|

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दैनिक कारोबार रकममा रेकर्ड कायम भएको छ।

आज २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दैनिक कारोबारमा यो रकम अहिलेसम्मकै उच्च हो। कारोबार रकम बढे पनि नेप्से परिसूचक भने घटेको छ।

नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४.३ अंकमा झरेको छ। आइतबार बजार खुलेको दुई घण्टा नपुग्दै नेप्सेमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएको थियो।

बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूह भने बढेको छ। आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १३ मध्ये ३ वटा समूहमा हरियाली देखिएको छ। ३ कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ। 

नेपाल बैंकको सबैभन्दा बढी एक अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन  डिष्टिलरी र अपि पावर छन्।

शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको असर सेयर बजारमा देखिएको लगानीकर्ताले बताएका छन्। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाइ गर्ने प्रावधान ल्याएको छ। आइतबार बजार खुलेदेखि नै बिक्रीको चाप बढेको थियो।

किन्नेभन्दा बेच्ने बढी भएपछि नेप्से सूचकमा गिरावट आएको हो। मौद्रिक नीतिले एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउने व्यवस्था गरेको थियो, जसको असर आइतबारको बजारमा परेको बताइएको छ। ऋणपत्र जारी गर्न दिने व्यवस्थाले माइक्रोफाइनान्स समूह सकारात्मक बनेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.