|

काठमाडौं : लक्ष्य भेट्न संघर्षपूर्ण यात्रामा हिँडेको एउटा व्यक्तिका लागि अवसरले निकै अर्थ राख्छ। अवसरजस्तै उत्प्रेरणा पनि मानिसलाई सफलताको सिँढी चढाउन सघाउने संवाहक हो।

अवसर या उत्प्रेरणा मूर्त/अमूर्त कुराहरू हुन्‌। यी पेट भर्ने चिज पनि होइनन्‌। तर, आत्मालाई भने निकै भरिपूर्ण बनाइदिन्छन्‌। व्यक्ति र परिवारकै सुख-दुःखलाई निर्धारण गरिदिन्छन्‌।​

तर, परिवारले राखेभन्दा फरक लक्ष्य भेट्ने लगाव बढेपछि साथ र सहयोगको अभाव सदैव खट्किरहन्छ। त्यसमाथि चिनेजानेकै व्यक्तिको व्यंग्यात्मक टिप्पणीले कोही व्यक्तिको जीवनमा कस्तो प्रभाव पर्छ? त्यो कुरा भोग्नेले महसुस गर्छ।

कुनै बेला कलाकार बन्ने सपना देखेर राजधानी छिरेका अहिलेका व्यस्त भिडियो छायाङ्‌कन निर्देशक अर्जुन तिवारीलाई कसैले भनिदियो, ‘काठमाडौंमा के टिक्ला र? कलाकारिताको भूत उत्रेपछि घर फर्किन्छ।’

उनलाई यो कुराले सदैव पोलिरह्यो। निचोड निकाले, ‘जति दुःख भएपनि गाउँ चाहिँ फर्कनु हुँदैन।’

यदि तपाईंसँग क्षमता र सीप छ भने एकै ठाउँमा अडिनु तपाईंको कमजोरी हो।

केही वर्षदेखि उनको व्यस्तता म्युजिक भिडियो र रियालिटीको छायाङ्‌कनमा ह्वात्तै बढेको छ। नाम छ। काम छ। दाम पनि।

‘जसले काठमाडौंमा अडिन सक्दैन भन्थे, अचेल ती मान्छेहरू मेरा बारे के सोच्दा हुन् भन्ने लाग्छ,’ कुनै बेला आफूलाई हियाउनेतर्फ उनी मजाकको तिर फाल्छन्।  

उनले सोचेको काठमाडौं र भोगेको काठमाडौं भने फरक रह्यो। यहाँ सहजै अवसर पाइने रहेनछ। यसका लागि क्षमता चाहिन्छ, त्यो भन्दा बढी धैर्यता। धैर्यताका कारण नै उनी अहिलेका चल्तीका छायाकार बनेका छन्। 

हिजो आजको सेटमा त्यो घुइँचो

वि.सं. २०५७ साल तिरको कुरा हो, नेपाल टेलिभिजनमा हिजो आजको कुरा  टेलिसिरियल चल्थ्यो। ज्यादै लोकप्रिय थियो। त्यसमा काम गर्न चाहनेको पनि कुनै कमी थिएन। 

कलाकार बन्ने सपना बोकेर नवलपरासीबाट काठमाडौं आएका उनी उक्त टेलिसिरियलमा काम गर्न पाइन्छ कि भनेर अडिसन दिन गए। तर, भिड यति लामो थियो कि उनले आफूले अवसर पाउने सम्भावना देखेनन्। त्यो भिडमा आफूले अवसर नपाउने भएपछि कलाकारिताको मोह त्यागे। प्राविधिक बन्ने सपना देखे।

क्यामेरामा लगाव बढ्यो। त्यो बेला कान्तिपुर टेलिभिजनलाई क्यामेरामेन चाहिएको थियो भने उनमा क्यामेरामोह थियो। काठमाडौं आएपछि बाँच्नुपर्ने संघर्ष उनको आफ्नै थियो। उनी त्यहाँ असिस्टेन्ट क्यामेरामेनको हैसियतमा हाजिर भए।

उनले त्यहाँ समाचारका लागि भिडियो खिचे। 

कान्तिपुरमा आबद्ध भएपछि क्यामेरासँग उनको मित्रता झनै झाँगियो। त्यहाँ उनले क्यामेरा चलाउन ससाना टेक्निकहरू सिके। ‘मैले प्राविधिक विषय सिकेर आएको थिइनँ। मैले त मेरो रहर र अभ्यासलाई नै मुख्य गुरु बनाएको हुँ,’ उनी भन्छन्।

कान्तिपुर टेलिभिजनमा १३ वर्षसम्म  काम गरे। टेलिभिजनबाट विश्राम लिने समय आएको निचोडमा पुगे। उनलाई एकै काममा आफू खुम्चिएको अनुभव हुन थाल्यो।

कोही व्यक्ति एकै ठाउँमा बस्छ भने त्यो मान्छे पोखरी बनिदिन्छ। त्यसैले आफूले नदी बनाउन चाहेको बताए। 'यदि तपाईंसँग क्षमता र सीप छ भने एकै ठाउँमा अडिनु तपाईंको कमजोरी हो। आफ्नो कमजोरी पत्ता लगाउन नसक्नु हाम्रो समस्या हो,’ उनी भन्छन्।

कान्तिपुर टेलिभिजनको काम नै आफ्नो जिन्दगीको मुख्य आधार रहेको उनले सुनाए। त्यही बीचमा रोचक कुरा के भयो भने १३ वर्षपछि हिजो आजको कुराको सेटमा पुगे उनी। कलाकारको रूपमा होइन, छायाकारको रूपमा। 'जीवनमा त्यो क्षण मेरा लागि ज्यादै रोचक थियो। यस्तो पलहरू ज्यादै महत्वपूर्ण र धैर्य बन्न सिकाउने अस्त्र बनिदिन्छ।'

धेरै क्यामेराबाट कुन दृश्यलाई कसरी गर्ने भन्ने कुरा बडो सकसको कुरा हो। कुनै पनि काम नजानेसम्म गाह्रो हो। काम जानेपछि स्तरीयता जोगाउन थप गाह्रो रहेछ।

उनले केही एपिसोड छायाङ्‌कन गरिदिए। तर, कलाकारिताको भोक भने हराइसकेको थियो। क्यामेरासँग प्रेम बसिसकेको थियो।

२०७३ सालपश्चात् लगातार नेपाली म्युजिक भिडियोमा दृश्य खिचिरहेका छन्। उनी भन्छन्, ‘त्यसपछि मैले आजसम्म करिब ३५ सयभन्दा म्युजिक भिडियोमा क्यामेरा चलाएँ हुँला।’

भ्वाइस अफ नेपाल र फिल्ममा आबद्धता

बहुचर्चित रियालिटी शो 'द भ्वाइस अफ नेपाल-३' भर्खरै सकिएको छ। आम दर्शकले यो शोलाई खुबै मन पराए। देशले नयाँ स्वर पाएको छ।

दर्शकसामु शोभित्र हुने सम्पूर्ण दृश्य आकर्षक तरिकाले प्रसारण गर्ने जिम्मा भने तिवारीको छ। उनले भ्वाइस अफ नेपालको सिजन एकदेखि नै डाइरेक्सन अफ फोटोग्राफी अर्थात 'डिओपी' मा आफ्नो मेहनत देखाएका छन्।

शोका निर्देशक लक्ष्मण पौड्यालसँग उनको पुरानो दोस्ती थियो। त्यही दोस्तिकै कारण आफू शोमा आबद्ध हुन पुगेको उनले सुनाए।

उक्त शोमा करिब १९ वटा क्यामेरा थिए। ती क्यामेराले के कुरा फ्रेममा ल्याउने भन्ने कुराको सम्पूर्ण जिम्मेवारी उनको थियो। उनी भन्छन्, ‘यति धेरै क्यामेराबाट कुन दृश्यलाई कसरी गर्ने भन्ने कुरा बडो सकसको कुरा हो। कुनै पनि काम नजानेसम्म गाह्रो हो। काम जानेपछि स्तरीयता जोगाउन थप गाह्रो रहेछ।’  यस्तो अफ्ठ्यारो म्युजिक भिडियो र टेलिसिरियलमा नहुने उनको अनुभव छ।

उनले नेपाली चलचित्रमा पनि सिनेमाटोग्राफरका रूपमा काम गरे। केही फिल्ममा काम गरेका छन्। जसमध्ये कोहलपुर एक्सप्रेसनाइके लगायत पर्छन्। 

मन अरू पेशामा अडिएन

‘बुबा शिक्षक हुनुहुन्थ्यो। यसकारण मलाई शिक्षक हुनुपर्छ भन्नुहुन्थ्यो। तर, चरित्र अभिनेता बन्ने मेरो रहर थियो,’ तिवारी बाल्यकालतर्फ फर्कन्छन्।

‘घरको जेठो सदस्य भएका कारण पनि बुबाको सपना पूरा गर्नुपर्थ्यो होला। मेरो सपना र बुबाको सपनाको तारतम्य नै मिलेन,’ उनी भन्छन्, 'केही समय बुबा थोरै निरास हुनुभयो होला। अहिले भने खुशी नै हुनुहुन्छ।’

हामी जबसम्म आफ्नो कामलाई सम्मान गर्दैनौँ, अरू व्यक्तिले सम्मान गरेन भनेर मुड्की ठोक्नु गलत हो, अहिलेको पुस्ताले यो कुरा बुझेको छ, निकै खुशी लाग्छ।

नवलपरासीमा उनले अध्ययन गरे। अध्ययन पूरा गरेपछि डिलरमा काम गरे। मार्टमा काम गरे। रेडियो मेकानिक्स भए। तर, कुनै पनि काममा उनको मन अडिएन।

‘मेरो मन कुनै पनि काममा अडिएन। किनभने यी कामप्रति मेरो कुनै मोह थिएन,’ उनी भन्छन्, ‘एकदिन मलाई के लाग्यो भने गन्तव्यमा पुग्न यात्रा गर्नुपर्छ। त्यसैले मैले घर छाडेँ।’

पर्दा पछाडिको हिरो

क्यामेरा चलाउने व्यक्तिलाई पर्दा पछाडिको नायक मानिन्छ। जसले पर्दामा चित्र उतार्छन्। विगत २१ वर्षदेखि उनले पनि कयौं कलाकारको क्षमता र कलालाई क्यामेराको फ्रेमभित्र कैद गरेका छन्। कलाकारहरू सेलिब्रेटी बनेका छन्। सेलिब्रेटीहरू देख्दा उनी के सोच्छन्?

‘एउटा शिक्षकले पढाएका विद्यार्थी समाजको प्रतिष्ठित व्यक्ति बन्छ। यो कुराले एउटा शिक्षक ग्लानि सायदै गर्ला। उ खुशी नै हुन्छ। आफ्नो काम देखि गर्व गर्छ होला,’ उनले सगौरव भने, 'हामी कलाकारलाई दर्शकमाझ चिनाउछौँ, उनै कलाकारले हामीलाई चिन्छन्।’

नयाँ पुस्ता ज्यादै क्षमतावान छन्

अहिले उनी भ्वाइस नेपाल र डान्सिङ स्टारमा नयाँ पुस्ताका क्यामेराम्यानसँग काम गरिरहेका छन्। यो आफ्ना लागि चुनौतीपूर्ण रहेको तिवारी बताउँछन्।

प्रविधि फेरिइसक्यो। आफू रिलबाट आएको र अहिलेको पुस्ता क्यामेराका एडभान्स टेक्नोलोजीमा अभ्यस्त भएकाले चुनौतीपूर्ण रहेको उनी ठान्छन्‌। ‘नयाँ पुस्तासँग काम गर्न साह्रै गाह्रो छ। किनभने उनीहरू पढेर यो क्षेत्रमा आएका छन्। हामी परेर आएका हौँ।’

नयाँ पुस्ताको सोच्ने तरिका अब्बल रहेको उनी सुनाउँछन्। भन्छन्‌, ‘हामी जबसम्म आफ्नो कामलाई सम्मान गर्दैनौँ, अरू व्यक्तिले सम्मान गरेन भनेर मुड्की ठोक्नु गलत हो, अहिलेको पुस्ताले यो कुरा बुझेको छ, निकै खुशी लाग्छ।’

‘अन्य क्षेत्रमा कस्तो छ भन्न सक्दिनँ। तर, मेरो क्षेत्रमा आएका र मसँग काम गरिरहेका पुस्ता भने ज्यादै क्षमतावान छन्। म त उनीहरूसँग पनि सिकिरहेको हुन्छु,’ नयाँ पुस्तालाई सम्मान गर्दै उनी थप्छन्‌।

अन्त्यमा;

‘बुबाको शिक्षक बन्ने सपना सम्झाउँदै सरकारी जागिरे भएको भए रिटायर्ड हुने बेला भएछ नि!’ पंक्तिकारले जिस्क्यायो। 

खिस्स हाँस्दै उनले भने, ‘ए! हो त, समय कति चाँडै बितिसकेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.