|

पाल्पा : तानसेन नगरपालिकाको फोहोर निजी क्षेत्रले व्यवस्थापन गर्ने भएको छ। 

वातावरणीय सुन्दर नेपाल प्राइभेट लिमिटेड कम्पनी रुपन्देहीले यहाँ उत्पादन हुने फोहोर संकलन तथा व्यवस्थापन गर्ने भएको हो।

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार तानसेन नगरपालिका र सुन्दर नेपालबीच फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अबदेखि फोहोर उठाउने र व्यवस्थपन गर्ने झन्झटबाट नगरपालिका मुक्त भएको छ। १० वर्षसम्म यो काम सुन्दर नेपालले गर्नेछ।

सम्झौताअनुसार तानसेन नगरपालिकाभित्र उत्पादन भएका सबै किसिमका फोहोर घरघरमा पुगेर संकलन र व्यवस्थापन गर्ने काम सुन्दर नेपालको हुने नगरपालिकाका सूचना अधिकारी वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले बताए। उनका अनुसार कुहिने वा नकुहिने दुवै किसिमका फोहोर यही संस्थाले व्यवस्थापन गर्नेछ। 

सुन्दर नेपालले घरघरमा पुगेर फोहोर संकलन गर्नेछ। संकलित फोहोर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्नुपर्ने छ। यसरी फोहोर संकलन तथा व्यवस्थापन गरेवापत निजी संस्थालाई नगरपालिकाले कुनै बजेट उपलब्ध गराउनुपर्ने छैन।

नगरपालिका उत्सर्जन हुने फोहोर ढुवानीका चार वटा गाडीसमेत सम्बन्धित निजी कम्पनीले भाडामा लिने भएको छ। गाडी प्रयोग गरेबापत मासिक १५ हजार रुपैयाँका दरले भाडा दिनेछ। गाडी भाडाबापत नगरपालिकालाई वार्षिक ७ लाख २० हजार रुपैयाँ आम्दानी हुनेछ।

फोहोरको प्रयोगबाट भएको आम्दानीमध्ये १० प्रतिशत रकम संस्थाले तानसेन नगरपालिकालाई बुझाउनु पर्ने थापाले बताए। फोहोर व्यवस्थापन र नगरपालिकालाई वार्षिक लाखौं आम्दानी हुने नगरपालिकाले दाबी गरेको छ।

सरसफाइ सेवा प्रभावकारी बनाउन निजी क्षेत्रसँग साझेदारी 

जनतालाई सरसफाइ सेवा सहज बनाउन निजी क्षेत्रसँग साझेदारी गर्नु परेको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बताए। यसरी गरिएको सम्झौताले फोहोर व्यवस्थापनमा हुने खर्चमा कमी आउने र फोहोरको बोझ हटेपछि बचत भएको समय र रकमबाट अन्य काम गर्न सकिने उनले बताए।

फोहोर व्यवस्थापन प्रभावकारी हुने र तानसेनको सरसफाइमा गुणस्तर वृद्धि हुने समेत उनले दाबी गरे। नगरपालिकाको खर्चमा मितव्ययिता ल्याउन यो सम्झौताले सहयोग पुग्ने शाहीको ठम्याइ छ।

यो अत्यन्त नौलो कार्यक्रम भएको उनले बताए। तानसेन नगरपालिकाको सरसफाइका लागि वार्षिक ७० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन हुँदै आएको थियो।

अब सो बराबरको रकम विकास निर्माणका अन्य काममा खर्चिन उनले बताए। 

कुहिने फोहोरबाट बायोग्यास

तानसेन नगरपालिकाले कुहिने फोहोरबाट बायोग्यास प्लाण्ट निर्माण गर्ने भएको छ।

बजारका प्रत्येक घरधुरीबाट उत्पादन भएका कुहिने जैविक फोहोर संकलन गरेर बायो ग्यास उत्पादनमा प्रयोग गरिनेछ। यहाँबाट उत्पादन भएका ग्यास व्यवसायीको भान्साको चुल्होसम्म पुर्‍याइने नगरप्रमुख शाहीले बताए।

‘यसबाट फोहोर व्यवस्थापनमा सहयोग पुग्छ, व्यवसायीलाई सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘नगरपालिकालाई ग्यास बिक्री गरेवापत आम्दानी हुन्छ।’ तानसेनको फोहोरलाई मोहरमा परिणत गर्नेगरी कार्यक्रम अगाडि बढिरहेको उनले बताए।

फोहोर संकलनका लागि टहरो निर्माण गर्ने तयारी भइरहेको छ। जुन टहरोमा फोहोरको वर्गिकरण गर्ने काम हुनेछ। पुनः प्रयोगमा ल्याइने छुट्याएर त्यहीँबाट सम्बन्धित ठाउँमा लगिनेछ। काम नलाग्ने फाहोर विसर्जन गरिने छ।

निजी संस्थाले यसरी गर्दैछ फोहोर व्यवस्थापन 

तानसेन नगरपालिकाले फोहोर व्यवस्थापन जसरी गर्दै आएको थियो, त्यो भन्दा फरक उपाय अपनाउने निजी कम्पनीले दाबी गरेको छ।

यहाँको फोहोरलाई प्रभावकारी ढंगबाट व्यवस्थापन गरिने वातावरणीय सुन्दर नेपाल प्राइभेट लिमिटेड कम्पनी रुपन्देहीका अध्यक्ष कृष्णमाया कार्कीले बताइन्।

उनका अनुसार समय तालिका बनाएर फोहोर संकलन हुनेछ। यसअघिको समय तालिकालाई घटाएर घरघरमा फोहोर उठाउन पुग्ने योजना छ। अबदेखि धेरै दिन कसैको घरमा फोहोर थुपारेर राख्नुपर्ने बाध्यता हुने छैन। कुहिने र नकुहिने फोहोर फरक फरक दिनमा उठाइने छ। घरधनीलाई त्यही प्रकारले फोहोर जम्मा गरेर राख्न भनिनेछ। 

संकलित फोहोरको वर्गिकरण गरिने कार्कीले बताइन्। पुनः प्रयोग हुने फोहोरलाई छुट्याइनेछ। सम्बन्धित ठाउँमा लगेर त्यसबाट जे वस्तु बन्छ, त्यसैको रूपमा पुनः प्रयोग गर्ने तरिकाले काम हुने उनले बताइन्।

यसले विसर्जन गर्ने फोहोरमा समेत कमी आउने छ। ‘फोहोरजन्य बस्तुको पुनः प्रयोगले आम्दानी पनि हुने भयो। फाल्नै पर्ने फोहोरमा कमी आउने भएपछि विसर्जन गर्नसमेत सहज हुनेछ,’ उनले भनिन्‌। 

कवाडीका रूपमा फालिने फोहोरलाई समेत संस्थाले निश्चित मूल्य तिरेर खरिद गर्ने उनले बताइन्। उनका अनुसार अन्य कुनै व्यक्तिले अब तानसेनका कवाडी खरिद गर्न पाउने छैनन्। जसले गर्दा सडक छेउमा भएका कवाडीको समेत व्यवस्थापन हुनेछ।

कवाडीबाट समेत घरधनीलाई आम्दानी हुने उनको भनाइ छ। पुनः प्रयोगमा आउने जुन कुनै फोहोरलाई बिक्री गरिने उनले बताइन्। बिक्रीबाट भएको आम्दानी संस्थाको सम्पत्ति हुनेछ।

फोहोरको प्रभावकारी व्यवस्थापन हुने र आर्थिक आम्दानी पनि हुने भएकाले तानसेन नगरपालिकासँग सम्झौता गरेर काम गर्न थालेको कार्कीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.