाउनेछ। 
४) द्वन्द्वपीडित युवा : भन्नाले २०५२ सालदेखि २०६३ मंसिर ५ गतेसम्म नेपालमा भएको सशस्त्र द्वन्द्व र पछिल्ला समयका द्वन्द्वमा परी मृत्यु भएका पीडित परिवारका अङ्‌गभङ्‌ग बनाइएका तथा विस्थापित भएका युवाहरूलाई जनाउनेछ। 
५) जोखिममा रहेका युवा : भन्नाले एचआइभी. (एड्स) संक्रमित, बेचबिखनमा परेका, लागु औषधको प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, सडकमा रहेका, मुक्त कमैयाका परिवारका युवाहरूलाई जनाउँछ। 
६) अपाङ्गता भएका युवा : भन्नाले सबै प्रकारका शारीरिक तथा मानसिक अपाङ्गता भएका युवाहरूलाई जनाउँछ। 
७) सीमान्तकृत अल्पसंख्यक समुदायका युवा : भन्नाले भौगोलिक विकटता, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, वर्गीय, तथा लैङ्‌गिक आधारमा राज्य र गैरराज्यका सेवा सुविधाबाट बन्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासको मूल प्रवाहमा आउन नसकेका अन्य युवाहरूलाई जनाउँछ। 

नेपालको राष्ट्रिय युवा नीति अनुसार युवा भनेको १६ वर्षमाथि ४० वर्ष मुनिका सम्पूर्ण नागरिक युवा हुन। यसका साथै विश्वका कम्युनिष्ट राजनीतिज्ञ दार्शनिक कार्ल मार्क्सले युवाबारेमा दिएको परिभाषा अनुसार ‘युवा भनेको त्यो हो, जसलाई उमेरले छेक्दैन, तर उसको विचार जुझारु र युवामैत्री हुनुपर्दछ।’

यसैगरी समाजवादी दार्शनिक तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका अनुसार ‘युवा भनेको उमेरभन्दा पनि शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा स्फूर्त र सामाजिक रूपमा स्वास्थ्य, वैचारिक रूपमा स्पष्ट भएका व्यक्तिलाई जनाउँछ।’

यसरी हामीले दार्शनिकका कुरालाई अनुशरण गर्ने हो भने पनि युवा भनेको यस्तो व्यक्ति हो, जसले देशका लागि गर्नुपर्ने हरेक कामको र हरेक परिस्थितिको नेतृत्व लिनसक्छ।

युवाको महत्व

नेपाल लगायत विश्वका अवस्था हेर्दा नीति निर्माण तहमा युवाहरूको सहभागिताको कम देखिन्छ। माथि उल्लेख गरिएको विभिन्न देशको राष्ट्र प्रमुखहरूको विवरणले पनि विश्वमा युवाहरूको अवस्था कस्तो छ भन्ने कुरा थाहा हुन्छ।

‘युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन र युवाको मेहनतले नै देश बन्छ’ भनेर विभिन्न युवा समूह तथा सञ्जालहरूले भनिरहँदा पनि युवाको सहभागिता भने निकै कमजोर देखिन्छ। तर पनि विश्वका विभिन्न देशको युवा सम्बन्धी आन्दोलनले युवाको महत्वलाई प्रष्ट परेको छ।

विश्वका युवाहरूको सञ्जालको कुरा गर्दा ग्लोबल युथ एक्सन नेटवर्क अग्रपङ्‍क्तिमा आउने गर्दछ। जसले युवाहरूको प्राविधिक क्षमताबारे विश्वव्यापीकरण गराउने काम गर्दछ। यसैगरी युरोपमा रहेको वन युथ एम्बास्डर संस्थाले युवाहरूको नेतृत्व विकासको क्षेत्रमा काम गर्ने गरेको छ।

त्यस्तै, विश्वव्यापी सञ्जालको रूपमा रहेको स्काउट्सले विश्वका युवाहरूको लैङ्‌गिक, वैचारिक, सामाजिक तथा मनोभावनात्मक विकासका क्षेत्रमा काम गर्ने गर्दछ। यसरी विश्वका धेरै देशले युवाहरूको विकासको लागि युवाहरूको सामाजिक सञ्‍जाल विकास गरी युवाहरूको नेतृत्व विकास गरिरहेको छ।

युवाको महत्वबारे कुरा गर्दा सन्‌ १९९९ मा भएको संयुक्त राष्ट्र संघ महासभाले प्रत्येक वर्षको अगष्ट १२ का दिन अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो।

अहिले हामी २२ औं अन्तरराष्ट्रिय युवा दिवस मनाइरहँदा पनि युवाहरूलाई आन्दोलनको पहरेदारको रूपमा मात्र लिएको देखिन्छ। यद्यपि; यस दिवस युवा आन्दोलनको सफलतासँग जोडिएको छ। यसलाई मध्यनजर गर्दै नेपालको राजनीतिक दलहरूले युवा शक्तिलाई महत्वपूर्ण शक्तिको रूपमा लिएको देखिन्छ।

फलस्वरूप स्थानीय तहका निर्वाचन नतिजाअनुसार ३९.६४ प्रतिशत युवाहरूको सहभागिता रहेको छ। यसैगरी प्रदेश तहमा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र संघीय संसदमा १३.०९ प्रतिशत रहेको छ। यसरी नेपालको नीति निर्माण तहमा युवाहरूको सहभागिता हेर्दा अझै प्रभावकारी रूपमा युवाहरूको सहभागिता वृद्धि गर्न आवस्यक छ।

उत्पादन क्षेत्रमा युवाको भूमिका

यो विश्वव्यापीकरणको युग हो। एक ठाउँमा उत्पादन भएको सामान विश्वका अर्को कुनाका व्यक्तिले उपयोग गर्न सक्छन्‌। त्यसैले हामीले आजको यस विश्वव्यापीकरणको युगमा युवाको भूमिकालाई सही ढंगले सदुपयोग गर्नुपर्दछ।

आजको प्राविधिक युगलाई युवामैत्री बनाइ युवा शक्तिलाई सदुपयोग गर्न सकेको खण्डमा उत्पादनमा वृद्धि भई राष्ट्रिय आम्दानीमा समेत वृद्धि हुने देखिन्छ। आज हामीले आफ्नो देशमा उत्पादन हुने बस्तुलाई विश्वका विभिन्न देशहरूमा पुर्‍याउनुपर्ने आवश्यकता जरुरी छ।

त्यसका लागि उत्पादनको क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्छ। उनीहरूको भएको प्राविधिक ज्ञान, सामाजिक ज्ञान, र मनोवैज्ञानिक ज्ञानलाई उत्पादनको क्षेत्रमा लगाउने हो भने मुलुकको आर्थिक विकासले फड्को मार्ने निश्चित छ।

युवामाा स्फूर्ति साथै काम गर्नसक्ने क्षमता अधिक हुन्छ। विभिन्न अर्थशास्त्रीहरूले मानिसको १६ वर्षदेखि ५९ वर्ष उमेरको मानिसलाई आर्थिक मानव भनी उल्लेख गरिएको छ। साथै, त्यसमा पनि २० देखि ४५ सम्मका व्यक्तिहरूलाई उच्च आर्थिक मानव भनि उल्लेख गरिएको हुनाले उत्पादन क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण छ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा युवाको भूमिका

राजनीतिको कुरा गर्दा विश्वका हरेक राजनीतिक दलहरूले युवाहरूको छुट्टै संगठन निर्माण गर्ने गरेको छ। जुन संगठनले उक्त राजनीतिक दलहरूको विचारधारालाई अनुसरण गरोस्‌।

​नेपालको राजनीतिक दलहरूको युवासंगठनका कुरा गर्ने हो भने नेपाली कांग्रेसले युवाहरूको समूहलाई जोड्नका लागि तरुण दल र नेपाल विद्यार्थी संघ गठन गरी परिचालन गरेको छ।

यसैगरी नेकपा (एमाले) ले युवा संघ, युथ फोर्स तथा अनेरास्ववियुको नाममा युवा विद्यार्थीहरूलाई आवद्ध गराउने गरेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र) ले योङ्ग कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी) को नाममा युवा तथा विद्यार्थीहरूलाई सामेल गराउँदै आएको छ। यो हिसाबले नेपालका अन्य राजनीतिक दलहरूले युवाहरूलाई समेट्न विभिन्न नाममा युवाहरूलाई राजनीतिमा सहभागी गराउँदै आएको छ। 

वास्तवमा भन्ने हो भने राजनीतिक दलहरूको मेरुदण्ड भनेका नै यवाहरू हुन्‌। हरेक राजनीतिक दलहरूको युवाको सहभागिता उल्लेख्य मात्रामा रहेको पाउँछौँ। हरेक व्यक्ति वालक, युवा, वृद्ध हुने हुँदा युवाहरूको पक्षमा नीति निर्माण गरी देशलाई युवामैत्री बनाउन राजनीतिक तथा प्रशासनिक क्षेत्रमा युवाहरूको भूमिका उल्लेख्य मात्रामा रहेको छ।

नेपालको हालका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा युवा मन्त्रालय स्थापना भएको थियो। यसलाई थप प्रभावकारी बनाउन राजनीतिक तथा प्रशासनिक क्षेत्रमा युवाहरूको भूमिका थप बढाउन अपरिहार्य रहेको छ। 

सामाजिक क्षेत्रमा युवाको भूमिका

समाजको विकास कसरी अघि बढिरहेको छ भन्ने कुरा त्यस ठाउँको युवाको अवस्थाबाट थाहा हुन्छ।

वास्तवमा भन्ने हो भने युवाहरूले ने समाज रूपान्तरणका काम गर्ने हुन्‌। समाजलाई कस्तो बनाउने एवम्‌ सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई सभ्य कसरी बनाउने भन्ने निर्भर युवामा नै रहन्छ। जसरी एउटा बिरुवालाई राम्ररी मलजल गरिएको खण्डमा त्यस बिरुवाले राम्रो फल दिने गर्दछ, त्यसरी नै युवाहरूले समाजको विकासको लागि आफूलाई अग्रपङ्‍क्तिमा उभ्याउनु पर्दछ। 

युवा विनाको समाज हुँदैन। समाजमा युवा, वृद्ध, बालक सबै हुने भएको भएपनि समाजलाई कसरी रूपान्तरण गर्ने, सो को लागि प्रभावकारी भूमिका खेल्नसक्ने भनेको युवा शक्ति नै हो। समाजका रहेको सामाजिक विकृति, कुसंस्कार, अन्धविश्वास, कुप्रथा तथा कयौं खालका प्रथाहरू छन्‌, जसले सामाजिक विचलन ल्याउने गर्दछ। त्यस खालका संस्कार, कुप्रथाहरूको नियन्त्रण र नियमन गर्न युवाहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ। 

अन्त्यमा;

नेपालको कानुनले १६ देखि ४० वर्षसम्मका महिला, पूरुष तथा तेस्रोलिङ्गीलाई युवा मान्छ। यसरी युवाको क्षमता विकास गर्नका लागि आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा युवा परिषद्‌ले वक्तृतवकला आयोजना गरेको छ।

साथै, विभिन्न संघ संस्थाहरूले युवामैत्री कार्यक्रम आयोजना गरेका छन्‌। सरकारले पनि युवा दिवसलाई विशेष दिवसको रूपमा मनाउन आह्वान गरेको छ।

आजको युगमा युवालाई प्रविधिमैत्री बनाउँदै उनीहरूको शक्तिलाई सशक्त र प्रभावकारी बनाउन सबैले पहल गर्न आवश्यक छ। युवा भनेको एक अजय शक्ति हो। जुन शक्तिसामु विश्वका तानाशाहहरूले घुँडा टेकेका छन्।

त्यसैले युवामैत्री प्रशासन, युवामैत्री राजनीति, युवामैत्री समाज, सुशासन, पारदर्शिता, इमान्दारीता, र जवाफदेहिता मैत्री युवाको विकास गरी राष्ट्र निर्माणमा लाग्ने बेला भएको छ। आफ्नै देशमा पसिना बगाउनु राम्रो हुन्छ।

नेपालको कुल जनसंख्याको लगभग ४० प्रतिशतभन्दा बढी व्यक्तिहरूले विदेशी भूमिमा गएर काम गर्ने गरेका छन्‌। यसले नेपाललाई आत्मनिर्भर बनाउने भन्दा पनि परनिर्भरता विकास गर्दै जान्छ।

सरकारी तथ्यांकअनुसार ५० लाख भन्दा बढी युवाहरू विदेशिएका छन्‌। यसरी देशलाई परदेशीहरूको देश बनाउनुभन्दा आफ्नै देशमा गरिखाने अवस्था विकास गर्न सरकार, राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरूले आफ्नो ठाउँबाट लागिपर्नु आजको मूल आवश्यकता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.