एकैदिन औपचारिक रूपमा फुटे दुई राजनीतिक दल

|

काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा औपचारिक रूपमा विभाजित भएका छन्। 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराएका छन्। यसैगरी जसपाका नेता महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन्। 

अध्यादेशको तरंगपछि एमालेबाट टुक्रिएको नेता नेपाल समूहले आफ्नो पार्टीको चुनाव चिह्न खुला किताब राखेको छ। यस्तै, जसपा नेता ठाकुर पक्षले साइकल चुनाव चिह्न राखेर आयोगमा दल दर्ता गराएको छ। 

नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए।

आयोगमा दर्ता गराइएको एमाले समाजवादीको दोस्रो वरीयतामा झलनाथ खनाल रहेको उनले बताए। एमालेमा रहँदा भने नेता नेपालको वरीयता खनालपछि थियो।

नयाँ पार्टीमा नेपाललाई अध्यक्ष र खनाललाई वरिष्ठ नेता बनाइएको उनले बताए। ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको भए पनि दुवै सदनका ३१ सांसदले नेता नेपाललाई साथ दिएको उनको भनाइ छ। 

यस्तै जसपाको नयाँ पार्टी जसपा लोकतान्त्रिकमा अध्यक्ष ठाकुर एकल अध्यक्ष रहने छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहने भएका छन्। 

तर, सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र सो दलमा प्रवेश गर्ने जनप्रतिनिधिको पद सुरक्षित रहने प्रावधान थपिएको छ। अध्यादेशअनुसार कुनै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र नयाँ पार्टीमा प्रवेश गरेमा उनीहरूको पद कायमै रहने छ। 

दलसम्बन्धी अध्यादेशपछि प्रकाशित राजपत्रमा उल्लेख छ– (२क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन।

एकताको ढोका बन्द नभएको टिप्पणी 

नयाँ दल दर्ता गरेर फर्किएपछि नेकपा एमाले समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टी एकताको बाटो अझै बन्द नभएको टिप्पणी गरिन्। 

उनले भनिन्, 'दुइटा पार्टीको स्टाटसमा पार्टी एकता हुन सक्ने सम्भावना जहिले पनि रहन्छ। पार्टीभित्रको विवाद समाधान भए पार्टी एकता हुन्छ।' 

त्यसो त एमालेको आन्तरिक विवादको निर्णायक मोडमा नेता नेपालको साथ छाडेर बागमती प्रदेशको मुख्यमन्त्री बन्न पुगेकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि एकजुट हुनुको कुनै विकल्प नभएको दाबी गर्छिन्। 

'माधव नेपालको पक्षमा सधैँभरि छु। म ओलीको विरोधी पनि होइन, नेपालको विरोधी पनि होइन। यहाँसम्म आइपुग्न साथ सहयोग गर्नुभएको छ। केही कमजोरी भए भोलिको दिनमा हामी मिलेरै अघि बढ्नुपर्छ। भोलिका कम्युनिष्टहरू फुटेर होइन जुटेरै जानुपर्छ भन्ने कुरा ०५४ सालको विभाजनले स्पष्ट पारिसकेको छ,' उनले भनिन्।

एक्लिए नेता नेपाल

पार्टीभित्र आन्तरिक विवाद निर्णायक मोडमा पुगेपछि नेता नेपाल एक्लिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाउँदै गर्दा नेता नेपालको साथ दोस्रो तहका नेताले छाडे।  

पार्टी विभाजनको विपक्षमा उभिएका ३ उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छाडे। रावल र ज्ञवाली नयाँ पार्टीको गतिविधिमा देखिएका छैनन्। उनीहरू पार्टी फुटाउन नहुने पक्षमा छन्। 

यस्तै, नेता नेपालको समूहले नयाँ पार्टी दर्ताका लागि राखेको निर्णायक बैठकमा उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि साथ दिएनन्। 

नेपाल समूहको यसअघिको बैठकमा सहभागी हुँदै आएका भुसाल, आचार्य र पाण्डे समेत पार्टी विभाजनको विपक्षमा उभिएका छन्। 

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो प्रस्तुत भएका दोस्रो तहका नेताले साथ छाड्दै गर्दा स्थायी कमिटी सदस्य वेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र नेपाललाई साथ दिएका छन्। 

दोस्रो तहका नेताले साथ छाड्दै गएपछि तेस्रो तहका नेताको आड भरोसामा नेता नेपालले नयाँ दल दर्ता गरेका छन्। उनले अन्तिमसम्म राजेन्द्र पाण्डे, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी र प्रेम आलेलगायतको बलियो साथ पाएका छन्। 

वामदेव अनुपस्थित 

नेपालले पार्टी विभाजन गर्ने आँट गरे साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतमसमेत नयाँ पार्टीमा छैनन्। गत साताको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीको चर्को विरोध गरेर पार्टी बैठकमा जान छाडेका उनी नयाँ पार्टीमा पनि समावेश छैनन्। 

नेपाल पक्षले उपाध्यक्ष गौतम आफ्नै समूहमा भएको दाबी गर्दै आएको थियो। यसअघिको साविक नेकपा र हालको एमाले विवादमा पनि गौतम राष्टिय एकता अभियान चलाएर बसेका थिए।

जसपाका कुरा 

जसपा लोकतान्त्रिक पार्टी दर्ता गरेको नेता ठाकुर पक्षले पार्टीलाई सशक्त ढंगले अघि बढाउने दाबी गरेको छ। 

नयाँ दल दर्ताको निवेदन दिएर फर्केका नेता राजेन्द्र महतोले सञ्चारकर्मीसँग भने, 'उपेन्द्र यादवले पार्टी फुटाएपछि हामीले बाध्य भएर नयाँ पार्टी दर्ता गरेका छौं। अब हाम्रो पार्टी उपेन्द्र यादवको जसपाभन्दा शक्तिशाली हुन्छ।' ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.