|

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडम गाउँमा खानेपानी अभाव कायम छ।

वर्षातमा पनि बडम गाउँमा खानेपानी नपाउँदा हाहाकार भएको हो। बडम क्षेत्रका १२ वटा गाउँमा यस्तै हालत छ।

वर्षातको यो समयमा गाउँभन्दा तल रहेका नोलाबाट स्थानीयले पानीको जोहो गरेपनि गर्मी याममा भने पानीको चरम अभाव भोग्ने गरेका छन्। बाह्र पणमको बडम भनेर चिनिने बडमगाउँका १२ वटा बस्तीमा करिब ८०० घरधुरी छन्। 

१२  बस्तीमध्ये अहिले कुनै पनि बस्तीमा पानीको उचित व्यवस्थापन छैन। २०५१ साल र त्यसपछि बनेका योजना जीर्ण बन्दा बडम गाउँमा पानीको चरम अभाव भएको स्थानीय केशव अवस्थीले बताए।

बडम गाउँबासीले अहिले वर्षातको समयमासमेत घरभन्दा तल रहेको नोलाबाट पानीको जोहो गर्दै आएको उनले बताए। घरभन्दा तल १५ देखि ३० मिनेटको पैदल दूरीमा रहेका नोलाबाट उकोलो बाटोमा पिठ्युँमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता बडमबासी छ।

गर्मीयाममा भने गाउँभन्दा एक घण्टाको पैदल दूरीमा रहेको रडुवा खोलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँबासीको रहेको स्थानीय पार्वतीदेवी अवस्थीले बताइन्। रातिको १२ बजेसम्म र बिहान ३ बजेदेखि नै पानी भर्न नोलामा बस्नुपर्ने उनले बताइन्।

२०५१ सालमा पहिलोपटक खानेपानी योजना लागू भई गाउँमा पानी पुगेपनि दुई वर्षभन्दा बढी धारामा पानी नआएको स्थानीय जग्वा भूलले बताए। त्यसपछि पनि २०६९ सालयता गाउँमा आठ वटा धारा बनेपनि धारमा पानी नआएको उनले बताए। योजनामा रकम मात्रै आउने तर धारामा पानी नआउँदा पानीको समस्या ज्यूँ का त्यूँ रहेको उनले बताए।

गत आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी बकाल र बडम गाउँलाई समेटी बृहत् खानेपानी योजना लागू गरिएको थियो। गएको असार मसान्तमा काम सक्नेगरी ठेक्का सम्झौता भएपनि अहिलेसम्म सकिएको छैन।

१ करोड ९० लाख रुपैयाँ लागतमा संघीय सरकारको समपूरक बजेटमा बृहत् खानेपानी योजना लागू भएको गाउँपालिका अध्यक्ष कविन्द्र बिष्टले बताए। उनले भने, ‘कोरोना भाइरसको संक्रमण र वर्षातका कारण योजना समयमै सम्पन्न नभएको हो। केही दिनभित्रै योजना सम्पन्न हुन्छ।’ 

बडम गाउँमा ११ किलोमिटरको दूरीबाट यसअघि पनि खानेपानी ल्याइएको थियो। मर्मतसम्हार नहुँदा खानेपानी जीर्ण बनेको हो। मूल नजिकका स्थानीयले पाइप काटिदिँदा समस्या पर्ने गरेको छ।

अहिले पनि पुरानै मूल खण्याखोलाबाट पानी ल्याउने गरी बृहत् खानेपानी योजना निर्माणको काम जारी छ। एक साताभित्रै निर्माणको काम सकिने ठेक्का सम्झौता पाएका निर्माण व्यवसायी राजेन्द्र भट्टले बताए।

योजना निर्माणका लागि १ करोड ९० लाख रुपैयाँ रकमको ४० प्रतिशत बेलोमा गाउँपालिकासँग सम्झौता भएको उनले बताए। उनका अनुसार करिब २० घनमिटरका आठवटा फेरो ट्याङ्‌कीमध्ये ६ वटा निर्माण भइसकेका छन्। बाँकी दुईवटा ट्याङ्‌की निर्माणधीन रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.