|

काठमाडौं : श्रीमानको उपचारका क्रममा सबै पैसा सिद्धिएपछि बिचल्लीमा परेकी कैलाली दोधाराकी राजुदेवी दमाईले घर फर्कनका लागि गाडी भाडा पाएकी छिन्। गत चैत १८ गते गाडी भाडाको अभावमा उनी घर फर्कन नपाएको समाचार थाहा खबरमा प्रकाशित भएको थियो।

समाचार प्रकाशित भएपछि अमेरिकाको मेरियल्यान्डमा बस्ने राजेन्द्र राजभण्डारीको पहलमा काठमाडौं कीर्तिपुर निवासी महेश श्रेष्ठले पीडित राजुदेवी दमाईका लागि घर फर्कने भाडा र उनका श्रीमानलाई औषधि किन्‍न १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

कीर्तिपुरमा रहेको पुष्पसदन माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ नाताले अमेरिका निवासी राजभण्डारीका भाइ पर्छन्। वीर अस्पतालमा फोक्सो र मिर्गौलाको उपचार गराइरहेका श्रीमानलाई अस्पतालले डिस्चार्ज गरिदिएपछि उनीसँग घरमा फर्किने भाडा पनि थिएन।

निकै चरम गरिबीबाट गुज्रिरहेकी राजुदेवी दमाइ भाडा पाउने आशामा पटक-पटक माओवादी दल कार्यालय पुगेको त्यहाँका कर्मचारी शैलेन्द्र घिमिरेले बताए। त्यहाँ माओवादी सांसदहरुसँग हारगुहार गर्दा भाडाको जोहो नभएपछि उनी १७ गते बुधवार प्रधानमन्त्री कार्यालयको गेटमा पुगेकी थिइन्।

महेश श्रेष्ठले दिएको सहयोग रकम दिनको लागि सिंहदरबार पुग्दा उनी दक्षिणगेटको भित्र एकछेउमा टोलाएर बसिरहेकी थिइन्। भाडा अभावमा घरजान नपाएकी उनको लागि कसैले १० हजार सहयोग गरेको खबर सुनेर उनको अध्ँयारो अनुहार एकैछिन उज्यालियो। ‘अब यो पैसाले बुढालाई दवाइ किन्छु, अनि भोलि दिँउसो १ बजे बसपार्कवाट गाडी चढ्यौं भने पर्सी वेलुकासम्म घर पुगिएला,’ हातमा पैसा परेपछि मुस्कुराउँदै उनले आफूलाई सहयोग गर्नेलाई धन्यवाद पनि दिइन्।

महाकाली पारीको गाविस दोधारामा २ कठ्ठा ऐलानी जग्गामा बसिरहेकी उनको नाममा एकचिम्टी माटो छैन। चार छोरी र तीन छोरा गरी ७ सन्तान जन्माएकी उनका एउटै छोरा बाँचेनन्। ठूली छोरीको बिहे भैसकेको छ। माइली छोरीको राम्रो गीत गाउने प्रतिभा छ।

साना दुइ छोरी स्थानीय स्कुलमा पढिरहेको राजुदेवीले बताइन्। सिंहदरबारभित्र आएर पनि प्रधानमन्त्री भेट्न नपाएको उनको गुनासो छ। 'प्रधानमन्त्रीलाई एकपटक मात्र भएपनि भेट्न पाए छोरीको लागी काम दिनुस् भन्‍ने थिएँ। तर भेट्न पाइएन,' उनले भनिन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.