युवा सञ्जालले दिलाए हर्ष

|

जनकपुरधाम : सोमबार (आज) लाडली खातुनले साइकल पाएकी छन्। साइकल पाएपछि उनको अनुहारमा छुट्टै किसिमको चमक देखिएको छ। जनकपुरधाम उपमहागरपालिका–८ बस्दै आएकी लाडलीलाई जिल्ला युवा सञ्जालले साइकल प्रदान गरी उनको मनोबल उच्च पार्ने प्रयास गरेको हो।

प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानले साइकल नदिएपछि उनी रोएको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। 

जनकपुरको जानकी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई साइकल दिए पनि लाडलीको जन्मदर्ता प्रमाणपत्र प्रदेश २ सरकारमा पेस हुन नसकेको पछि उनी साइकलबाट वञ्चित भएकी थिइन्। सबैले साइकल पाउँदा लाडली भने भक्कानिएर रोएको भिडियो आइतबार फेसबुक ट्विटरलगायत सामाजिक सञ्जालमा सर्वत्र फैलिएको थियो। जहाँ उनी निकै रोएकी देखिन्थ्यो।

उनको पीडा केही सञ्चारकर्मीहरूले बाहिर ल्याएका थिए। जसबाटै उनलाई सहयोग गर्ने हातहरू अघि सरेका थिए।

अष्ट्रेलिया बस्दै गरेका प्रभाकर साहको पहलमा त्यहाँस्थित रञ्जित साहले जिल्ला युवा सञ्जालको माध्यमबाट साइकल र पढ्न लेख्न कपीकलम र औजारबक्स सहयोग भएको थियो। ​

लाडलीले प्रश्न गरिन्, ‘सर भारतमा त धेरै नेपाली चेलीहरू पढ्दै छन्, उनीहरूलाई त्यहाँको स्कुल कलेजले कसरी सबै सेवा सुविधा उपलब्ध गराइरहेको छ?’ उनको प्रश्नको जवाफ हामीसँग थिएन, हामीले तिमी पढ्दै जाँउ सबै थाहा हुन्छ भनेर फर्क्याैं।'

विद्यालयमा कहिलेकाहीँ आउने र निजी विद्यालयमा पढ्ने साथीहरूले प्रदेश सरकारको अनुदानमा साइकल पाए पनि नियमित विद्यालय आउने आफूले भने साइकल नपाएको भनी उनी रोएकी थिइन्। 

उनले गहभरि आँसु झार्दै आफूलाई समेत साइकल दिन आग्रह गरेकी थिइन्। तर उनको भावना जनकपुरधाम उपमहानगरपालिकाले बुझ्न सकेन।​

लाडलीलाई भारतीय नागरिक भएको भन्दै साइकल नदिई उपेक्षा गरिएको थियो। लाडली भक्कानिएर रोएको भिडियो केही सञ्चारमाध्यममा पनि आएको थियो।त्यसपछि युवा सञ्जालले उनलाई साइकल प्रदान गरेको हो।

सोमबार लाडलीको घरमै पुगेर जिल्ला युवा सञ्जाल धनुषाका कोषाध्यक्ष खुबु साह, महासचिव कुलदीप साह, युवा अभियानी अशोक साहलगायत टोलीले एक साइकल र स्टेसनरीका सामान प्रदान गरेका सञ्जालका अध्यक्ष धीरज साहले जानकारी दिए।

साइकल पाएर खुसी भएकी लाडली र उनका परिवारले युवा सञ्जालले हौसला बढाइदिएको भन्दै धन्यवाद दिएका थिए। भारतको सीतामढीबाट आएर ४५ वर्षदेखि जनकपुरमा बस्दै आएका मो. आलमकी छोरी हुन् लाडली। आलम सिरक डसना सिलाएर गुजारा गर्ने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.