|

दुनियाँमा केवल ३ चीजका लागि अनन्त लडाइँ छ-पद, पैसा प्रेम। सर्सर्ती हेर्दा पदको बाइप्रडक्ट पैसा, पैसा र जवानीको बाइप्रडक्ट प्रेम हो भन्नेबारे विभिन्न मत पाइन्छ।

प्रेम भनेको विपरीत लिङ्‌गीबीच विभिन्न परिस्थितीले सृजना हुने यौन अभिलाषाको सांकेतिकरण हो। यसलाई यो भन्दा बढी नाम दिनु बेकार प्रयासमात्र हो।

त्यसपछि शुरू हुन्छ पद र पैसाको लडाइँ। यद्यपि; पैसाले मात्र पद उपलब्ध गराउन सक्दैन। तर, धेरै सहयोगी साधन हो।

कहिलेकाहीँ त कानून तथा न्यायसम्मलाई पनि यी तीन चीजको अन्तर समायोजनले असर पार्छ। कति ठाउँमा पुष्टि हुन्छ। तर, कति ठाउँमा पुष्टि गर्न कठिन छ। अनुमानमै सीमित हुन्छ।

तुलना गर्दा पैसाले पद दिलाउन थोरैमात्र सहयोग गर्छ। तर, पदले पैसा धेरै दिन्छ। पदको श्रेणी र स्वभावले केही थोरै धेरैको मात्रात्मक अन्तर देखाएपनि पद पैसा बनाउने आधार हो, कमाउने आधार होइन्‌।

पैसा बनाउनु र पैसा कमाउनु २ अलग विषय हुन्। प्रसंगलाई पुनः हेरौँ-जीवनको हरेक घटना यीनै ३ वटा चीज प्राप्तिका लागि घुमिरहेको छ। जुन दिन मानवमा यी ३ चीजको आशक्ति समाप्त हुन्छ,  सम्भवतः केही अपवादलाई छोडेर मानिसको जीवन नै समाप्त हुन्छ।

मानिस आफ्नो उमेर र औकात अनुसार पद पैसा र प्रेमका लागि दौडिरहेको छ। यी ३ वटै चीजहरू मानिसलाई आनन्द दिने तत्वहरू हुन्। जुन आनन्द क्षणिक पनि हुन सक्छ। दीर्घकालीक पनि हुन सक्छ। वास्तवमा पद, पैसा र प्रेम जीवनको धाराप्रवाह गर्ने करेन्ट हो। यसले क्षणभरमा रैतीलाई राजा बनाउन पनि सक्छ र तालमेल मिलाउन नसके जीवन नै समाप्त गर्न सक्छ।

उल्लेखित ३ वटै चीज मानिसको कर्मबाटमात्र सम्भव छ। कुनै न कुनै तरिकाले कर्म नगरे न पद पाइन्छ, न त पैसा वा प्रेम। यी चीज जुन मानव खुशीका प्रमुख मानकहरू हुन्। सबैका लागि कर्म वा श्रम आवश्यक छ। शारीरिक श्रमबाट मानिसले थोरै जीवन निर्वाहका लागि मात्र पद, पैसा र प्रेम प्राप्त गर्छ।

यसमा हरेक प्रकारका श्रमहरू एवम्‌ पसिना बगाउने कामहरू हुन्छन्। यसको आफ्नै महत्व छ, किनकि अधिकांश मानिसको जीवन निर्वाह र रोजीरोटी यही कर्मबाट चलिरहेको छ। यो वर्ग परोक्ष रूपमा मानवका लागि उपकारी वर्ग पनि हो। जस्तैः किसान, रिक्सा वा ठेलावाला, सडक, नहर र सेतु निर्माता आदि।

त्यो भन्दा अलिकति माथिल्लो तहको कर्मबाट अलि बढी, पैसा, पद र प्रेम प्राप्त गर्छ। यो कर्ममा शारीरिक श्रमबाट माथि उठेर मुखको बोल्ने कलालाई कर्मको रूपमा प्रयोग गरिन्छ। यसमा भाषण, गायन र शिक्षणजस्ता कर्महरू समावेश हुन्छन्। यसमा शारीरिक श्रमबाट भन्दा बढी फल प्राप्त हुन्छ। यसमा, कला, सीप, सहिष्णुता, सद्भाव, सत्संग, खेल र खेलाडीजस्ता अनेक विषयबस्तुहरू समावेश हुन्छन्। यो मनोरञ्जनसँग पनि मिल्दोजुल्दो हुन्छ।

त्यसपछि आउँछ-उच्चस्तरको कर्म, जसमा दिमागले काम गरी रहेको हुन्छ। यसले सोच परिवर्तन गराउँदछ। यहाँ भलै पसिना नबगी रहेको होस्‌, कर्म भै रहेको हुन्छ।

निःसन्देह प्रत्येक व्यक्ति उच्च बन्न चाहन्छ। पद, पैसा र प्रेममा सफल हुन चाहन्छ, माथि पुग्न चाहन्छ। तर, जो कोहीले चाहँदैमा यी चीजहरू सहजै प्राप्त हुँदैनन्।​

‘कर्मन्नेवाधिकारेस्तु मा फलेसु कदाचन’ यो गीताको मूल सार हो। महाभारत लडाइँ पद, पैसा र प्रेमका लागि नै भएको थियो। महाभारतकालदेखि आजसम्म प्रत्येक मानिस फलको आशा नगरी कर्म गरिरहेको छ। फल तथा उपलब्धिको अपेक्षालाई त्यागेर नै मानव महान बन्ने प्रयास गर्छ।

बुद्धि सबैसँग छ, सोच सबैले प्रयोग गर्छन्‌। परन्तु सोच्दैमा र चाहँदैमा भने जस्तो उपलब्धि प्राप्त हुँदैन। मानिसले त्यतिमात्र प्राप्त गर्छ, जति पाउनका लागि उ हकदार छ। क्षमताभन्दा बढी न कसैले प्राप्त गर्छ, न त्यो सम्भव हुन्छ।

जसरी भगवानले अर्जुनलाई युद्ध जिताउन यो वाक्य भन्नुभएको थियो, त्यसरी हामी सबैले उच्च पद ठूलो धनराशी र आशातीत प्रेम पाउनुछ भने कर्मलाई शारीरिक श्रमबाट उठाएर दिमागी कर्मको स्तरमा लैजानुपर्छ।

दिमागी कर्मले मात्र यी ३ चीजहरू मनग्गे रूपमा प्राप्त गर्न सक्ने बनाउँदछ। यहाँ २ प्रकारका पदलाई बुझ्नुपर्छ। एउटा हुन्छ-सार्वजनिक पद। जस्तै : प्रधानमन्त्री, मेयर, सचिव न्यायाधीश आदि। अर्को क्षमतामा आधारित पद जस्तै : बुद्ध, नानक, जेसस, गान्धी, पेले, मेस्सी, सचिन, माइकल प्लेप्स, सत्यसाई आदि।

यी दुई पदमध्ये सार्वजनिक पदले यो सांसारिक चक्रलाई घुमाउँदछ। पैसा र पद बाह्य रूपमा बढी शक्तिशाली देखिएपनि आन्तरिक रूपमा प्रेम पनि त्यत्तिकै महत्वपूर्ण मानव अभिलाषाको केन्द्र हो। कुनै मानिसलाई उचाइमा लैजान प्रेमको आफ्नै शुक्ष्म शक्ति वा भूमिका हुन्छ। प्रेममा तथाकथित धोखा वा अतालमेलले मानिसलाई आत्महत्या गराउने सम्मको क्षमता राख्छ।

प्रेमको अथाह सागर भित्र पैसा र पदको यस्तो श्रृङ्‌खला विद्यमान छ, जुन छिनछिनमा बदलिनसक्छ। ‘क’ ले ‘ख ’ लाई त्यत्तिबेलासम्म दिलोज्यानले माया गर्छ, जतिबेलासम्म कुनै ‘ग’ थप पद, पैसा र बुद्धिमत्तासाथ ‘क’ को जीवनमा आउँदैन।  

२ वर्षअघि ५० वर्षका मलेशियाका पूर्वराजा सुल्तान महम्मद पाँचौँले रूसकी एक मोडल ओकसाना बवोदिना वर्ष २७ सँग विवाह गर्नका लागि राजपाट त्याग गरे। ती सुन्दरीले पैसाका लागि विवाह स्वीकारिन्‌, उनीहरूको छोरा जन्म्यो, अब छोराको माध्यमबाट पूर्वराजाको सम्पत्ति लिनेगरी ती दुईबीच सम्बन्धविच्छेद भैसकेको छ। ओकसानाले आफूबाट जन्मेको छोरा नै मलेशियाको राजगद्दीको उत्तराधिकारी बन्न पाउनुपर्छ भनी दाबी ठोकेकी छिन्।

बेलायतका राजा इडवार्ड तृतीयाले सन् १९३६ मा एक अमेरिकी महिला वालिस सिमसन जो विवाहित भएर सम्बन्ध विच्छेद गरेकी थिइन्‌। उनीसँग विवाह गर्नका लागि राजगद्दी त्यागेका हुन्। कसैले प्रेमका लागि पद त्यागेका छन्। कसैले पैसा तथा पावरका लागि प्रेम छोडेका छन्। कसैले पैसाका लागि पद छोडेका छन्।

जसको पछिल्लो उदाहरण : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पैसाका लागि पद त्यागेर विदेशिएका हुन्। रूसी समाचार पत्रमा गरिएको दाबी अनुसार उनले जहाजमा जाँदा ४ वटा गाडीमा पैसा लिएर गएका थिए। त्यो जहाजमा पैसा नअटाएर भूइँमा नोट छरिएका थिए।

यो पैसाका लागि त्यागिएको पद हो। अन्यथा निर्वाचित राष्ट्रपतिलाई सीधै गोली हान्ने साहस तालिबानमा थिएन र हुँदैन। उनी देशमै बसेको भए अहिले गद्दीच्यूत भएपनि १० वर्षको अन्तरालमा पदमा पुनः पुग्ने थिए।

जो जसले जे गरेपनि यो इतिहासको घटना हो। अन्तिम सत्य के हो भने मानव जीवन यही पद, पैसा र प्रेमको वरीपरि घुम्छ। जसले यी ३ चीजलाई सन्तुलन गर्नसक्छ-उसले सफल जीवन बिताउन सक्छ।

जो जसले जे गरेपनि यो इतिहासको घटना हो। अन्तिम सत्य के हो भने मानव जीवन यही पद, पैसा र प्रेमको वरीपरि घुम्छ। जसले यी ३ चीजलाई सन्तुलन गर्नसक्छ-उसले सफल जीवन बिताउन सक्छ। ​जसले यी मध्ये कुनैमा केही बढी आशक्ति देखाउँछ : उ असफल हुन्छ। फ्रान्सका मिसेल फुको एक भनाइ यस सन्दर्भमा जोड्न मिल्छ उनले भनेका छन्, ‘ज्ञान जोसँग छ-उसँग शक्ति छ, शक्ति दमनकारी हुन्छ।’

शक्ति दमनकारी हुन्छ, यो नेपालमै पनि देखियो। शासकहरूले के के मात्र गरेनन् अझै पनि डुक्रँदै छन्। तर, ज्ञानबाट शक्ति आउँदछ भन्ने कुरा अलि हजम हुन सकेन। ज्ञानबाट शक्ति आउने भए अनपढहरू कसरी शासक हुन्थे!

विश्वविद्यालयले शासक चुन्थे होला, यहाँ ज्ञानको ठाउँमा ट्यालेन्ट शब्द प्रयोग गर्ने हो की बहस गरौँ। जीवनमा पद पैसा र प्रेमबीच सन्तुलन राखौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.